महँगियो भान्सा, सर्वसाधारण मारमा

महँगियो भान्सा, सर्वसाधारण मारमा

काठमाडौं : गत वर्ष चनाको मूल्य थियो, किलोको १ सय २० रुपैयाँ। हाल १ सय ८० रुपैयाँ पुगेको छ। चनाको दाल पनि वर्षमै ४६ प्रतिशतले बढेको छ। प्रतिकिलो १ सय ९० रुपैयाँ पुगिसकेको छ। यसैगरी, बोडी–प्रतिकिलो १ सय ९५ रुपैयाँ पुगेको छ।

यसअघि २ सय ४० मा पाइने रहरको दाल २९ प्रतिशतले बढेर ३ सय १० रुपैयाँ पुगेको छ। यस्तै, प्रायः दसैंमा बढी खपत हुने तरार्ई ताइचिन चिउरा पनि २६ प्रतिशतले बढेर प्रतिकिलो १ सय २० रुपैयाँ पुगेको छ।

यसअघि प्रतिकेजी २ सय ३० रुपैयाँमा पाइने राजमा २ सय ९० रुपैयाँ पुगेको छ। नेपाल राष्ट्र बैंकका अनुसार साउनमा मात्रै तरकारीमा १९ प्रतिशतभन्दा बढी मूल्यवृद्धि भइसकेको। त्यस यता बाढी पहिरोले मुख्य राजमार्ग अवरुद्ध हुँदा तरकारी र फलफूलको मूल्य छोइनसक्नु छ। खाद्यान्न, लुगाकपडादेखि शिक्षा, स्वास्थ्य सेवा शुल्कसमेत बढेको छ। आम्दानीभन्दा खर्चको भार बढ्दा सर्वसाधारणको दैनिकीमै असर परेको छ।

दसैं र चाडबाडको मुखमा भएको चर्को महँगीको मारमा सर्वसाधारण छन्। तीज, दसैं, तिहार, छठ जस्ता पर्वमा खाद्यान्नदेखि विलासितका वस्तु बढी खपत हुन्छन्। यही मौका छोपेर कतिपय व्यापारी र व्यवसायीले कृत्रिम मूल्य तोक्ने गर्छन्। त्यसको मारमा सर्वसाधारण पर्छन्। सरकारले बजार अनुगमन जारी राखे पनि मूल्यवृद्धि भने घटेको छैन।

हाल तरकारी र फलफूलको मूल्य यति धेरै बढेको छ कि, छोइ नसक्नु छ। राष्ट्र बैंककै तथ्यांकले पनि यसको पुष्टि गरेको छ। राष्ट्र बैंकले चालु आवको पहिलो महिना साउनमा मात्रै तरकारीमा वार्षिक १९.०७ प्रतिशतले मूल्यवृद्धि भएको बताएको छ। वास्तविक बजार त्योभन्दा बढी महँगो छ। जसका कारण, भान्छा झन् महँगो हुँदै गएको छ। यद्यपि केन्द्रीय बैंकले भने चालु आवको सुरुवातमा उपभोक्ता मुद्रास्फीति (मूल्यवृद्धि) सीमाभित्रै रहेको दाबी गरेको थियो। गत वर्षको तुलनामा महँगी नियन्त्रण भएको केन्द्रीय बैंकको दाबी छ। साउनमा वार्षिक मुद्रास्फीति औसत ४.१० प्रतिशत थियो। गत वर्षको साउनमा यस्तो मुद्रास्फीति ७.५२ प्रतिशत थियो।

चालु आर्थिक वर्षको साउनमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ६.१७ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति २.९४ प्रतिशत रहेको छ। खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत तरकारी उपसमूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक १९.०७ प्रतिशत, दाल तथा गेडागुडीको १२.०९ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको ९.१५ प्रतिशत र दुग्ध पदार्थ तथा अण्डाको ३.६६ प्रतिशतले बढेको छ। मरमसला उपसमूहको वार्षिक बिन्दुगत मूल्य सूचकांक २.७५ प्रतिशतले घटेको छ।

