अकबरे खुर्सानी बेच्दै दसैं खर्च जुटाउँदै

अकबरे खुर्सानी बेच्दै दसैं खर्च जुटाउँदै

तानसेन : पाल्पा रिब्दीकोटका कृषकहरूले खुर्सानी बेचेर दसैं खर्च जुटाएका छन्। गाउँपालिकाको १ हजार २ सय कृषकहरूले दसैं खर्च जुटाउने मुख्य आयस्रोत नै अकबरे खुर्सानी रहेको छ। गाउँपालिकाको पहिचान नै अहिले अकबरे खुर्सानी बनेको छ।

गाउँपालिकाभित्रका आठवटै वडाका अकबरे खुर्सानी खेती गर्दै आएका छन्। अकबरे खुर्सानीबाट रिब्दीकोटका कृषकले न्यूनतम ५० हजारदेखि अधिकतम ३० लाख रुपैयाँ वार्षिक रूपमा आम्दानी गर्दै आएका छन्। अहिले खुर्सानी बिक्री गर्न कृषकहरूको हार्थाेक संकलन केन्द्रमा दैनिक रूपमा भिडभाड बढेको छ। पहिले हप्ताको दुई दिन मात्र संकलनमा केन्द्रमा बिक्री हुन्थ्यो अहिले दसैं नजिकिए सँगै संकलन केन्द्रमा दैनिक बिक्रीको व्यव्स्था मिलाइएको छ।

तीन हजार खुर्सानीका बिरुवा लगाएका दलबहादुर रानाले एक महिनाको अवधिमा १ लाख रुपैयाँको खुर्सानी बिक्री गरिसक्नु भएको छ। खुर्सानी बिक्रीबाटै दसैं खर्च जुटाएको रिब्दीकोट गाउँपालिका वडा नंं २ का रानाले बताए। यो सिजनमा कम्तीमा दुई लाख रुपैयाँ खुर्सानी बेचेर कमाउने रानाले बताए। 

पहिलेपहिले लाहुरे, जागिरेले मात्रै दसैंमा टन्न पैसा लिएर घरमा आउथे, अहिले हामीले घरमै बसीबसी परिवारसँग रमाएर दसैं खर्च जुटाएका रिब्दीकोट देउरालीका लक्ष्मणप्रसाद आचार्यले बताए। आर्चायले २ हजार खुर्सानीको बोटबाट ५ लाख रुपैयाँ सजिलै कमाउन सकिन्छ, किन अमेरिका, जापान, कोरिया जानु पर्‍यो र ? हाम्रै खेतबारीमा अमेरिका जापान छ, अलिकति मेहनत गरेमा खुर्सानी खेती गरेर वार्षिक पाँच, सात लाख रुपैयाँ कमाउन सकिने आचार्यको अनुभव रहेको छ।

पुरुषलाई मात्र होइन, रिब्दीकोटका महिलाहरूलाई पनि अहिले दसैंको खुसीयाली छाएको छ। एक, दुई रोपनी बारीमा लगाएको अकबरे खुर्सानीको आम्दानीले महिलाहरूले पनि दसैंको राम्रोसँग किनमेल गरेका छन्। पहिलेपहिले श्रीमान्सँग दसैं किनमेलको लागि पैसा माग्नुपथ्र्यो भने अहिले हामीले कमाएर दसैं मनाउन श्रीमान्लाई पैसा दिने वातावरण अकबरे खुर्सानीले दिलाएको रिब्दीकोट—४ भारकोटकी तिलकुमारी रानाले बताइन।

खेतबारीमा लगाएको अन्नपात बाँदर बँदेल दुम्सी, राते मृग, सुगालगायतका वन्यजन्तुले हानिनोक्सानीबाट हैरान परेका किसानहरूको लागि अकबरे खुर्सानी विकल्पको रूपमा रोजेको रिब्दीकोट— ३ की बिनु गौतमले बताइन्। रिब्दीकोटका अधिकांश किसानहरूले मकै तथा अन्य अन्नबालीको विकल्पमा खुर्सानी खेती गर्दै आएका छन्। अकबरे खुर्सानी बाँदर बँदेल दुम्सीले नखाने र मकै गहुँभन्दा राम्रो आम्दानी हुने भएकोले किसानहरू सक्रिय भएर खेतीमा जुटेका छन्। 

हामी मगर जातजातिको दसैंलगायत चाडपर्वमा खर्च ठूलो हुन्छ, पहिले पहिले म पनि विदेशमा कमाएर गाउँमा दसैं मनाउन पैसा पठाउँथे। अहिले तीन वर्षदेखि गाउँमै बसेर अकबरे खुर्सानी खेती गर्दै आएको छु। दसैंजस्ता चाडपर्वमा कोही विदेशमा, कोही गाउँघरमा हुँदा नरमाइलो हुन्थ्यो तर अकबरे खुर्सानीले हाम्रो पारिवारिक मिलन भएको छ, अहिले विदेश जान छोडेर खुर्सानी खेतीमा लागेको रिब्दीकोट— २ देउरालीका कृषक जीवन रानाले अनुभव सुनाए। कृषक रानाले ३ वर्षअघि एक रोपनी जग्गामा लगाएको अकबरे खुर्सानी अहिले १२ रोपनी विस्तार गरेका छन्। रानाले खुर्सानी तथा तरकारी खेतीबाट मासिक एक लाख रुपैयाँ आम्दानी गर्दै आएको रानाले बताए। 

