कोशीको सुरक्षा व्यवस्था कडा

कोशीको सुरक्षा व्यवस्था कडा
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर।

विराटनगर : दसैं, तिहार, छठलगायतका ठूला चाडपर्वलाई लक्षित गरेर कोशी प्रदेशमा सुरक्षा सतर्कता बढाइएको छ। ठाउँठाउँमा ठूलो संख्यामा नेपाल र सशस्त्र प्रहरी परिचालन गरेर सुरक्षा व्यवस्था कडा पारिएको हो। 

सुरक्षा व्यवस्था मजवुत बनाउन हतियारसहित र सादा पोसाकका सुरक्षाकर्मी खटाइएको छ। चाडपर्वलाई मर्यादित, व्यवस्थित, सुरक्षित र हर्षोल्लासपूर्ण बनाउनेतर्फ सुरक्षा निकायले ध्यान केन्द्रित गरेका हुन्।  

हिमाली, पहाडीदेखि तराईका गरेर कोशी प्रदेशमा १४ वटा जिल्ला पर्छन्। भारतसँग खुला सीमा रहेका झापा, मोरङ र सुनसरी सुरक्षाका दृष्टिकोणले अलि बढी संवदेनशील मानिन्छन्। प्रदेशको राजधानी विराटनगरसहित इटहरी, धरान, इनरुवा, दमक, बिर्तामोड, भद्रपुर, काँकडभिट्टालगायतका दर्जनौं ठाउँ मानवीय चहलपहल, भीडभाड तथा आर्थिक गतिविधि धेरै हुने स्थानभित्र पर्छन्। 

मोरङ प्रहरीका डीएसपी वेदप्रकाश जोशी चाडपर्वको रौनक सुरु हुँदै गर्दा उच्च सुरक्षा सतर्कता अपनाइएको बताउँछन्। उनका अनुसार चाडपर्वलाई अपराधरहित बनाउने सुरक्षा योजना छ। मजवुत सुरक्षाका लागि राष्ट्रिय अनुसन्धानलगायतका निकायसँग पनि समन्वय भइरहेको जोशीको भनाइ छ। 

उनले चाडपर्वमा भीडभाड हुने ठाउँ, व्यापारिक प्रतिष्ठान, उद्योग कलकारखाना, मठमन्दिर, धार्मिकस्थल, वित्तीय संस्था, सुनचाँदी पसल र सार्वजनिकस्थलको सुरक्षा कडा पारिएको बताए। बिदा हुने भइसकेका सरकारी कार्यालयको सुरक्षा व्यवस्था मिलाइएको उनको भनाइ छ। जोशीले मानवीय चहलपहल धेरै हुने स्थानमा प्रहरीको विशेष टोली परिचालन गरेर निगरानी बढाइएको छ। अपराधिक पृष्ठभूमिका र शंकास्पद व्यक्तिहरुमाथि प्रहरीले ‘वाच’ गरिरहेको छ। 

मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले चाडपर्वलाई लक्षित गरी विशेष सुरक्षा योजना तयार पारेर लागू गरिएको जानकारी दिए। ‘चाडपर्वमा सार्वजनिक सवारीसाधनमा यात्रुको चाप धेरै हुन्छ। उनीहरुको सहजताका लागि यात्रु सहायता कक्ष संचालन गरिएको छ,’ कार्कीले भने, ‘उश्रृङ्खल गतिविधि गर्ने, मादक पदार्थ सेवन (मापसे) गरेर सवारीसाधन चलाउने लगायतमाथि कडाइ गरिएको छ। सार्वजनिक सवारीसाधन चेकजाँच तीव्र पारिएको छ।’

चाडपर्वका बेला हुनसक्ने सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीसहितको संयुक्त चेकजाँच बढाइएको जानकारी उनले दिए। सम्भावित घटना एवं अपराधका बारेमा समुदायलाई सचेत गराउने काम भइरहेको एसपी कार्की बताउँछन्। 

उनका अनुसार एटीएम बुथ, पसलहरू, बैंक, वित्तीय संस्था, व्यापारिक प्रतिष्ठान एवं आर्थिक गतिविधि धेरै हुने ठाउँ, महत्वपूर्ण प्रतिष्ठानहरू र सरकारी तथा गैर सरकारी कार्यालयमा २४ घण्टा नै निगरानी गर्न थालिएको छ। चोरी, लुटपाट र डकैती हुनसक्ने सम्भावित स्थानमा प्रहरी उपस्थित बाक्लो बनाइएको कार्कीले बताए। ‘होटल, लज एवं रेष्टुरेन्टको नियमित चेकजाँचको व्यवस्था मिलाइएको छ,’ उनले भने, ‘सुरक्षा व्यवस्था मजवुत बनाउन अपुग प्रहरी माथिल्लो कार्यालयबाट मगाइएको छ।’  

चार्डपर्वमा सुरक्षाको उचित प्रबन्ध मिलाउन सम्भावित र विगतमा भएका घटना एवं अपराधिक गतिविधिलाई मध्यनजर गर्दै प्रदेशभरि त्यही हिसाबको सुरक्षा व्यवस्था मिलाइएको कोशी प्रदेशका प्रहरी प्रवक्ता एवं एसएसपी भीमबहादुर दाहाल बताउँछन्। चोरी, लुटपाटजस्ता अपराध एवं मदिरा सेवनका कारण हुनसक्ने झैझगडालगायत विभिन्न अपराध नियन्त्रणका लागि सादा पोसाक तथा हतियारसहितका प्रहरी परिचालन गरिएको उनको भनाइ छ। 

