कर्णालीमा तीन स्थानीय खेलाडी
काठमाडौं : हिमालयन बिल्डर्स एन्ड इन्जिनियर्सको स्वामित्वमा रहेको कर्णाली याक्सले अक्सनबाट स्थानीय प्रदेशका तीन खेलाडी टोलीमा समावेश गरेको छ। आइतबार भएको नेपाल प्रिमियर लिग (एनपीएल) को अक्सनबाट कर्णाली याक्सले १० खेलाडी खरिद गर्दा कर्णाली प्रदेशको प्रतिनिधित्व गर्दै घरेलु क्रिकेट खेलिसकेका तीन खेलाडी टोलीमा समावेश गरेको हो।
अर्जुन घर्ती, युनिशविक्रमसिंह ठकुरी र दीपेन्द्र रावत कर्णालीका हुन्। अर्जुन ‘बी’ श्रेणीका हुन् भने युनिश र दीपेन्द्र ‘सी’ श्रेणीका हुन्। कर्णाली याक्समा निर्देशक सह–मालिक गृहेन्द्र घिमिरेले योजनाअनुसार नै कर्णालीका खेलाडी टोलीमा समावेश गरेको बताए। ‘कर्णाली याक्सले कर्णाली प्रदेशको प्रतिनिधित्व गर्दा स्थानीय खेलाडीलाई प्राथमिकतामा राख्नुपर्छ भन्ने थियो’, घिमिरेले भने, ‘हाम्रो योजना अनुसार नै तीन खेलाडी समावेश गरेका हौं।’
निर्देशक गृहेन्द्र घिमिरेले केही खेलाडी छुट्न गएको बताउँदै उनीहरूलाई टोलीमा समावेश गर्ने तयारी भएको जानकारी दिए। ‘हामीसँग अझै पनि एक स्थानीय खेलाडी ल्याउने बाटो खुला छ। छुटेकालाई त्यसमा समावेश गछौं’, उनले भने।
ज्ञानेन्द्र मल्ल प्रशिक्षक रहेको कर्णाली याक्सको मार्की खेलाडीमा राष्ट्रिय टोलीका अलराउन्डर सोमपाल कामी छन्। टोलीले ‘ए’ श्रेणीबाट गुलसन झा, देव खनाल र नन्दन यावदलाई टोलीमा समावेश गरेको छ।
यस्तै, ‘बी’ श्रेणीमा अर्जुन घर्ती, रित गौतम, मौसम ढकाल र भुवन कार्की छन्। ‘सी’ श्रेणीमा दीपेन्द्र रावत, युनिशविक्रमसिंह ठकुरी र दीपक डुम्रे छन्। कर्णाली याक्सले १० खेलाडी खरिद गर्दा ७४ लाख खर्च गरेको छ। यसअघि हिमालयन बिल्डर्स एन्ड इन्जिनियर्सले १ करोड ११ लाखमा कर्णाली याक्सको स्वामित्व लिएको थियो।
निर्देशक गृहेन्द्र घिमिरेले चार विदेशी कोटामा विश्व चर्चित खेलाडी समावेश गर्दै टोली बलियो बनाउने जानकारी दिए। ‘अक्सनबाट अनुबन्ध भएका नेपाली खेलाडी निकै राम्रा छन्। अब विश्व चर्चित विदेशी खेलाडी अनुबन्ध गर्दै टोली थप बलियो बनाउँदै उपाधि जित्ने अभियानमा छौं’,
उनले भने।