कति महँगो तरकारी !

कति महँगो तरकारी !

उदयपुर : विपद्को मौका छोपी उदयपुरको सदरमुकाम गाईघाट आसपास क्षेत्रका बजारमा व्यापारीहरूले तरकारीको मूल्य आफूखुसी बढाएका छन्। भारी वर्षाले सडक सञ्जालहरू अवरुद्ध हुँदा तरकारीका गाडीहरू आउन नसकेको भन्दै व्यापारीले साधारण अवस्थाभन्दा तीन गुणा बढी मूल्य बढाएर तरकारी बिक्री गर्ने गरेका हुन्।

नियमक निकायको उपस्थिति र अनुगमनकाबीच पनि व्यापारीले बासी तरकारीलाई समेत ताजा भन्दै मनखुसी मूल्य निर्धारण गर्ने गरेको स्थानीयको गुनासो छ। मूल्यमा एकरूपता हुन नसक्दा सर्वसाधारण ठगिने गरेको गाईघाट बजारकी सिर्जना तामाङले बताइन्। उनले भनिन्, ‘तरकारी नलगिभको छैन, लगौं पसलै पिच्छे एउटै तरकारीको मूल्य फरक–फरक छ।’

दिनहुँजसो मूल्यवृद्धि हुँदासमेत नियन्त्रणका लागि सम्बन्धित निकायले चासो नदिएको उपभोक्ताको गुनासो छ। असोज १२ गते अविरल वर्षासँगै आएको बाढीपहिरोले सडक सञ्जाल क्षतविच्छेद हुँदा सस्तो मूल्यको तरकारी आउन नसकेको भन्दै व्यापारीले धेरै दिनदेखि स्टकमा राखिएका सागसब्जीलगायतका तरकारीहरू बिक्रीका लागि राख्ने गरेको उपभोक्ताको गुनासो छ।

६० रुपैयाँ केजीमा पाइने टमाटर अहिले दुई सय रुपैयाँ केजी पुगेको छ। त्यसैगरी २५ रुपैयाँ केजीमा पाइने मूला एक सय रुपैयाँ केजी पुगेको छ। बजारमा तोरीको साग १ सय ६० रुपैयाँ प्रतिकेजी पुगेको छ। त्यस्तै काउली २ सय, बन्दा १ सय ५० रुपैयाँ केजी पुगेको व्यापारी कुशेश्वर चौधरीले बताए। 

असोज १० गतेसम्म प्रतिकेजी ५० रुपैयाँमा बिक्री भएको प्याज अहिले १ सय ४० पुगेको छ। आलु ९०, बोडी १ सय ३०, च्याउ २ सय ८०, फर्सी सय, तीतेकरेला १ सय २०, काँक्रा १ सय ५०, भान्टा ७०, स्कुस ४० रुपैयाँ पुगेको उनले बताए। जुन मूल्य असोज १२ गतेको तुलनामा तेब्बर हो। 

२० रुपैयाँमा ५ दाना बिक्री हुँदै आएको डल्ले कागतीको मूल्य १५ रुपैयाँ दाना पुगेको छ। चौधरीले भने, ‘हाम्रो घरमा उत्पादन छैन, हामी पनि खरिद गरेर ल्याउने हो, खरिद गर्ने ठाउँमा हिजोआज सडक बिग्रिएकाले गाडी चल्दैन लैजाने भए लैजाउ नत्र छोडिदेउन भन्छन्। त्यसैले महँगो मूल्यमा खरिद गर्न बाध्य छौं अनि कहाँबाट सस्तोमा दिन सकिन्छ।’

खरिद मूल्य नै महँगो परेकाले बिक्री मूल्य बढेको अर्का व्यापारी तेजनारायण साहले बताए। वर्षाका कारण बाहिरबाट तरकारी न्यून मात्रामा आउने भएकाले जतिमूल्य तोके पनि हारालुछ हुने गरेको व्यापारी साह बताउँछन्।

उनले मागअनुसार अझै तरकारी आपूर्ति गर्न नसकिएको बताए। गाईघाटमा ८० प्रतिशत तरकारी अन्य जिल्लाबाट भित्रिने गरेको व्यापारीहरू बताउँछन्। सर्लाहीको लालबन्दी, धनकुटा, इनरुवा, धरान, गोलबजार र भारतीय बजारबाटसमेत भित्रिने गरेको त्रियुगा उद्योग बाणिज्य संघका अध्यक्ष रमेश रसाइलीले बताए।

दैनिक दुई सय टनसम्म तरकारी भित्रिने गाईघाटमा अहिले ५० टन मात्र आउने गरेको व्यापारीको भनाइ छ। चाहिँदो तरकारी आपूर्ति हुन नसक्दा नेपाली सेनाको बाहिनी, गण, सशस्त्र प्रहरीको गण, नेपाल प्रहरीजस्ता धेरै तरकारी खपत हुने कार्यालयलाई मागेजति तरकारी दिन नसकेको व्यापारी बताउँछन्। तरकारीको अभावले २ सय किलो माग्नेलाई २०÷३० किलो, १ सय किलो माग्नेलाई १५/२० किलो दिने गरेको व्यापारी बताउँछन्। नियमित आपूर्ति गर्ने जिम्मा लिएका व्यापारीलाई वर्षापछि तरकारी पु¥याउन गाह्रो भएको बताउँछन्। 

स्थानीय सरकार, प्रशासन र उद्योग वाणिज्य संघले तरकारीको बजार मूल्य तोके पनि कार्यान्वयन हुन नसक्दा व्यापारीको एकाधिकार बढेको स्थानीयको भनाइ छ। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.