त्यो दसैं, यो दसैं

त्यो दसैं, यो दसैं

गाउँ बस्ती जन्मभूमि अनि हामी हुर्किएको यो प्रकृति अपार सौन्दर्यको निधि हो। यसले आफैंमा अनेकन ज्ञानविज्ञानको भण्डारण पनि गरेको छ।

सहर–बजारदेखि गाउँबस्तीसम्म पहिले र अहिले धेरै अन्तर आइसकेको छ। देशको राजनीतिक अवस्था र जनताका पीडाहरू आमन्ने–सामन्ने उभिएका छन्भन्दा हुन्छ। हिजो सहर–बजारले आफ्नो गतिमा विकास क्रममा ध्यान दिइरहेका थिए भने आज दुर्गम क्षेत्रमा पनि उस्तै विकासको दौड चलिरहेको छ। तर, देश खाली छ, रोजगारीको सिर्जना छैन। विकास क्षेत्रमा राम्रो तीव्रता छ तर देशमा युवा शक्ति छैन। रित्तिएका छन् गाउँबस्ती। उजाड हुन लागेका छन् खोलानाला, वनजंगल, नदीनाला, टार, बेंसी, उपत्यका, सबै खाली छन्। हिजो जस्तो छैन, देशको सुन्दरता। जो लोपोन्मुख अवस्थामा पुगिसकेको छ।

हिजो पुस्तौंको कहानीमा, बाजेबराजुहरूको समयमा जस्तो आज यो प्रकृतिको धरातल धेरै फरक बनिसकेको छ। हिजोको पालेको वनजंगल खोलानाला कहानी हाम्रो बाजे पर बाजेले गर्ने मीठा कुराजस्तै सबैको प्रिय छ यो वनजंगल, खोलानाला र नदी झरनाहरू। उसको बगाइमा सबै ऋतु क्रमशः पोखिन आइपुग्छन्। वर्षात्देखि वसन्तसम्मका अनुभूतिका भिन्नभिन्न रङ लिएर ऊ वर्षौंदेखि यसरी नै बगिरहेका हुन्छन्।

वसन्तको समयमा नदी सुशीतल शान्त बगिरहेको हुन्छ। वरपर भीरपहरा र वनजंगलमा पलाएका पालुवाको दर्शन गर्दै गन्तव्यतिर एक नासले ऊ हिँडिरहेको देखिन्छ। सायद नदीहरू वसन्तमा सर्वाधिक शान्त हुने गर्छन्। नदीको पानी यति सङ्लो हुन्छ कि भित्रका ढुंगा र बालुवा पनि प्रस्ट देखिन्छन्। तर, यो आजका मानिसको गलत कामको कारण भताभुंग भइसकेको छ। हिजोको जस्तो जनचेतना आजको दिनको मानिसमा बुद्धि पलाउन सकेको छैन। हिजो हरियाली भएको वनमा आगो लगायौ, स–साना रूखहरू कटानी गर्‍यौ गाईबस्तु छोड्यौ अब भोलि कसले सोचिदिने यो हामीले सोच्ने दिन आउन सकेको छैन।

विगतलाई सम्झेर अहिले पनि गाउँ सम्झिँदा बहुतै नराम्रो लाग्छ। केही वर्षअघिको गाउँ फिर्ता ल्याउन पाए पनि हुने लागिरहन्छ। हुन त गाउँ त्यस्तै त भएको छ। न त्यो समय छ, न ती साथी, न ती मान्छे। दुर्गम ठाउँमा गाउँ भए पनि धेरै पछिसम्म पनि हाम्रो गाउँमा पानीको अभाव थिएन। घट्टबाट धान मकै कुटेर ल्याएको याद छ। चिउरा कुट्न गाउँभरिका मान्छे दुई घण्टाको बाटो भिजाएको धान बोकेर गएको धेरै भएको छैन।

गाउँमा कसैको बिहे हुँदा टपरी गाँसेर लैजाने, दाउरा काटेर ल्याउने र बारीको पाटामा बसेर लस्कर लागेर भोज खाएको पनि एक दशक पुगेको छैन। तर आज गाउँमा न मान्छे छन्, न यसरी काम हुन्छ। शिशिर ऋतुमा समेत रमाइलो लाग्ने पहाडका डाँडाहरू अचेल झाडी नै झाडीले उराठ बनेका छन्। केवल मृत्युको पर्खाइमा रहेका बूढाबूढी गाउँ कुरेर बसेका छन्, यो देख्दा अचेल पटकपटक मन दुखिरहन्छ।

