हराए चंगा, देखिनै छोडे पिङ
पिङ, चङ्गा, निधारभरि टीका लगाएर गाउँ डुल्नु, कट्कटिएका नयाँ नोट खल्तीमा हुनु दसैंका विशेष चित्र हुन् ।
काठमाडौं : रातोमाटो र सेतो कमेरोले लिपपोत गरेर टिलिक्क टल्काएको घरआँगन । आँगनको डिलमा फुलेका सयपत्री र मखमली फूलका रौनक । बारीको कान्लामा फुलेका अनेकथरी फूलहरूको मादकता बेग्लै छ ।
घरमाथिको करेसाको डिलमा उभिएर चंगा उडाइरहेका बालबच्चा । लट्टाईको धागो र चंगाको बेगमा दौडिरहेका अभिभावकको हतारो । घरको मूलबाटोमै खम्बा गाडेर बनाइएको पिङमा भुलिरहेका युवायुवती । दसैं सम्झनासाथ यी र यस्तै दृश्य याद हुन्छन् । घरघरमा दसैं भित्त्याउने हतारोले काममा दौडिएका युवायुवती सुस्ताउने ठाउँ हो, पिङ । पिङका लठ्ठामा बालबच्चा झ्याम्मिने र रमाउँदै खेलेको देख्दा हेर्नेलाई समेत आनन्द लाग्छ । दसैं भन्नासाथ झ्याप्प मानसपटलमा दृश्य हुन् यी । पिङ, चङ्गा, निधारभरि टीका लगाएर गाउँ डुल्नु, कट्कटिएका नयाँ नोट दसैंका विशेष चित्र हुन् ।
पछिल्लो समय सहर होस् या गाउँ पिङविहीन हुन थालेका छन् । चंगा त देख्न पाइनै छाड्यो । चंगा उडाउने बालबच्चा इन्टरनेटको लतमा परेका छन् । पिङमा भेला हुने युवायुवती र केटाकेटी मोबाइलमा घण्टौं बस्न थालेका छन् । गाउँगाउँमा पुगेको विकास, प्रविधिको पहँुच र इन्टरनेटको विस्तारले गाउँको अग्र्यानिक दृश्य देखिन छाडेको छ ।
चंगा र धागोजस्तै गहिरो सम्बन्ध
दसैंं परम्परासँग जोडिएका चंगा, पिङ मनोरञ्जनका माध्यम हुन् । यसको महिमा मनोरञ्जनमा मात्र सीमित छैन । चंगा र पिङले उमंगको संकेत गर्छ । वर्षा सकिएको र जाडो सुरु हुनेबेलाको दसैंको मौसम आफैंमा मनमोहक हुन्छ । बाबियोले बनाएको लिंगेपिङको डोरीमा टहलिँदै हावाको वेगमा अल्मलिनुको स्वाद बेग्लै हो ।
हाम्रा धार्मिक परम्परासँग जोडिएका कुराहरू आफैंमा वैज्ञानिक छन् । पिङ र चंगासँग पनि विज्ञान जोडिएको छ । जस्तो चंगाले मौसमी अवस्थाबारे पनि जानकारी दिन्छ । चंगा उडाउनु भनेको खुला र मोहक मौसमको सूचक हो । उचाइ र विजयको प्रतीकजस्तै लाग्ने चंगाको बहाव साँच्चिकै शानदार हुन्छ । चंगा र धागोको सम्बन्धलाई हरकोहीले निकै नजिकको र अन्योन्या िश्रत सम्बन्धको रूपमा व्याख्या विवेचना गर्ने गर्छन् । यसले सम्बन्धको निकटता र विशेष महिमा झल्काउँछ । नजिकका प्रिय आफन्तलाई चिनाउन होस् या प्रेमिल जोडीलाई उपमा दिनुहोस् धागो र चंगाजस्तै बनौं भन्ने गरिन्छ ।
चंगा उडाउन मन्द हावाको बहाव चाहिन्छ । शरद ऋतुमा लहलह झुल्ने धानका बालाहरू छुँदै बहेको हावाको झोक्कामा उमंग भेटिन्छ । विजय र वर्चस्वको बोझ लिएर उड्ने चंगा एक रोमाञ्चक खेलमात्र होइन, जीवन दर्शन पनि हो । यो उमंगको प्रतीक हो, स्वच्छन्दको प्रतीक हो, उचाइको प्रतीक हो । भनिन्छ, चंगा उडाउँदा हामी दुःख, पिर भुल्छौं । दम्भ, रिस, राग भुल्छौं । मनमा उमंग छाइरहेको हुन्छ । यसले हामीमा महत्त्वाकांक्षा जगाउँछ । धर्तीकै साथमा भए पनि कहिलेकाहीँ आकाश छुनुपर्छ भन्ने सन्देश दिन्छ । आकाश र धर्तीलाई जोड्ने चंगाको धागो सम्बन्धको मापन हो ।