तर, बजार केन्द्रीय बैंकको तथ्यांकले भने जस्तो छैन। यसैले पनि हाल केन्द्रीय बैंकले मूल्यवृद्धि परीक्षण गर्ने वस्तुको संख्या बढाएर अध्ययन गर्ने उद्घोष गरेको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक हेर्दा ८ प्रकारका तरकारीको मूल्य एक वर्षको अन्तरमा सतप्रतिशतभन्दा बढी वृद्धि भएको छ। भारतीय ठूलो गोलभेंडा, लाम्चो भन्टा, घिउ सिमी, लोकल परवर, चिचिन्डो, भिण्डी, हरियो प्याज र सेलरी (कुरिलो) को सतप्रतिशत बढी मूल्य बढेको छ।

एक वर्षअघि प्रतिकिलोग्राम (केजी) साढे ४५ रुपैयाँ हाराहारीमा बिक्री हुने गरेको भारतीय ठूलो गोलभेंडाको थोक मूल्य बढेर १ सय २० रुपैयाँ पुगेको छ। यो वार्षिक १६६.६७ प्रतिशतले वृद्धि भएको समितिको तथ्यांकमा उल्लेख छ। अझ यो होलसेल मूल्य हो। खुद्रा पसलमा न्यूनतम प्रतिकेजी १ सय ५० रुपैयाँ हाराहारी पर्छ।

५२ प्रकारका तरकारी÷फलफूलको मूल्यवृद्धि
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार असोज १७ गते मात्रै ५२ प्रकारका तरकारी र फलफूलको मूल्य धेरै नै बढेको छ। ३१ ओटाको मूल्य केही घटेको छ। केहीको मूल्य उस्तै देखिन्छ।

असोज १० गतेदेखि १२ गतेसम्म देशव्यापी अविरल वर्षा हुँदा राजधानी जोडने मुख्य राजमार्ग अबरुद्ध भए। राजधानीमा ताजा तरकारी आउनै पाएन।
एकैपटक मूल्य बढेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठ बताउँछन्। ‘हाल बजारमा दैनिक ७ सय टन हाराहारीमा तरकारीको माग छ,’ सूचना अधिकारी श्रेष्ठ भन्छन्, ‘केही दिन त १ सयदेखि डेढ सय टनमात्रै भित्रियो। बजारमा धेरै अभाव भयो। अनि, मूल्यमा चाप पर्‍यो।’

ग्राहकहरूको माग नघट्ने तर आपूर्ति घट्न गयो भने मूल्यमा प्रभाव पर्नु स्वाभाविक भएको उनको भनाइ छ। बाहिरबाट तरकारी भित्रिने मुख्य बजार कालीमाटीमा असोज ११ गते पौने ६ सय टन तरकारी भित्रिएको थियो। तर, असोज १२ र १३ गते डेढ सय टन मात्रै तरकारी भित्रियो। बाढी–पहिरोको असर कायमै छ। असोज १७ गते पनि १ सय ९१ टन हाराहारीमा मात्रै तरकारी भित्रिएको समितिले जनाएको छ। हाल पनि निकै कम मात्रामा मात्रै तरकारी भित्रिने गरेको छ।

बजारमा आपूर्ति घट्दै गएकाले नजिकिँदै गरेको दसैं साकाहारीका लागि झनै महँगो पर्ने देखिएको छ। किनभने सामान्य तरकारीको मूल्य पनि थोक बजारमै प्रतिकेजी न्यूनतम ५५ रुपैयाँ छ। गोलभेंडा सानो(लोकल)को प्रतिकेजी ७५ रुपैयाँ, टनेलको सानो गोलभेंडा ९५ रुपैयाँ, आलु रातो ८२ रुपैयाँ, आलु रातो(भारतीय) ५७ रुपैयाँ, आलु रातो(मुडे)को ७५ रुपैयाँ पुगेको छ। अझ दसैंमा बढी प्रयोग हुने प्याज ६० प्रतिशतले बढेर प्रतिकेजी १ सय २० रुपैयाँ पुगेको छ।