‘कोशीमा चाडपर्वलाई लक्षित गरेर फरक हिसाबले सुरक्षाको प्रबन्ध गरिएको छ। सबै ठाउँको सुरक्षा समस्या एउटै खालको हुँदैन। ठाउँ अनुसार फरक पर्छ,’ उनी भन्छन्, ‘त्यही भएकाले प्रहरीका स्थानीय युनिटहरुलाई आआफ्ना ठाउँमा रहेका चुनौतीको विश्लेषण गरेर छुट्टै सुरक्षा योजना बनाउन लगाइयो। त्यसलाई अध्ययन गर्दै परिस्कृत गरेर प्रदेश सुरक्षा योजना तयार पारी लागू गरिएको छ। ठाउँ अनुसारको सुरक्षा व्यवस्था मिलाइएको छ।’ 

चाडपर्वलाई केन्द्रित गरेर प्रहरीसँग भएका सम्पूर्ण जनशक्ति तथा स्रोत साधनको परिचालन गरिएको एसएसपी दाहाल बताउँछन्। भन्छन्, ‘विकृतिजन्य घटनादेखि सबै ठाउँको निगरानी गर्न प्रहरीको अलगअलग समूह बनाएर परिचालन गरिएको छ। राजमार्गको सुरक्षा व्यवस्था अलग्गै हिसाबले मिलाइएको छ। दुर्घटना कम गर्न विभिन्न जनचेतनामुलक कार्यक्रम गर्दै सवारीसाधनमा संयुक्त चेकजाँच तीव्र पारिएको छ।’

कुनै समस्या आएमा र ठूला घटना भएमा तत्काल पुग्ने गरी प्रहरी तयारी अवस्थामा राखिएको उनले बताए। चाडपर्वलाई अपराधरहित बनाउन विशेष अभियान चलाएर आमनागरिकलाई सचेत गराइएको दाहालले बताए। ‘केही भइहालेमा तत्काल प्रहरीलाई खबर गर्न आह्वान गरिएको छ। मजवुत सुरक्षाका लागि सबै निकायसँग समन्वयमा काम भइरहेको छ,’ उनले भने। 

कोशी प्रदेशका प्रहरी प्रमुख डीआईजी चन्द्रकुवेर खापुङले सुरक्षाका हिसाबबाट संवेदनशील मानिएका क्षेत्रदेखि सबै ठाउँमा प्रहरीको ‘पिकेट ड्युटी’, ‘क्वीक रेस्पोन्स टिम’ तथा साइकल, मोबाइल र पैदल गस्ती परिचालन गरिएको बताए। उनका अनुसार भिडभाडमा हुनसक्ने चोरी, डकैती, लुटपाटसहित चन्दा आंतक, ठगीजस्ता क्रियाकलाप र मादक पदार्थ सेवन (मापसे)बाट हुने झैझगडा एवं अपराध नियन्त्रण, कालो बजारी, इन्धन तथा दैनिक उपभोग्य वस्तुको कृतिम अभाव नियन्त्रणलगायतमा पनि प्रहरीले ध्यान दिइरहेको छ। 
यातायातको सहज उपलब्धता, ट्राफिक व्यवस्थापन, तस्करी, हातहतियार तथा लागूऔषध र मदिराको अवैध ओसारपसार नियन्त्रण प्रहरीको प्राथमिकतामा छन्। त्यस्तै, जुवा, तासलगायत गैह्रकानुनी खेलहरु, मापसे गरेर होहल्ला एवं झैझगडा गर्नेहरु र शान्ति भड्काउन खोज्नेहरुलाई तत्काल नियन्त्रणमा लिएर कारबाही गरिने खापुङले बताए। 

शंकास्पद व्यक्तिहरु एवं सार्वजनिक स्थलमा हुने गतिविधिको निगरानी, पटकाको ओसारपसार तथा बेचबिखन, सीमा क्षेत्रमा कडाइ, पकेटमारलगायत अपराधिक प्रवृत्तिका मानिसहरुको पहिचान र नियन्त्रण थालिएको प्रहरीले जनाएको छ। प्रहरीले चाडपर्वका बेला विभिन्न घटनाबाट बच्न सरोकारवाला निकायलाई सजग गराउँदै सबैलाई सर्तकता अपनाउन आग्रह गरेको छ। सीमा अपराध नियन्त्रणका लागि भारतीय ‘काउण्टर पार्ट्स’सँगको समन्वय र सहकार्यलाई पनि प्रहरीले प्राथमिकतामा राखेको छ। 

महिला, बालबालिका, अशक्त, ज्येष्ठ नागरिकविरुद्ध हुनसक्ने अपराधको रोकथाम तथा नियन्त्रणका लागि प्रहरी चनाखो रहेको डीआईजी खापुङले बताए। उनका अनुसार अत्यावश्यक सेवाका साधनहरु एम्बुलेन्स र दमकल तयारी अवस्थामा राखिएको छ। कुनै पनि घटनामा परेर घाइते भएकाको उपचारका लागि सबै अस्पताललाई २४ घण्टानै तयारी अवस्थामा राख्न स्थानीय प्रशासनसँग समन्वय भइसकेको उनले बताए। 

सीसी क्यामेरामार्फत निगरानी बढाउँदै अपराध नियन्त्रणमा प्राविधिको प्रयोगलाई उच्च प्राथमिकतामा राखिएको जानकारी खापुङले दिए। भारतसँग सीमा जोडिएका स्थानदेखि मानवीय चहलपहल धेरै हुने ठाउँमा तालिमप्राप्त कुकुरको प्रयोग गरेर चेकजाँच भइरहेको उनले बताए। सीमा नाकाबाट आवतजावत गर्ने शंकित व्यक्ति तथा सवारीसाधनमाथि कडाइसाथ चेकजाँच गर्ने काम भइरहेको जानकारी खापुङले दिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.