धागोले बाँधिएर लट्टाईबाट नियन्त्रण गरिने चंगा अनेक मान्यता, अन्धविश्वास र अनौठो प्रयोगको आधार पनि रहेको छ । मानिसको महत्त्वाकांक्षालाई आकाशको उचाइसम्म लिएर जाने चंगा उडाउनु आफैंमा कलात्मक सीप हो ।
खुसी र उमंग खोज्न पिङ
दसैंका बेला खेलिने लिंगेपिङ होस् पनि चर्के पिङ यो खेल बडो रमाइलो हुन्छ । दसैंको एक दिन धर्ती छाड्नुपर्छ भन्ने पुरानो मान्यता पनि छ । यसैले पनि सो दिन बच्चा हुन् या युवा वा बुढापाका नै किन नहुन पिङमा झुलिरहेको देखिन्छ । पिङ खासमा मनोरञ्जनकै लागि खेलिन्छ । दसैंंमा रमाउने बहानामध्ये पिङ एक उत्कृष्ट तरिका पनि हो । पिङ खेल्दा हाम्रो शारीरिक कसरत पनि हुने गर्छ । यसले गर्दा शरीरलाई स्वस्थ्य राख्न सहयोग पुग्छ ।
दसैं मनाउन गाउँघर पुगेका केटाकेटी पिङमा मच्चिएको देख्दा हरकोही खुसीले रमाउछ । गाउँको सिरान होस् या चौतारी वा खुल्ला चौर नै किन नहोस् समाजका सबैजना मिलेर पिङ हाल्ने परम्परा हो हाम्रो । पिङलाई स्वतन्त्रताको प्रतीकको रूपमा पनि लिने गरिन्छ ।
दसैंं परम्परासँग जोडिएका चंगा, पिङलगायतका मनोरञ्जनका माध्यम अहिले लोप हुने लाइनमा छन् । दसैं आउनुअघि आकाशभरि देखिने चंगा अहिले सम्झनामा मात्रै बाँकी छ । अनेकन महत्त्व रहेका हाम्रा पुराना संस्कृति जोगाउन नयाँ पुस्ताले चासो दिन सकेनन् । संस्कृति संरक्षणमा राज्यको योगदान हुन सकेन । संस्कृति जोगाउन युवावर्ग नै लाग्नुपर्छ
संस्कृतिविद् डा. गोविन्द टण्डनका अनुसार नेपाली समाजमा दसैंको सामाजिक, सांस्कृतिक र धार्मिक महत्त्व छ । देवी माताहरू दुर्गा भवानी, लक्ष्मी र सरस्वतीको पूजा हुने भएकाले पनि यसको बेग्लै धार्मिक महत्त्व छ । दसैंको टीकासँगै लगाइने जमरा, ठूलालाई सम्मान गर्ने र आशीर्वाद लिने तथा एकअर्कामा सम्बन्ध सुधार गर्ने चाड भएकाले पनि यसको सामाजिक महत्त्व छ । सामाजिकीकरणको लागि पनि दसैंले मुख्य भूमिका खेलेको हुन्छ । मनोरञ्जनको चाड पनि हो । पिङ र चंगा दसैंका मुख्य आकर्षक हुन् ।
दसैंको अवसरमा सरकारी कर्मचारीदेखि स्कुल कलेजका विद्यार्थीको पनि लामो बिदा हुन्छ । यो समय सदुपयोग गर्न चंगा खेल्नु निकै उपयुक्त हुन्छ । पछिल्लो समय स्कुलमा दिने लामा र बोझिला गृहकार्य, दसैं परियोजनालगायत मोबाइल र टीभीले गर्दा केटाकेटीहरू प्रायः घरभित्रै थुनिएको देखिन्छ । युवाहरू त गाउँमा छँदै छैनन् । सक्ने युरोप गए, कोही खाडी देशतिर छन्, । कोही सहरबजारमा छन् । गाउँ युवाविहीन भइसक्यो ।
