सडक दुर्घटना न्युनीकरण गर्न नमूना अभ्यास
अर्घाखाँची : अर्घाखाँचीको सन्धिखर्कमा चाडपर्वमा हुने सवारी दुर्घटनाको उद्दार र न्यूनीकरण गर्नका लागि नमूना अभ्यास गरिएको छ । सडक दुर्घटना भएकै भान हुनेगरी नमूना अभ्यास गरिएको थियो ।
अर्घाखाँचीका तीनवटै सुरक्षा निकायका प्रमुखहरू नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त आयोजनामा सदरमुकाम सन्धिखर्कमा सडक दुर्घटनापछि गरिने उद्दारबारे नमुना अभ्यास गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख डिएसपी चक्रबहादुर मल्लले बताए ।
सवारी दुर्घटना आफ्ना कारणले मात्र नभइ अरूका कारणले पनि घट्ने भएकाले सवारी साधन चलाउँदा सावधानीपूर्वक चलाउनुपर्छ र सावधानी अपनाउने हो भने दुर्घटना हुँदैन भन्ने सन्देश दिन नमुना अभ्यास गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३६ नम्बर गुल्मका गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक भिमसेन बोहराले बताए ।
पूर्व जानकारी बिना आउने दुर्घटनाले पुर्याउने क्षतिको आंकलन नहुने भएकाले दुर्घटनापछि उद्दारमा कसरी सहभागी हुने र पेशागत दक्षतालाई समयानुकूल कसरी परिचालन गर्न सकिन्छ भन्ने विषयमा घटना अभ्यासले सहज हुने प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले बताएका छन् ।
नमुना अभ्यासले घटना घट्दा कसरी समन्वय,सञ्चार र उद्धार गर्न जुट्ने लगायतका कुराहरू जानकारी गराइएको थियो । दुर्घटनाबाट हुने मानवीय तथा जनधनको क्षतिलाई न्यूनीकरण गर्न जिल्ला प्रशासन कार्यालयले सडक सुरक्षा तथा सडक सुधार कार्यक्रम ल्याएको जिल्ला प्रशासन कार्यलय अर्घाखाँचीका सूचना अधिकारी नुमलाल पन्थिले जानकारी दिए ।