बेहाल राजमार्गहरू
असोज दोस्रो साता काठमाडौं उपत्यकामा ५५ वर्षयताकै सबैभन्दा धेरै पानी पर्यो। दर्जनौं व्यक्तिले ज्यान गुमाए, कति हराए। उपत्यका डुबानमा पर्यो। सँगसँगै काभ्रे जिल्लामा ठूलो धनजनको क्षति भयो। त्यही भीषण वर्षाकै कारण देशका विभिन्न ठाउँमा पहिरो चल्यो। पहिरोमा सिंगै बसहरूसँगै यात्रु पुरिए।
पृथ्वी राजमार्गको झ्याप्लेखोलामा तीन बस पुरिए। बल्लतल्ल केही शव निकालिए। राजमार्ग खुलाइयो। धेरै राजमार्गहरू त्यही बेलाको पहिरोले क्षत्विक्षत थिए। मधेसलाई काठमाडौं जोड्ने बनेपा—बर्दिवास अर्थात् बीपी राजमार्गका धेरै खण्ड ध्वस्त भए। अहिले देशका नौ राजमार्गहरू त्यही वर्षाको चोटकै कारण सुचारुसम्म हुन सकेका छैनन्।
दसैंमा काठमाडौंबाट जिल्ला जाने यात्रुहरूको संख्या लाखौं हुने पोहोरपरारको रेकर्ड प्रहरीसँग छ। यसपालि असोज १४ देखि २२ गतेसम्म ६ लाख हाराहारी यात्रुले काठमाडौं छाडिसकेका छन्। तर तिनले गन्तव्य पुग्न अनेक झमेला व्यहोर्नुपर्ने पक्का छ। किनकि राजमार्गमा अझै गाडी चल्न सकेका छैनन्। पोहोरपरार दसैंको घटस्थापना सुरु भएपछि यसअघि दैनिक ५० हजारदेखि एक लाखसम्म यात्रुहरू काठमाडौंबाट बाहिरिने गरेका थिए। राजमार्गहरू अवरुद्ध भएकै कारण यसपालि यात्रुहरू केही घटेका भने छन्।
जसले देशको मध्यपहाडलाई जोड्छ, मध्यपहाडी राजमार्ग ठाउँठाउँमा अवरुद्ध छ। बाह्रबिसे तातोपानी सडक पनि पूर्ण रूपमा अवरुद्ध छ। अरनिको राजमार्ग ठाउँठाउँमा बिग्रेको छ। कान्ति लोकपथ, ललितपुरको लेलेदेखि टीकाभैरवसम्मको सडक पनि अवरुद्ध नै छ। बाढी, पहिरोबाट राजमार्गहरूका पाँच वटा ठूलाठूला पुलहरू भत्किएका छन्। कतैकतै राजमार्गहरूमा एकतर्फी खुलाइएको मात्रै छ। राजमार्गहरू देशका रक्तनलीहरू जस्तै हुन्। यिनैले देशलाई जोडेका छन्। यात्रु आउजाउमात्रै नभई सामानओसार पनि राजमार्गहरूबाटै हुने हो।
चाडबाडका बेला सडकहरू सुचारु हुन नसक्नु धेरैका लागि समस्यामात्रै नभई राज्यका लागि चुनौती हो। बाढीपहिरो आउँदा उद्धार र राहतको चाँजोपाँजो मिलाउन नसकेको भनेर सरकार आलोचित छ। साता दिन बितिसक्दा पनि राजमार्गहरू नै सुचारु गर्न नसक्नु फेरि अर्काे दुर्भाग्य हो। हो, कतिपय राजमार्गहरूका खण्डहरू भने फेरि करोडौं खर्चेर पुनर्निर्माण गर्नुपर्ने अवस्था सिर्जना भएको छ। अहिलेको चाला हेर्दा त्यही कामका लागि पनि हाम्रो सरकारले वर्षाैं लगाई दिनसक्छ। तर जनअपेक्षा चाहिँ सरकार त्यस्तो अकर्मण्य नबनोस् भन्ने नै हो।