खाली चौरमा सामूहिक खेल खेल्ने, प्राक्टिस गर्ने तथा शारीरिक खेल खेल्ने चलन समाजमा हराउँदै गएको संस्कृतिविद् टण्डनको बुझाइ छ । उनी भन्छन्, दसैंको सांस्कृतिक र सामाजिक महत्त्व सिकाउन अहिलेका अभिभावक नै चुकिरहेका छन् । सामाजिक संघसंस्था तथा गुठीहरूले सामाजिक काम गर्न नै छाडे । राज्य तथा सामाजिक स्तरबाट उनीहरूमा सांस्कृतिक चेतना सिकाउन छाडियो । पहिले गुठी तथा टोल विकास सघंसंस्थाले गाउँको बीचमा पिङ हाल्ने गर्थे । अहिले गुठीहरू लोप भइसके ।
संस्कृतिमा आक्रमण भयो
अर्का संस्कृतिविद् तथा दाङ विश्वविद्यालयका प्राध्यापक डा. गुरुप्रसाद सुवेदीका अनुसार हाम्रो सस्कृतिको मूल आधार प्राचीन वैदिक बाङ्मय हो । प्राचीन वैदिक परम्परामा शक्ति आराधनाको मुद चिन्तन यहीबाट सुरु भएको हो । हरेक संस्कृतिका मूल जरो त्यही हुनुपर्छ । संस्कृतिमा आक्रमण हुने, विकृति फैलने, अतिक्रमण हँुदै जाने व्यक्तिको संस्कारमा आएको विचलनका कारणले हुन्छ । फाइदा र बेफाइदा हेर्ने बहानामा हाम्रा चालचलन र संस्कार बदलिए । पिङमा रमाउने परम्परा, मान्यजनकहाँ गएर टीका आशीर्वाद लिने परम्परा, चंगा उठाउने चलन लोप प्रायः भए ।
सुवेदीका अनुसार दसैं संस्कृति हिन्दुहरूको मात्रै नभएर सम्पूर्ण नेपालीहरूको चाड हो । यसलाई पुनर्बोध गर्नुपर्छ । आफ्नो अस्तित्व र नेपालीपन जोगाउन सबैले संस्कृति संरक्षण गर्नेपर्छ । हाम्रा पुर्खाहरूको परम्परालाई जोगाउन पर्छ नै ।
चंगा र पिङ खेल्ने परम्परा हराएको बताउँदै संस्कृतिविद् सुवेदीले हाम्रो संस्कृतिमाथि विदेशी संस्कृतिको अतिक्रमण भएको बताए । उनका अनुसार, हाम्रा चालचलन, संस्कार र परम्परामा विभेद छ । राम्रा छैनन् भन्दै आरोप लगाउने र विदेशी संस्कार मनाउने परम्परा बढेको छ । प्रविधिको विकाससँगै बालबच्चा, युवायुवती मोबाइलमा व्यस्त हुन थाले । उनीहरूसँग सामाजिक कामको लागि समय भएन । अभिभावकले सही गाइड गर्न सकेनन् । आफ्नो परिवार, समाज र परिवेश नै नचाहने जमातको विकास भइरहेको छ । पारिवारिक संस्कृतिको मूल चिन्तन नै भत्कन थालेको छ ।
दसैं भनेको खाने र रमाउने भन्नेमै सीमित भयो
पछिल्लो समय दसैंको मान्यता नै बदलिएकोमा संस्कृतविद् टण्डनको चिन्ता छ । उनी भन्छन्, अहिले दसैं भन्नासाथ किनमेल गर्ने र खानेपिउने भन्ने मात्रै सम्झिन थालिएको छ । मासु धेरै खाने, मीठा र चिल्ला परिकार खाने चाडको रूपमा दसैं चिनिँदैछ । जुन गलत हो ।
विकासको गति गाउँगाउँमा फैलिएजस्तै दसैं तथा अन्य चाडपर्वको स्वरूप पनि बदलिए । चाडपर्वहरू सधंै उही रूपमा रहँदैनन् । पहिले र अहिलेकोमा धेरै भिन्नता भएजस्तै अहिले र भोलिमा पनि फरकपन देखिन्छ । राम्रा कुरालाई आत्मसाथ गर्दै, नराम्रो चलन हटाउँदै परिस्कृत रूपमा दसैं मनाउन जरुरी छ ।