दुर्गासप्तशती : मायातत्त्व विज्ञान

संस्कृति/परम्परा

दुर्गासप्तशती : मायातत्त्व विज्ञान

मायातत्व विज्ञानको सनातन वैदिक हिन्दु परम्परामा महत्तवपूर्ण स्थान छ। परब्रह्मको अचिन्त्य मायाशक्ति नै योगमायाशक्ति, जीवमायाशक्ति र जगत्मायाशक्ति हो।

शक्ति उपासना र वेदतुल्य ग्रन्थ  :  आदिशक्ति जगदम्बा शक्ति स्वरूपा लोककल्याण हेतु अनेक रूप धारण गर्नुहुन्छ। सर्वरूपमयी देवी, सर्वदेवीमयं जगत्। अतोऽहं विश्वरूपां तां, नमामि परमेश्वरिम् भनी शास्त्रहरूमा छन्। यस प्रकार आदिशक्ति जगदम्बा पराशक्ति त्रिशक्ति, नवदुर्गा, दस महाविद्या र यस्तै अनन्त नामबाट पूज्य हुनुहुन्छ।

सनातन वैदिक परम्परामा आदिकालदेखि नै आदिशक्ति जगदम्बाको साधनामा प्रयोग भैआएको श्री दुर्गा सप्तशती ग्रन्थलाई श्रीरुद्री, श्रीमद्भगवत गीता, श्रीमद्भगवत महापुराणजस्तै महत्त्वपूर्ण ग्रन्थ अझ वेदतुल्य ग्रन्थका रूपमा लिइन्छ। भुवनेश्वरी संहितामा भनिएको छ– जसरी ‘वेद’ अनादि छ, त्यसरी नै ‘सप्तशती’ पनि अनादि छ। सृष्टिको आदिकालमा बह्माजीलाई सृष्टिको ज्ञान र वैदिक ज्ञान आदिशक्ति जगदम्बाबाट नै भएको थियो। त्यसैले नै परमेश्वरी देवीलाई परम विद्याको रूपमा पनि पुजिन्छ।

‘कलौ चण्डी–विनायकौ’ अर्थात् कलियुगमा ‘चण्डी’ र ‘गणेशको’ साधना श्रेयष्कर हुन्छ भन्ने भनाइ छ। शास्त्रका वचनअनुसार कलियुगमा भगवती दुर्गा र बुद्धिदाता श्रीगणेशको उपासना तत्काल फलदिने हुन्छ। ‘चण्डी’ र ‘गणेशको’ साधना विधि पनि सरल छ। अहिले पनि दैनिक सप्तशती ग्रन्थको सम्पूर्ण वा आंशिक नित्य पाठ गर्ने चलन छ।

चण्डी वा सप्तशती पाठ नगरी बिहानको भोजन नगर्ने देवी उपासक धेरै छन्। विषम परिस्थितिमा दुष्टहरूको नाश र सज्जनहरूको पालन गर्न आदिशक्ति भगवती माताको अवतरण हुन्छ। सत्य युगमा देवताहरूलाई त्रेता युगमा भगवान् श्रीरामलाई, द्वापर युगमा पाँच पाण्डवहरूलाई अनि कलियुगमा श्री गोरखनाथलाई श्री दुर्गा भवानीले कृपा गर्नु भएको प्रसंग धेरै शास्त्रमा उल्लेख छ। शिवजी स्वयं भन्नुहुन्छ, ‘ऐंकारी सृष्टिरूपायै ह्रिंकारी प्रतिपालिका। क्लिंकारी कामरुपिण्यै बीजरूपे नमोऽस्तु ते।’

श्री दुर्गा शप्तशती ग्रन्थ स्वयं भगवतीको मूर्ति हो। यसमा सात सय श्लोक भएका कारण यसलाई ‘दुर्गा सप्तशती’ भनिन्छ। यो मार्कण्डेय पुराणको अंश हो। जसरी ज्ञानयोगको सर्वोत्तम ग्रन्थ श्रीमद्भगवत गीतालाई मानिन्छ, त्यसरी नै ‘दुर्गा सप्तशती’ शक्ति उपासनाको सर्वश्रेष्ठ ग्रन्थ मानिन्छ। यसमा सृष्टिको प्रतीकात्मक व्याख्या गरिएको छ। ऐं ह्रिं क्लिं शक्ति वा मायाको प्रतीकात्मक वर्णन र गुढ रहस्य यसै ग्रन्थमा वर्णित पाइन्छ। यसमा कुल सात सय श्लोक, तेह्र अध्याय छ।

