नाङ्लो बुनेरै मनग्गे आम्दानी

नाङ्लो बुनेरै मनग्गे आम्दानी

भोजपुर : आधुनिकता बढेसँगै हिजोआज धेरैजसो जीवनशैलीहरू फेरिएका छन्। परम्परागत बाँसबाट बनेका नाङ्लो दैनिक प्रयोगमा आउने गाउँघरको लोकप्रिय सामग्री हो। तर जमाना र जीवनशैली फेरिए पनि हरेक घर, भान्साहरूमा नाङ्लोको लोकप्रियता अहिले पनि उत्तिकै छ। सोही परम्परागत शैलीको नाङ्लो बुन्ने र बेच्ने पेसा भोजपुरको दक्षिणी होम्ताङबासीको राम्रो आम्दानीको विकल्प बन्दै गएको छ। हतुवागढी गाउँपालिका होम्ताङका स्थानीय बासिन्दा परम्परागत पुख्र्यौली नाङ्लो बुन्ने पेसाबाट राम्रो आम्दानी लिँदै आएका छन्। 

हतुुवागढी गाउँपालिका– ६, होम्ताङको साबिक १ नम्बर वडा लङ्खाका करिव ७५ घर, साबिक २ नम्बर वडा बिथाराका १ सय ६५ घर, साबिक ३ नम्बर वडाका लुम्बुवाका १ सय ३५ घर र हालको हतुवागढी गाउँपालिका– ५, साबिक ४ नम्बर वडा सोया गाउँका करिब ४० घरपरिवार व्यावसायिक रूपमा नाङ्लो बुन्दै आएका छन्। सो क्षेत्रबाट वार्षिक साढे दुई करोड रुपैयाँबराबरको नाङ्लो बिक्री हुने गरेको छ।

विशेषगरी भदौ, असोज र कात्तिक महिनामा सबैभन्दा बढी नाङ्लो उत्पादन तथा खरिदबिक्री हुने गरेको छ। दसैं, तिहार, छठलगायतका चाड विशेषमा नाङ्लोको बढी माग हुने हतुवागढी– ६ का स्थानीय नाङ्लो व्यवसायी राजेन्द्र राईले बताए। उत्पादित नाङ्लो आफूसहित अन्य दुई जना मिलेर संकलनपश्चात् बाहिरी बजारमा पठाउँदै आएको उनले बताए। उनका अनुसार सो क्षेत्रबाट प्रतिमहिना १८ देखि २० हजार गोटासम्म नाङ्लो बाहिर निर्यात हुने गरेको छ। किसानले बनाएका नाङ्लो प्रतिगोटा १ सयदेखि १ सय १० रुपैयाँसम्म खरिद बिक्री हुने गरेको उनले बताए।

‘हामीले पुर्खाको पालादेखि नाङ्लो बुन्ने पेसा गर्दै आएका छौं, गाउँघरमै बसेर मनग्गे आम्दानी हुने स्रोत बनेको छ’, व्यवसायी राईले भने, ‘यहाँबाट संकलित नाङ्लो प्रतिमहिना १९ देखि २१ हजार गोटासम्म बाह्य बजारमा पुर्‍याउँछौँ।’ यसरी मासिक २१ लाखबराबरको नाङ्लो निर्यात हुने उनले बताए। यो ठाउँमा नाङ्लोको बिक्रीबाट वार्षिक दुईदेखि २ करोड ५० लाखसम्म आम्दानी हुने गरेको छ। यस क्षेत्रका एक परिवारले मासिक न्यूनतम १ सय ५० देखि अधिकतम तीन सय वटासम्म नाङ्लो उत्पादन गर्दै आएका छन्।

होम्ताङबवासीको राम्रो आम्दानीको स्रोतको रूपमा रहेको नाङ्लो बुन्ने व्यवसायलाई प्रवद्र्धन र विकास गर्न स्थानीय सरकारले पनि प्रोत्साहनका कार्यक्रम सञ्चालन गर्नु आवश्यक रहेको स्थानीय नाङ्लो व्यवसायी प्रकाश राईले बताए। यसको थप विकास तथा विस्तार गरेर थप व्यावसायिकता ल्याउनु आवश्यक रहेको उनको भनाइ छ। भन्छन्, ‘यसबाट गाउँघरमा मनग्गे पैसा पनि भित्रिँदै आएको छ। यसलाई थप व्यावसायिकता र बजारीकरण गर्न स्थानीय सरकारले ध्यान दिनु आवश्यक छ।’

नाङ्लो बुनेरै जीविका चलाउने यस भेगका नागरिकको नाङ्लो बुन्ने पेसा नै एक मात्र भरपर्दो माध्यम हो। नाङ्लो बुनेर घर खर्च चलाउने गरेको स्थानीयवासी पूजा राईले बताईन्। पूजा राईले आफ्नो घरका तीनै जना परिवार नै नाङ्लो बुन्ने गरेको उनले सुनाइन्। परिवार मिलेर प्रतिमहिना १ सय ५० वटासम्म नाङ्लो तयार हुने गरेको उनी सुनाउँछिन्। राईले नाड्लोबाटै वार्षिक दुई देखि तीन लाखसम्म आम्दानी गर्ने गरेकी छन्। ‘हाम्रो पुख्र्यौली पेसा नै यही नाङ्लो बुन्ने हो, म र मेरा परिवारका सबै सदस्य मिलेर नाङ्लो बुन्छौं,’ राईले भनिन्, ‘हाम्रो मुख्य आम्दानीको स्रोत नै यही हो। खेतबारी थोरै छ। नाङ्लो घरबाट नै बिक्री हुन्छ। यसको बिक्रीबाट घरगर्जो राम्ररी नै टर्छ। हाम्रो क्षेत्रका प्रायः सबैले व्यावसायिक रूपमा नाङ्लो बुन्दै आएका छौं।’

नाङ्लो बनाउने व्यवसाय होम्ताङवासीको निकै राम्रो आम्दानीको स्रोतका रूपमा रहेकाले यसको व्यवसायीकरण र बजारीकरणको लागि स्थानीय सरकारले विशेष ध्यान दिने गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले बताए। पुख्र्यौली तथा रैथाने पेसा रहेकाले यसको विकास, विस्तार तथा संरक्षणमा जोड दिइने उनले बताए।

‘यो हाम्रो गाउँपालिकामा गरिने परम्परागत पुख्र्यौली पेसा हो। यो व्यवसाय यहाँका नागरिकको मुख्य आम्दानी स्रोतको रूपमा रहेको छ। यसको थप व्यवसायीकरणसँगै बजारीकरण गर्नु आवश्यक छ।’, अध्यक्ष राईले भने। संकलित नाङ्लो धरान, इटहरी, विराटनगर, झापा हुँदै नेपालभरका विभिन्न क्षेत्रहरू र भारतीय व्यापारसम्म पुग्ने गरेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.