हिजोको उमेरमा त्यो समयमा बचपनमा मसित खेल्ने साना–ठूला कोही साथी पनि गाउँमा भेटिएनन्। अधिकांश त विदेश गइसके भने स्वदेशमा बस्नेहरू पनि सहरमा छन्। गाउँमा बसिरहँदा लुकीडुम, दौड, फुटबल, चुंगी र एकखुट्टे खेलेका हरेक ठाउँहरू पुनर्ताजगी भए। ठाउँ त त्यस्तै नै छ, अलिकति बढी विकास पुगेको मात्रै हो। तर, ती मान्छे, ती साथी, त्यो भावनात्मक सम्बन्ध भएका व्यक्ति कोही छैनन्। त्यतिका वर्षसम्म आफू खेले, हुर्के र पढेको गाउँमा कोही नभएपछि लाग्यो– भौतिक विकासमा पनि भावना जोडिनुपर्ने रहेछ, भावना नजोडिएको विकास खासै अर्थपूर्ण नहुने रै’छ।

अर्काेतर्फ, गाउँमा मनाइने धेरै संस्कृति र संस्कारहरू पनि लोप हुँदै गएका छन्। अचेल दसैं तिहारमा गाउँमा पिङ हाल्ने चलन हटिसकेको छ भने हालेको ठाउँमा पनि पिङ खाली हुन थालेको छ। अर्काेतर्फ गाउँमा बिहेवारी हुँदा गाउँभरिका मानिस जुटेर विवाह सम्पन्न गर्ने चलन हराइसकेको छ। मोडर्न पार्टी प्यालेस र सहरको बसाइले गाउँमा गरिने धेरै संस्कार लोप भइसकेका छन्। गाउँमा मान्छे मर्दा लास लैजाने कोही छैनन्। तसर्थ अचेल मान्छेले होइन, लासले जलाउने मान्छे कुरेर बस्नुपर्ने बाध्यता छ। मन्दिर, घाट, पाटीपौवा र भवनहरू सबै माकुराको जालोले भरिएका छन्।

विभिन्न नाच, पूजाआजा र पर्वहरू मानिसको अभावमै लोप भइरहेका छन्। कतिपय पर्यटकीय सम्भावना बोकेका स्थल र ऐतिहासिक महत्त्वका स्थानहरू समेत संरक्षणको अभावमा जीर्ण हुँदै छन्। अहिले गाउँमा विकास भने धेरै पुगेको छ। कुनै समय पानीको लागि घण्टौं धाएर गाग्रीमा पानी बोक्नु पथ्र्यो भने अहिले घरघरमा धारो छ। कुनै समय उत्पादन भएको दूध बेच्ने ठाउँ थिएन भने अहिले घरघरमै दूध लिने मान्छे आइपुग्छ। घण्टौं हिँडेर पुगिने ठाउँमा गाडीको सुविधाले २० मिनेटमै पुग्न सकिने भएको छ। घरनजिकै स्कुल छ, स्वास्थ्य संस्था छ। स्थानीय तहले पनि किसानलाई प्रोत्साहनका लागि धेरै कार्यक्रम ल्याएको छ। उन्नत जातका पशु दिनेदेखि विभिन्न तालिम र बिउबिजन गाउँमा सहजै पाइन्छ। आगोमा फू फू गरेर धुवाँ खाँदै पकाउनुपर्ने युगलाई ग्यास र इन्डक्सनले विस्थापित गरेको छ। उत्पादन भएका धान, मकै र तरकारी लिन घरमै गाडी आइपुग्छ। विडम्बना गाउँमा सुविधा पुगेको छ तर मान्छे कोही छैन। भएका युवा पनि निराश भएर बिदेसिएका छन्। अनि आफू पनि गाउँ पुग्दा विरक्त लाग्ने अवस्था बनिसकेको छ। हाम्रो देशका पहाडी जिल्ला भएर पनि अर्कोतर्फ गाउँमा शिक्षाको पनि उस्तै सुविधा पुगेको छ। विद्यार्थीलाई दिवाखाजाको व्यवस्था गरिएको छ भने धेरै दाताले स्कुलमा कपी, किताब र खेलकुदका सामग्री निःशुल्क वितरण गरिरहेका छन्।