मुख्य रूपमा तीन चरित्र छ। प्रथम चरित्र (प्रथम अध्याय) मध्यम चरित्र (द्वितीयदेखि चतुर्थसम्म) उत्तम चरित्र (पञ्चमदेखि सबै) गरी तीन चरित्रमा विभाजन गरिएको छ। प्रथम चरित्रकी देवी महाकाली, मध्यम चरित्रकी देवी महालक्ष्मी र उत्तम चरित्रकी देवी महासरस्वती छन्। प्रत्येक चरित्रमा सात–सात देविको उल्लेख भएको प्रथम चरित्रमा काली, तारा, छिन्नमस्ता, सुमुखी, भुवनेश्वरी, बाला र कुब्जाको उल्लेख छ। द्वितीय चरित्रमा लक्ष्मी, ललिता, काली, दुर्गा, गायत्री, अरून्धती, सरस्वती तथा तृतीय चरित्रमा ब्राह्मी, माहेश्वरी, कौमारी, वैष्णवी, वाराही, नारसिंही तथा चामुण्डा (शिवा)को उल्लेख छ।

दुर्गा, रक्तदन्तिका र भ्रामरीलाई श्री दुर्गा सप्तशतीको बीज मानिएको छ। तन्त्रका दृष्टिले यस ग्रन्थमा मारणको ९०, मोहनको ९०, उच्चाटनको २००, स्तम्भनको २०० वशीकरणको ६० र विद्वेषणको ६० प्रयोग दिइएको छ। यसरी हेर्दा कुल ७०० श्लोकमार्फत ७०० प्रयोग भएको ग्रन्थ हो भन्न सकिन्छ। श्री दुर्गा सप्तशती ग्रन्थले धर्म अर्थ काम मोक्षचारै पुरुषार्थ प्रदान गर्छ।

मार्कण्डेय ऋषि  :  भगवान् शिवका उपासक महामुनी मृकण्डु र माता मरुद्वतीका पुत्र, भृगु कुलमा उत्पन्न भएका चिरञ्जीवी मार्कण्डेय ऋषि श्री दुर्गा सप्तशतीका प्रथम वाचक र प्रमुख साधक हुन्। मृकण्डुका पुत्र भएका कारण नै उनलाई मार्कण्डेय भनिएको हो। यिनी महान् ज्ञानी, योगी, तपस्वी र अति उत्तम भक्त थिए। दिव्य ज्ञानले परिपूर्ण यिनी अष्ट चिरञ्जीवीमध्ये एक हुन्। जो सदा २५ वर्षीय युवा स्वरूपमा प्रतीत हुन्छन्। महाभारत वन पर्वको १८३÷४२–४३ मा भनिएको छ, ‘अजरश्चामरश्चैव रूपौदार्यगुणान्वित : । व्यदृश्यत तथा युक्तो यथा स्यात् पञ्चविंशक : ।’

दुवै कथनहरूमा तपस्चर्या, अभिवादनशीलता, सेवाभाव, विनयभावजस्ता सद्गुणकै कारण दीर्घायु, सद्विद्या, यश प्राप्त गर्न सफल भएका हुन् भन्ने मूलभाव रहेको छ। यी सबै गुण शिव र शक्तिको उपसनाले नै उनले प्राप्त गरेका थिए। यस विषयमा प्रचलित कथा संक्षिप्त रूपमा यस प्रकार रहेको छ  : –
मार्कण्डेय ऋषि सोह्र वर्ष पुगेपछि जब यमदूतसहित यमराज आएका थिए, त्यसै बखत उनले मृत्युञ्जयका रूपमा आराधना गरिरहेको शिवलिंगबाट स्वयं शिवजी प्रकट भई यमराजलाई भनेका थिए कि यी मेरा भक्त मार्कण्डेय सोह्र वर्षमात्र बाँच्ने सत्य हो तर त्यो आयु मानवको हैन मेरो हुनेछ।’ यसपछि शिवजीले मार्कण्डेय ऋषिलाई भने ‘त्रिभुवनको सार आदिमायाको सेवा गरेर उनलाई प्रसन्न गर, तिमी सधैं बाँच्नेछौं।’ ब्रह्मदेवबाट पनि पूर्वकालमा उनले देवीको बारेमा धेरै कथा सुनेका थिए। शिवजीको आदेशबमोजिम ऋषि मार्कण्डेय त्रिभुवनको सार आदिमायाको सेवा गर्ने अधिकार र ज्ञानका लागि भगवान् नरनारायणको आराधना गर्न थाले। उनले आफ्नो चित्तलाई सबैतिरबाट हटाई केवल भगवान्मा लगाई ध्यान गर्न थाले।