नेपाली लसुन ३ सय १० र चाइनिज लसुन २ सय ९० रुपैयाँ पुगेको छ। यससँगै, सलादमा बढी प्रयोग हुने गाजर (लोकल) प्रतिकेजी १ सय ४० र गाजर (तराई)को १ सय २० रुपैयाँ पुगेको छ। गत वर्ष असोजमा प्रतिकिलो ४५ रुपैयाँमा पाइएको परवल यसपटक १४४ प्रतिशतले बढेर १ सय १० रुपैयाँ मूल्य पुगेको छ। यस्तै, गत वर्ष प्रतिकेजी ५५ रुपैयाँमा पाइएको भिण्डी अहिले १ सय २० रुपैयाँ छ।

यसैगरी बन्दा, भन्टा, बोडी(तने), मकै बोडी (केजी) घिउ सिमी, टाटेसिमी, तितो करेला, लौका, चिचिन्डो, घिरौला, फर्सी, सखरखण्ड, बरेला, पिँडालु, रायो साग, तोरीको साग, प्याज हरियो, च्याउ, कुरिलो, सेलरी, पुदिनाको पनि मूल्य निकै बढेको छ। गान्टे मूला, कागती, तरबुजा(हरियो), भुइँकटहर ,काक्रो(लोकल),नासपाती(चाइनिज),किबि (केजी),अदुवा, हरियो खुर्सानी, भेडे, हरियो धनियाँ लगायतमा पनि मूल्य बढेको छ।

लुगा र जुत्ताको मूल्यवृद्धि ५.६५ प्रतिशत
दसैंमा अधिकांशले नयाँ लत्ताकपडा किन्ने गर्छन्। हुनेखानेले छिटोछिटो नयाँ कपडा फेरे पनि हुँदा खानेका लागि जसोतसो वर्षको एक पटक दसैंमा नयाँ लुगा लगाउने सपना हुन्छ। तर, बजारमा लुगा र जुत्ताको भाउ गत वर्षको भन्दा महँगो छ। राष्ट्र बैंककै गत साउनसम्मको अध्ययनअनुसार लुगा र जुत्ताको मूल्यवृद्धि वार्षिक औसत ५.६५ प्रतिशतले बढेको देखाएको छ।

वर्षमै साढे ४ प्रतिशतको अन्तरमा मूल्य बढेको देखिन्छ। भदौ र असोजमा मूल्य झनै बढेको उपभोक्ताहरू बताउँछन्। बजारमा तयारी पोसाकको मूल्यवृद्धि एकै वर्षको अन्तरमा औसत २०–२५ प्रतिशतसम्मले बढेको नेपाल तयारी पोसाक उद्योग संघको भनाइ छ।

खाद्य वस्तुमा ५० प्रतिशतसम्म मूल्यवृद्धि
नेपाल खुद्रा व्यापार संघको तथ्यांकमा सूचीकृत गरिएका र बजारमा उपलब्ध करिब ५६ प्रकारका खाद्य वस्तु छन्। तीमध्ये ३७ प्रकारका खाद्यको मूल्य वृद्धि भएको छ। एक वर्षको अन्तरमा न्यूनतम २.२७ प्रतिशतदेखि ५० प्रतिशतसम्म मूल्य बढेको छ। गेडागुडी र दालको मूल्य अत्यधिक बढेको छ।

संघको तथ्यांकअनुसार गत असोज १७ गतेकोे तुलनामा चालु आवको सोही अवधिमा सानो चना प्रतिकिलोग्राम (केजी) ५० प्रतिशतले बढेको छ। गत वर्ष हात्तै बढेर प्रति किलो १२–१३ सय पुगेको जिरा ६ सय रुपैयाँमा झरेको छ। यद्यपि धुलो जिराको मूल्य भने प्रतिकेजी ९ सय रुपैयाँ छ। तर, गत वर्ष प्रतिकिलो १ सय २० रुपैयाँको चना बढेर १ सय ८० रुपैयाँ पुगेको छ। तर, बजारमा अझ महँगो छ।

