२ बसपार्कको ठेक्का ७ महिनामै भंग

२ बसपार्कको ठेक्का ७ महिनामै भंग

मुस्ताङको घरपझोङ गाउँपालिकाले गाउँपालिकाअन्तर्गत सञ्चालनमा रहेको २ वटा बसपार्कको ठेक्का सम्झौता तोडेको छ। घरपझोङ गाउँपालिकाको आइतबार बसेको कार्यपालिका बैठकले बसपार्क ठेक्का लिने दोस्रो पक्षले सम्झौता शर्त अनुसार भाडा बुझाउन नसकेको उल्लेख गर्दै दोस्रो पक्षसँग गरेको जोमसोमको २ बसपार्क सञ्चालनको ठेक्का सम्झौता रद्द गरेको जनाएको छ।

यसअघि मुस्ताङको घरपझोङ गाउँपालिका ३ र ४ मा निर्माण सम्पन्न भएको २ बसपार्क सञ्चालन तथा व्यवस्थापनका लागि १२ गते सिलबन्दी दरभाउपत्रको सूचना प्रकाशित गरेको थियो। प्रकाशित गाउँपालिकाको सूचना अनुसार ठेक्का सम्झौता गर्दा घरपझोङ—४ का स्थानीय सुरेश शेरचनले वार्षिक २० लाख २५ हजार गाउँपालिकालाई बुझाउने सर्तबमोजिम बसपार्क सञ्चालन तथा व्यवस्थापनको जिम्मा लिए। त्यस समय बस पार्क ठेक्का लिने स्थानीय शेरचनले घरपझोङ बसपार्क सञ्चालन तथा व्यवस्थापन सम्वन्धि कार्यविधि २०८० बमोजिम ३ महिनाको बसपार्क अग्रिम गाउँपालिकालाई बुझाउनु पर्ने र ३ महिनाको अग्रिम भाडा बमोजिक एक महिना कटेमा गाउँपालिका आफैले ठेक्का सम्झौता रद्द गर्न सक्ने सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए। सोही सम्झौता बमोजिम २ वर्षका लागि बसपार्क ठेक्का लिएका शेरचनले सुरुवाती ३ महिनाको एकमुष्ठ भाडा धरौटी ५ लाख ५ हजार २२५ रुपैयाँ र सम्झौता अवधि २ वर्षको भाडाको ५ प्रतिशत हुन आउने रकम २ लाख २ हजार ५ सय रुपैयाँ गरी ७ लाख ८ हजार ७५० रुपैयाँ गाउँपालिकालाई बुझाए।

२०८० साल चैत १५ गते घरपझोङमा अवस्थित २ बसपार्कको व्यवस्थापन तथा सञ्चालनको जिम्मा लिने दुई पक्षिय सम्झौता भएको थियो। सम्झौतामा गाउँपालिकाले बसपार्क सञ्चालन तथा व्यवस्थापनका लागि न्यूनतम पूर्वाधारको व्यवस्थापन गर्ने र बसपार्क सञ्चालनका लागि आवश्यक सहजीकरण गर्ने भनिएको थियो। यसै प्रयोजनार्थ गाउँपालिकाले बसपार्क कार्यान्वयनलाई प्रभावकारी बनाउन २ जना नगरप्रहरीसमेत भर्ना गरेको थियो। गाउँपालिकाका कर्मचारी, जनप्रतिनिधि, प्रहरी, प्रशासन, यातायात व्यवसायी र आम सरोकारवालाहरूबीच पटक पटक छलफल तथा अन्तरक्रियासमेत भएको थियो। यतिसम्मकि गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीलगायतको टोली बसपार्क कार्यान्वयनका लागि यातायात व्यवसायीसँग सहजीकरण तथा आफै फिल्डमा खटिएर लागे। गाउँपालिकाले ठेक्का सम्झौता गर्ने व्यक्तिकोे मागअनुसार विद्युत्, सिसी क्यामेरा र खानेपानीलगायतका पूर्वाधारसमेत गाउँपालिकाले व्यवस्थापन गरिदियो।