यसरी ध्यान गर्दा छ मन्वन्तर बित्यो। उनी वितराग भई तपस्यामा भाव निमग्न भए। काम, क्रोध, लोभ, मोहजस्ता विकार र भोग मुक्तिजस्ता लालसा कुनैलाई पनि हृदयमा स्थान नदिई निश्छल भक्तिले तपस्यारत भएकोदेखि श्री हरि नरनारायण रूपमा प्रकट हुनुभयो। यसरी श्रीहरिलाई आमुन्ने देखेर श्री चरणमा साष्टांग दण्डवत प्रणाम गरी स्तुति गर्न लागे। भगवान्ले प्रसन्न भई वर माग भन्नुभयो। मुनिले भन्नुभयो हे प्रभो ! हजुरका श्री चरणको दर्शन हुनु नै प्राणीका लागि परम पुरुषार्थ हो। मेरा लागि अब पाउन बाँकी के नै छ र ? तथापि मेरो एक इच्छा छ कि हजुरको जुन मायाका कारण सत् वस्तु असत् र असत् वस्तु सत् हुन्छ।

ज्ञानमा भ्रम र भेदयुक्त प्रतीत हुन्छ, म तिनै मायाको दर्शन गर्न चाहन्छु। यति सुन्ने बित्तिकै भगवान्ले पनि ‘एवमस्तु’ भनी योगज समाधिमार्फत महाप्रलयदेखि अनन्त आकाशसम्म दर्शन गराई दिनुभयो। शुद्ध सात्विक, ऐकान्तिक, एकाग्र बुद्धि भएका चिरचञ्चल चित्त र इन्द्रियलाई वशीभूत गरेका महामुनि मार्कण्डेयको अन्त : स्करणमा स्थित हृदयकमलका पत्रहरूमा विज्ञानरूपी मायातत्व विज्ञान अविर्भाव भयो। सरल रूपमा भन्ने हो भने वेद, उपनिषद् पुराण, तन्त्रलगायतका शास्त्रहरूमा माहुरीको मह झैं सञ्चित यस मायातत्त्व विज्ञानको सार श्री दुर्गा सप्तशती मार्कण्डेयको हृदयमा अविर्भुत हुन पुग्यो। मायातत्त्व विज्ञानलाई बुझ्ने, व्याख्या गर्ने, साररूपमा परिभाषित गर्ने र प्रयोग गर्ने विधि नै सप्तशती प्रयोग हो।

तत्पश्चात उनले ‘सप्तशती’ ग्रन्थको वाचन र साधना गरे। श्री दुर्गा सप्तशतीको वाचन र साधना गरिसकेपछि कैलाशमा शिव–पार्वतीसमक्ष उनले आफ्नो साधना अर्पण गरे। माता पार्वतीले खुसी भै सप्तशृंग पहाडमा ‘सप्तशती’ ग्रन्थको वाचन गरेर सुनाउने आग्रह गरेबमोजिम मार्कण्डेयले सप्तशृंग पहाडको टाकुरोमा बसी साधना गरे त्यही माता आउनुभयो। उहाँले मातृभावमा सप्तशती पाठ सुन्नु भयो। सप्त श्रृंगमा माताले पाठ सुनिसकेपछि चन्द्रमा र सूर्य रहुन्जेल जसले मेरो पूजा–आराधना सप्तशतीको प्रयोगबाट गर्छ। सबै दु : खबाट मुक्ति र सुख मिल्छ भनी आशीर्वाद दिनुभयो। यो घटनापछि नै शप्तसती लोक कल्याणका लागि पृथ्वीमा जनसाधारणका लागि पनि प्राप्य हुन पुग्यो।

मायातत्त्व विज्ञानको सनातन वैदिक हिन्दु परम्परामा महत्त्वपूर्ण स्थान रहेको छ। मायातत्त्व परब्रह्मको शक्ति हो। परब्रह्मको अचिन्त्य मायाशक्ति नै योगमायाशक्ति, जीवमायाशक्ति र जगत्मायाशक्ति हो। यी तिनै मायाशक्ति एक हुन् तर पनि तिन झैं प्रतीत हुन्छन्। योगमायालाई अन्तरंगा शक्ति, स्वरूपशक्ति तथा सर्व श्रेष्ठ शक्ति मानिन्छ। यही शक्ति नै परब्रह्मको निजी शक्ति पनि हो।

जीवमाया शक्तिबाट जीवहरूको सृष्टि र जगत्मायाबाट अनन्तकोटि ब्रह्माण्ड सृष्टि हुन्छ। यो विज्ञान पनि हो, दर्शन पनि हो। सृष्टिको गहन र गम्भीर रहस्य ढाक्ने क्षमता भएकी पर र अपरभन्दा पर रहने परमेश्वरीको सर्वोत्कृष्ट सेवामा प्रयोग हुने सरल सुलभ ग्रन्थ ‘दुर्गासप्तशती’ हो। यो ग्रन्थको महिमा अवर्णनीय नै छ। यसको सदुपयोग गरौं, लोक कल्याणका लागि साधना गरौं !


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.