यससँगै, चनाको दाल पनि वर्षमै ४६ प्रतिशतले बढेर प्रतिकिलो १ सय ९० रुपैयाँ पुगेको छ। यसैगरी, बोडी प्रतिकिलो १ सय ९५ रुपैयाँ पुगेको छ। यसअघि २ सय ४० मा पाइने रहरको दाल २९ प्रतिशतले बढ्दा ३ सय १० रुपैयाँ पुगेको छ। यस्तै, प्रायः दसैंमा बढी खपत हुने मध्येको एक तरार्ई ताइचिन चिउरा पनि २६ प्रतिशतले बढेर प्रतिकिलो १ सय २० रुपैयाँ पुगेको छ।

यसअघि प्रतिकेजी २ सय ३० रुपैयाँमा पाइने राजमा २ सय ९० रुपैयाँ पुगेको छ। यस्तै, मूल्य बढ्ने अन्यवस्तुको प्रतिकेजी मूल्य क्रमशः सेतो केराउको १ सय ६० रुपैयाँ, बेसनको २ सय ४० सय रुपैयाँ, स्टिम जिरा मसिना चामल १ सय १०, ज्वानो ५ सय ७५, बेसार ४ सय, सेतो सिमी २ सय ५०, नेपाली घीउ १ हजार ४ सय रुपैयाँ पुगेको छ।

यसबाहेक मूल्यवृद्धि भएका खाद्यान्नमा मुंग खोस्टा, सानो केराउ, मस्याङ, त्रिशूलीको पोखरेली चामल, चिनी, छिरकी राजमा, खुर्सानी पाउडर, सुजी, मकै, गहुँ छन्। यस्तै, भटमास तेल र सनफ्लावर प्रतिलिटर २ सय ५ बाट बढेर २२० रुपैयाँ पुगेको छ। यस्तै, डाल्डा घ्यू, आटा, मकै पिठो, मैदा, चामल पिठो खस्रा, मास दाल, काँचो तोरीको तेल, लंगग्रेन वासमती चामल, कैलो तिल, भुटेको तोरीको तेल र काबुल चनाको पनि मूल्य बढेको संघले बताएको छ।

  •     दसैं र चाडबाडको मुखमा भएको चर्को महँगीको मारमा सर्वसाधारण छन्।
  •     तरकारी र फलफूलको मूल्य यति धेरै बढेको छ कि, छोइ नसक्नु छ। 
  •     दसैं साकाहारीका लागि झनै महँगो पर्ने देखिएको छ। 

नेपाल खुद्रा व्यापार संघका अध्यक्ष पवित्र बज्राचार्य गत वर्षको तुलनामा यसपटक अधिकांश खाद्यान्न महँगो भएको बताउँछन्। गेडागुडी, दाल, तेल, मैदा, चामल, चिनी धेरै महँगो भएको उनको भनाइ छ। ‘तुलनात्मक रूपमा बर्सेनि प्राय खाद्यवस्तुको मूल्य बढी नै रहेका हुन्,’ उनले भने, ‘दसैंका लागि भनेर साना व्यवसायीले बढाएका होइनन्। ठूला व्यवसायीबाटै बढेर आएको मूल्य हो। गत वर्षको तुलनामा सबै अत्यावश्यक खाद्य वस्तुको औसत १५ प्रतिशत हाराहारीमा मूल्य बढेको महसुस गरेका छौं।’

वर्षा र बाढीले राजधानीमा पनि केही व्यवसायीहरूको खाद्यवस्तु डुबानमा परेको उनले बताए। केहीलाई घाटा हुँदा कतिपय व्यवसायीले यसैलाई वहाना बनाएर मूल्य बढाउन सक्ने संघका अध्यक्ष बज्राचार्यको आशंका छ। ‘हाल समग्र माग पहिलाको चाडपर्वमा जस्तो छैन,’ उनी भन्छन्, ‘पहिला मासु खान दसैं कुर्नुपथ्र्यो। ड्राइफुड, मिठाई र फलफूल खान तिहार आउनुपर्छ भनिथ्यो। तर, अहिले यस्ता उपभोग्य वस्तु दैनिक जसो प्रयोग हुन्छन। चाडपर्वमा बेस्सरी माग बढ्ने भन्ने हुँदैन।’