जबकि केही वर्षअघिसम्म हामी हाफछुट्टीमा लप्सी, अम्बा खोजेर खान्थ्यौं भने कतिपय साथीले कापीसमेत किन्न नसक्ने अवस्था थियो। गाउँमा बूढापाकाको भत्तालाई स्कुलको बोर्डहरू जोडेर चकले ब्ल्याकबोर्डमा लेखेर चौरमा समेत बसेर पढेको अनुभव छ। त्यत्ति हुँदा पनि विद्यार्थी भरिभराउ हुन्थे। घर बस्दा र घुम्न जाँदा लगाउने लुगासमेत स्कुल ड्रेस नै हुन्थ्यो। अहिले गाउँको स्कुलमा पनि सुविधासम्पन्न भवन बनिसकेको छ। कम्प्युटर, ह्वाइट बोर्ड, इन्टरनेट र प्राविधिक शिक्षकहरू पढाउन पुगेका छन्। हाम्रो समयमा जस्तो फोहोर शौचालय पनि छैन। सुविधा जति पुगे पनि स्कुलमा विद्यार्थी छैनन्। विद्यार्थीबिनाको स्कुल र सुविधाको पनि के अर्थ छ। गाउँमा कोही नभएर एउटा परिकल्पना जस्तै भएको छ।

जति नै भ्रष्टचार गरे पनि तीनै तहकै सरकारले गाउँगाउँको बजेटमा बर्सेनि वृद्धि गरिरहेका छन्। मानिस नभएका ठाउँमा विकासमात्रै गरेर के गर्ने ? प्रयोग नै नहुने बाटो, विद्यार्थी नै नभएको स्कुलको भवन, पूजा गर्ने मानिस नआउने मन्दिर र खानेपानीका पाइप बिच्छाएर के गर्ने ? यी सबै भौतिक सुविधा प्रयोग गर्ने गाउँका युवा कोही छैनन्। जीविका चलाउन सबै मानिस बिदेसिएका छन्। अब सुविधा बढाउनेभन्दा पनि गाउँगाउँमा सुविधाको उपयोग गरेर विकास गर्ने नागरिकको खाँचो छ। सहरमा मात्रै केन्द्रित भएको बस्तीलाई गाउँगाउँमा पनि आकर्षित गर्ने खालका योजना ल्याउनु जरुरी छ। सो खालका अवसरहरू गाउँमा पुगे मात्रै अब युवा गाउँमा बस्छन्। अन्यथा, सामान्य भौतिक पूर्वाधारको विकासले मात्रै कोही पनि गाउँघरमा बस्ने अवस्था छैन।

युवा आकर्षित हुने काम सरकारले नगरेसम्म गाउँको विकासले अर्थ नराख्ने भइसक्यो। समय धेरै परिवर्तन भइसकेको छ। एउटा पुस्ता सकिनेबित्तिकै गाउँहरू खाली बन्ने अवस्था आइसकेको छ। जसले गर्दा उत्पादन हुने जमिन बाँझिएको छ भने भएका युवाशक्ति सबै विदेशमै हुने सम्भावना बढेको छ। मानिस नभएका ठाउँमा विकासको सुविधा पुर्‍याएर मात्रै पनि त्यसबाट उपलब्धि केही हुने देखिँदैन। तसर्थ, गाउँको बसाइँसराइ रोक्न स्थानीयलाई आयआर्जनसँग जोड्ने, पर्यटन प्रवद्र्धन गर्ने, उद्योगधन्दा सञ्चालन गर्ने, स्रोतसाधनको पहिचान गरेर उपयोग गरी स्वरोजगार बनाउने कामतर्फ ध्यान दिनुपर्ने देखिन्छ। अन्यथा देशको अवस्था थप भयावह बन्ने देखिन्छ। जनताले रोजगारी आफ्नै देशमा हात पाखुरा गरेर आफूलाई राम्रोसँग छाक टार्न सकिने अवस्था छ। अब सबैले आफ्नो देशलाई आर्थिक विकास क्षेत्रमा जोड दिन देखिन्छ।

हाम्रो गाउँ बस्ती जन्मभूमि अनि हामी हुर्किएको यो प्रकृति अपार सौन्दर्यको निधि हो। यसले आफैंमा अनेकन ज्ञानविज्ञानको भण्डारण पनि गरेको छ। प्रकृति जति आवरणमा सुन्दर छ, त्यति नै आन्तरिक रहस्य र शक्तिले पनि पूर्ण छ। नदीनाला, वनजंगल, पशुप्राणी, हिमालपहाड, छहराछाँगा र अनेकन बोटबिरुवाको समन्वयले प्रकृतिको शोभा यति शोभनीय बनेको हुन्छ। नदी, झरना हाम्रो मानव जीवनका सबैभन्दा प्रिय प्रतिविम्ब हुन्। हिमालको फेदबाट सागरको अतल गहिराइसम्मको यात्रा नै नदीको जीवनकहानी हो। वनजंगल खोलानाला र ठूला नदीहरूले यसबीचमा जेजस्ता अनुभूति सँगाल्छन्, ती सबै सागरमा समर्पण गर्नु प्रकृतिको मायाप्रेम नियति हो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.