गाउँपालिकाका पूर्वअध्यक्ष नारायणबहादुर जीसीले चलाएको अकबरे खुर्सानी अभियानबाट नै पाल्पाको रिब्दीकोट गाउँपालिका अकबरे खुर्सानीको पकेट क्षेत्रको रूपमा चिनिएको हो। पूर्वअध्यक्ष जीसीले कृषकको आयआर्जन वृद्धि गर्न २०७६ सालदेखि ८ वटै वडामा अकबरे खुर्सानी खेती अभियानमा सक्रिय भएर लागेका छन।

किसानहरूको अकबरे खुर्सानी प्रति विश्वास बढ्दै गएपछि रिव्दीकोटको ८ वटै वडावडामा खेती विस्तार हुँदै गएको हो। अहिले रिब्दीकोटका किसानको लागि दसैंलगायतका चाडपर्वको खर्च पर्च जुटाउने प्रमुख आयस्रोतको रूपमा खुर्सानी खेती भएको छ। गत व र्ष ४ करोडको खुर्सानी बिक्री भएकोमा यस  वर्ष ६ करोडको खुर्सानी बिक्री हुने हुने अकबरे खुर्सानी अभियन्ता नारायणबहादुर जीसीले बताए। 

कृषकले उत्पादन गरेको अकबरे खुर्सानी रिब्दीकोट अकबरे खुर्सानी उद्योगले खरिद गर्ने व्यवस्था गरेको छ। पूर्वपालिका अध्यक्ष जीसीले उत्पादनको बजार र मूल्य सुनिश्चित नभइकन खुर्सानी उत्पादनमा दिगोपन हँुदैन भनी खुर्सानी उद्योग खाली चाउचाउ कम्पनीसँग बजार सुनिश्चित गरेका छन्। 

गाउँपालिका, किसान र रिब्दीकोट अकबरे खुर्सानी उद्योगबीच त्रिपक्षीय छलफलबाट खुसानीको नर्सरी राख्नु अगाडि नै प्रतिकेजी २२० रुपैयाँ समर्थन मूल्य कायम गरेर कृषकहरू खुर्सानी खेतीतर्फ लागेका छन्। उत्पादन अघि नै मूल्य सुनिश्चित भएपछि किसानहरू उत्साहित हुँदै अकबरे खुर्सानी खेतीमा लागेका हुन्। अहिले किसानले २ सय ६० रुपैयाँमा अकबरे खुर्सानी बिक्री गर्दै आएका छन्। 

अहिले दसैंको समयमा दैनिकजसो र अन्य समयमा शनिबार, आइतबार बुधबार खुर्सानी संकलन गरेर बुटवल, भैरहवा, पोखरा पठाउने गरेको संकलन केन्द्रका प्रमुख रञ्जीव कुँवरले बताए। संकलन केन्द्रमा रिब्दीकोटसहित रैनादेवी छहरा, बगनासकाली, माथागढी र तानसेनसम्मका किसानहरूले खुर्सानी बिक्री गर्न लैजाने गरेका छन्। 

रिब्दीकोटमा खुर्सानीकै कारण अधिकांश कृषकहरूमा खुसी छाएको छ। दसैंजस्ता चाडपर्वमा घरमै आम्दानीले रमाएका छन्। कृषकको अकबरे खुर्सानी अभियानलाई गाउँपालिकाले पूर्ण रूपमा सहयोग गरेको छ। अकबरे खुर्सानीको बिउमा अनुदान, कृषको खुर्सानी नर्सरी व्यवस्थापनमा, रोग किरा नियन्त्रण मलखादको व्यवस्थापनलगायतका विषयमा रिब्दीकोट गाउँपालिकाले सहयोग गर्दै आएको छ। 

गाउँपालिकाले आगामी दिनमा प्रदेश सरकारको सहयोगमा रेड परियोजनामार्फत खुर्सानी लाई विविधीकरण गर्दै लैजाने गरी उद्योग सञ्चालनमा जुटेको गाउँपालिका अध्यक्ष नारायणबहादुर कार्कीले बताए।  मिहिनेत गरे नेपालको माटोमा सुन फलाउन सकिन्छ भन्ने उदाहरण बनेका छन् पाल्पा रिब्दीकोटका किसानहरू।

वन्यजन्तुले पनि क्षति नगरेपछि खुर्सानी उत्पादनमा वृद्धि भएको हो। घरायसीको लागि मात्र प्रयोग हुँदै आएको खुर्सानी अहिले व्यावसायिक उत्पादन हुँदा गाउँमा करोडौं रुपैयाँ भित्रिएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.