यद्यपि चाडबाडमा १० देखि १५ प्रतिशत जति सीमित खाद्यान्नको माग बढ्ने गरेको उनको भनाइ छ। ‘आर्थिक रूपमा सम्पन्नहरू दसैं–तिहारमा विदेश घुम्न जाने चलन बढेको छ,’ उनी भन्छन्, ‘मध्यमवर्गीय परिवारले गाडी, बाइक लगायतका साधन जोड्ने गरेको छन्।’

आपूर्ति सहज बनाउन उपभोक्ता अधिकारकर्मीको जोड

बजार अनुगमन, नियमन, आपूर्ति नीति र आपूर्ति अवस्थाबारे सरकारले हस्तक्षेप नगर्दा बजारमा मूल्यवृद्धि भएको उपभोक्ता अधिकारकर्मी बताउँछन्। उपभोक्ता अधिकार संरक्षण मञ्चका अध्यक्ष माधव तिमिल्सिना राष्ट्रिय र अन्तर्राष्ट्रिय कारण बजारमा मूल्यवृद्धि भएको बताउँछन्। बजारमा कृत्रिम महँगी छ/छैन भनेर सरकारले अनुगमन बढाउनुपर्ने उनको भनाइ छ। अध्यक्ष तिमिल्सिनाका अनुसार आपूर्ति व्यवस्था सहज गर्न सरकारले साल्ट ट्रेडिङ र खाद्य व्यवस्था तथा व्यापार कम्पनीमार्फत बजार हस्तक्षेप गर्न सुपथ मूल्य पसल सञ्चालन गरेको छ।

सुपथ होस् वा अन्य पसल सबैमा मूल्य र गुणस्तर नापतौल कायम गर्न जरुरी भएको उनको सुझाव छ। ‘पछिल्लो समय विपद्का कारण राजमार्गहरू अवरुद्ध भएको अवस्थामा र उपत्यका भित्रै पनि बाढी पसेर नोक्सान भएको छ,’ तिमिल्सिना भन्छन्, ‘यस्तो बेला आपूर्ति शृंखला टुटेको छ भन्दै केही व्यवसायीले बढी मूल्य तोक्ने प्रवृत्ति छ। काठमाडौंमा मात्र होइन। हुम्ला, जुम्ला, कालीकोट लगायतका ७५३ वटै स्थानीय तहमै दसैं लक्षित गरेर आपूर्ति सहज गर्नुपर्छ।’

विपद्मा आपूर्ति सहज गर्न कतिपय अवस्थामा सेना, प्रहरी प्रशासन माध्यमबाट पनि अत्यावश्यक उपभोग्य खाद्यन्न उपलब्ध गराउनुपर्ने उनले बताए। ‘गाउँगाउँमा उत्पादन भएका खसीबोकाहरू सहर ल्याउन नसक्ने अवस्थामा पनि सेना, प्रहरीको माध्यमबाट किसानहरूलाई सहजीकरण गरेर आपूर्ती शृंखला नटुटाउन आपूर्ति मन्त्रालय, गृह, अर्थ मन्त्रालय र प्रदेश सरकार र स्थानीय सरकारले समन्वय गर्नुपर्‍यो,’ उनले भने।

कृत्रिम महँगी नियन्त्रण गर्न सरकारी अनुगमन
कृत्रिम महँगी नियन्त्रण गर्न सरकारले अनुगमनलाई तीव्रता दिएको छ। यसैले उद्योग, फर्महरूको अनुगमन निरीक्षण गर्दा उपभोक्ता संरक्षण ऐन, २०७५ तथा उपभोक्ता संरक्षण नियमावली, २०७६ बमोजिम आवश्यक निर्देशन तथा कारबाही गरेको छ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुगमनका क्रममा चिनी, तेल, चामलको मूल्य बढाउने धेरैलाई कारबाही गरेको बताएको छ। विभागका सहायक सूचना अधिकारी गायत्र श्रेष्ठका अनुसार चाडपर्व नजिकिएसँगै अनुगमन बढाइएको छ।