घरपझोङका २ बसपार्कको आवश्यकीय भौतिक संरचना निर्माण तथा बसपार्क सञ्चालन तथा व्यवस्थापका सेवा सुविधाको पहुँच गाउँपालिकाले स्थापित गरिदिँदा समेत ठेक्का सम्झौता गर्ने व्यक्ति शेरचनले नियमित रूपमा बसपार्क सञ्चालन गर्न पहल नगरेको गाउँपालिकाको भनाई छ। त्यसो त ठेक्का सम्झौता गर्ने व्यक्ति शेरचनले बसपार्क सञ्चालन तथा व्यवस्थापन कार्यविधिका सर्त अनुसार तीन महिना कटेर लामो समय बितिसक्दा समेत त्यस उपरको भाडा गाउँपालिकामा दाखिला नगरेको उल्लेख छ।

गत चैत्र १५ गतेदेखि लागू हुने बसपार्कको ठेक्का लिएका शेरचनले रीतपूर्वक बसपार्कको भाडा अपडेट नगरेको उल्लेख गर्दै बस सञ्चालन तथा व्यवस्थापन कार्यविधि २०८० को बुदाँ ५ मा उल्लेख भएअनुसार गाउँ कार्यपालिकाको बैठकले आइतबार दोस्रो पक्षसँग ठेक्का सम्झौता रद्द गरेको घरपझोङ गाउँपालिकाका प्रमुख प्रशाकीय अधिकृत वेदहरि अधिकारीले जानकारी दिए। उनले बसपार्क कार्यान्वयनमा सम्बन्धित व्यक्तिले चाँसो नदिएको र भाडा पनि नबुझाएकाले पूर्व बसपार्क ठेक्का सम्झौता रद्द गर्नु परेको उल्लेख गरे।

घरपझोङले २ वर्षका लागि २ बसपार्कको ठेक्का लगाएकोमा ७ महिना नबित्दै बसपार्कको ठेक्का सम्झौता रद्द भएको हो। गाउँपालिकाको अभिलेखअनुसार बसपार्क ठेक्का लिएका शेरचनले गत चैत्र १५ देखि हालसम्म बुझाउनुपर्ने भाडा १० लाख ४० हजार ६ सय २५ र १० प्रतिशत जरिबाना रकम गरी कुल ११ लाख ४४ हजार ६ सय ८८ रुपैयाँ देखिन्छ। उक्त रकममा ठेक्कावाला शेरचनले ठेक्का सम्झौताबापत बुझाएको ७ लाख ८ हजार ७५० बाट असुल उपर गर्ने र अपुग रकम ४ लाख ३५ हजार ९३८ रुपैयाँ कानुनबमोजिम असुल उपरको प्रकृया बढाउने गाउँपालिकाले निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत अधिकारीले बताए।

यता घरपझोङको २ बसपार्कको ठेक्का लिएका स्थानीय शेरचनले २०८१ साल भदौ ६ गते एकपक्षीय रूपमा आफूले ठेक्का सम्झौता रद्द गरेको स्वघोषणा पत्र गाउँपालिकामा पेस गरेका थिए। बसपार्क ठेकेदार शेरचनले गाउँपालिकाले ठेक्का सम्झौताअनुसार बसपार्कका लागि आवश्यक पूर्वाधार तथा व्यवस्थापनमा असहयोग गरेको आरोप लगाएका छन्। उनले बसपार्क सञ्चालन तथा व्यवस्थापनका लागि आफूहरूलाई गाउँपालिकाले असहयोग गरेको र त्यसले गर्दा आर्थिक क्षति हुन पुगेको स्वघोषणा पत्रमा उल्लेख गरेका छन््। उनले बसपार्कको जिम्मा आफुले लिएको तर गाउँपालिकाको असहयोगले आर्थिक क्षति भएको र त्यसको क्षतिपूर्ति गाउँपालिकाले व्यवहोर्नु पर्ने पत्रमा उल्लेख गरेका छन्।

घरपझोङ ३ एक्लेभट््टीमा गाउँपालिका आफैले ४८ लाख लागतमा बसपार्क निर्माण गरेको थियो। घरपझोङ —४ जोमसोममा सघन सहरी विकास तथा भवन निर्माण आयोजनाले एकीकृत पूर्वाधार विकास कार्यक्रमअन्तर्गत ५० वटा बस अट्ने क्षमताको बसपार्क निर्माण गरेको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.