क्योकुसिनर्युमा बर्ज विश्व च्याम्पियन
काठमाडौं : नेपाली खेलाडी बर्जकुमार राईले अन्तर्राष्ट्रिय कराँते संगठन क्योकुसिनर्यु (आईकेएके)ले आयोजना गरेको च्याम्पियनसिप जितेका छन्।
बर्ज सिनियरतर्फ ८० किलोभन्दा माथिको समूहमा पोल्यान्डका खेलाडीलाई पराजित गरी विश्व विजेता बनेको अफिसियल ऋतुबर्तन राईले बताए। उनका अनुसार बर्जले पहिलो राउन्डमा चिनियाँ खेलाडीलाई हराएका थिए।
नेपालकै केल्साङ तामाङ भने पहिलो राउन्डबाटै बाहिरिइन्। उनले जुनियर महिला समूहमा चिनियाँ खेलाडीसँग प्रतिस्पर्धा गरेकी थिइन्।
चीनमा अक्टोबर ३ देखि तीन दिन प्रतियोगिता आयोजना गरिएको थियो। अन्तर्राष्ट्रिय कराँते संगठन क्योकुसिनर्यु नेपालका सल्लाहकारसमेत रहेका ऋतुबर्तनसहित दुई अफिसियल र दुई खेलाडी प्रतियोगितामा सहभागी थिए।
उक्त टोली मंगलबार फर्किने भएको छ। यो कराँते गोर्खा सिंगापुर पुलिस फोर्सबाट अवकाशप्राप्त र कार्यरत नेपालीको पहलमा २०७९ मा नेपालमा भित्र्याइएको थियो।