अधिकांश खाद्य तथा तरकारीको मूल्य महँगो छ। गेडागुडी, दाल, तेल, मैदा, चामल, चिनीको मूल्य बढेको छ। तुलनात्मक रूपमा बर्सेनि प्रायः खाद्यवस्तुको मूल्य बढ्ने नै गर्छ। तर, यो दसैंका लागि साना व्यवसायीले बढाएका होइनन्। ठूला व्यवसायीबाटै बढेर आएको मूल्य हो। गत वर्षको तुलनामा सबै अत्यावश्यक खाद्य वस्तुको औसत १५ प्रतिशत हाराहारीमा मूल्य बढेको महसुस गरेका छौं। हालैको वर्षा र बाढीले राजधानीमै पनि केही व्यवसायीहरूको खाद्यवस्तु डुबानमा पर्‍यो। सीमित व्यक्ति मर्कामा पर्दा कतिपय व्यवसायीले यही वहानामा मूल्य बढाउन सक्छन्।
पवित्र बज्राचार्य , अध्यक्ष, नेपाल खुद्रा व्यापार संघ


बजारमा दैनिक ७ सय टन हाराहारीमा तरकारी भित्रिरहेको छ। तर, केही दिन १ सयदेखि डेढ सय टनमात्रै भित्रिँदा बजारमा निकै धेरै अभाव देखियो। त्यसकारणा मूल्यमा चाप पर्‍यो। ग्राहकको माग नघट्नु र आपूर्ति कमजोर हुँदा मूल्यमा प्रभाव पर्नु स्वाभाविक हो।
विनय श्रेष्ठ, सूचना अधिकारी, कालीमाटी फलफूल तथा तरकारी बजार विकास समिति


सुपथ होस् वा अन्य पसल सबैमा मूल्य र गुणस्तर नापतौल कायम गर्नुपर्‍यो। बाढी र पहिरोले राजमार्गहरू अबरुद्ध छन्। उपत्यका भित्रै पनि बाढी पसेर नोक्सान भएको छ। यसअवस्थामा आपूर्ति शृंखला टुटेको छ भन्ने हिसावले पनि अनुहार हेरेर केही व्यवसायीहरूले बढी मूल्य तोक्ने प्रवृत्ति छ।

यो काठमाडौंमा मात्र होइन। हुम्ला, जुम्ला, कालीकोट लगायतका दुर्गम मात्र होइन, ७५३ स्थानीय तहमै दसैं लक्षित गरेर आपूर्ति सहज गरिनुपर्छ। आपूर्ति शृंखला नटुटाउन सम्बद्ध अन्तर मन्त्रालय समन्वय गर्नुपर्‍यो।
माधव तिमिल्सिना, अध्यक्ष, उपभोक्ता अधिकार संरक्षण मञ्च


चाडपर्व नजिकिएसँगै अनुगमन बढाइएको छ। उपत्यकामा दैनिक ३५ देखि ४० ठाउँमा अनुगमन भएको छ। कतिपय वस्तुको मूल्य उत्पादनबाटै बढेर आएको भेटिन्छ। यसो हेर्दा व्यवसायीले खासै नाफा बढि लिएको देखिएन। तर, तुलनात्मक रूपमा गत वर्षकोभन्दा मूल्य बढी नै भएको महसुस गरेका छौं।

कानुनी रूपमा उत्पादकदेखि उपभोक्तासम्म पुग्दा २० प्रतिशतको मार्जिन मात्रै राख्न पाइने व्यवस्था छ। प्रवृत्ति हेर्दा सरकारले तोकेको यो मार्जिन सीमा धेरैले पालना गरेको पाइएको छ। तर, कतिपय अवस्थामा बढी मूल्य लिएको फेला परेकाले जरिवाना लगाइएको छ।
गायत्री श्रेष्ठ, सहायक सूचना अधिकारी, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.