दशैंमा खसी बोका बिक्रीबाट ६ करोड भित्र्याए पाल्पाली महिलाले
तानसेन : पाल्पाका महिलाले खसी बोका बेचेर दशैंका लागि लाखौं रुपैयाँ कमाएका छन् । खसी बोकाबाट प्रशस्त आम्दानी भएपछि पाल्पाका महिलाका लागि दशैं मनाउन खर्चको अभाव छैन । हुनेखानेको नेपालीको घरमा दशैंमा एउटा खसीबोका काटेर मासु खाने प्रचलन छ। यही परम्परालाई ध्यानमा राख्दै पाल्पाली महिला उधमीहरूले चार हजार खसीबोका बिक्री गरेर ६ करोड रुपैयाँ गाउँमा भित्राएका छन् ।
निस्दी गाउँपालिका वडा नं.५ गल्धाकी दरिसरा जर्घाले यसपटकको दशैंमा ५ वटा खसीबोका बिक्री गरेर ९५ हजार ४० रुपैयाँ आम्दानी गरेकी छन् । खसी बोकाको आम्दानीले दशैंजस्ता चाडपर्व मात्रै नभइ अन्य घरखर्च चलाउँदै आएको जर्घाले बताइन् ।
गल्घाकै रिन कुमारी राईले पनि दशैंको समयमा गाउँमै तौलिएर ५ वटा खसीबोका बिक्री गरी ९९ हजार ६ सय ३० रुपैयाँ आम्दानी गरेकी छन् । आफ्नो प्रमुख आम्दानी नै बाख्रा पालन भएको र वर्षमा एक दुई लाख रुपैयाँ खसी बोका बिक्री गरेर आम्दानी गर्दै आएको राईले बताइन् ।
वर्षौदेखि नै दशैं तिहारजस्ता चाडपर्वमा खसी बोका बेचेर नै मनाउँदै आएको राईले बताइन् । दशैंका लागि स्वाबलम्वन सामाजिक उधमी महिला सहकारी संस्था निस्दी ४ पाल्पाले २ सय ५० खसीबोका बिक्रीबाट ३३ लाख रुपैयाँ,गल्धा सामाजिक उधमी महिला सहकारी संस्थाले निस्दी ५ गल्धाले ५ सयवटा खसी बोका बिक्रीबाट ७५ लाख ४० हजार, जलदेवी सामाजिक उधमी महिला सहकारी संस्थाबाट ३ सय ५० खसीबोका बिक्रीबाट ४७ लाख रुपैयाँ,मनकामना सामाजिक उधमी महिला सहकारी संस्था पूर्वखोला १ सिलुवाबाट ४ सय खसीबोका बिक्रीबाट ५४ लाख रुपैयाँ २८० वटा, उपहार सामुदायिक उधमी महिला सहकारी संस्था रम्भा २ फोक्सिङकोटले ४ सय खसीबोका बिक्रीबाट ५६ लाख ६० हजार रुपैयाँ आम्दानी गरेका छन् ।
मिलनसार सामुदायिक उधमी महिला सहकारी संस्था तानसेन १३ बौघापोखराथोकल ३ सय ५० खसी बोका बिक्रीबाट ५४ लाख ६० हजार, खानीछाप सामुदायिक उधमी महिला सहकारी संस्था बगनासकाली ४ खानीछापले २ सय ५० वटा खसी बोका बिक्रिबाट ३४ लाख २० हजार, शुभसन्देश कृषि तथा पशु विकास महिला सहकारी संस्था पुर्वखोला २ जल्पाले २ सय ५० वटा खसी बोका बिक्रीबाट ३४ लाख रुपैयाँ आम्दानी गरेका छन् । पाल्पामा खसी बोकाको कारोवार गर्दै आएका १४ वटा सहकारीहरूले वार्षिक रुपमा १२ हजारसम्म र दशैमा मात्र ४ हजार खसी बोका बिक्री गर्ने गरेका छन्।
दशैं- तिहार जस्ता चाडपर्वमा भारतीय बजारबाट खसी बोका भित्रिने गरेपनि केहि वर्षयता पाल्पामा खसी बोका खरिद गर्न बुटवल भैरहवा,नारायाणघाट, पोखरा, विरगंजसम्मका व्यापारीहरू पुग्ने गरेका छन् । महिलाले उत्पादन गरेका खसी बोकाहर व्यापारीहरूले सहकारीमार्फत खरिद गर्दै आएका छन् ।
गाउँगाउँमा स्वरोजगार बढाउन, पशुपालनमा वृद्धि गर्न रम्भा गाउँपालिकाले खसी बोका पालन गर्ने किसानलाई प्रोत्साहनस्वरुप प्रति केजी २५ रुपैयाँ अनुदान दिँदै आएको छ । रम्भाले वडा नंं २ फोक्सिङकोट लाई बाख्रा पकेट क्षेत्रको रुपमा घोषणा गरी कार्यक्रम गर्दै आएको पालिका अध्यक्ष विष्णु प्रसाद भण्डारीले बताए ।
गाउँगाउँमा महिला उपभोक्तालाई संगठित गर्ने, समूह बनाउने र समूहलाई सहकारीमा जोडी उनीहरूको बजारसँग जोड्ने प्रविधि,सीप सहयोग गर्ने, उधमी बन्नका लागि आवश्यक पर्ने सहुलियत ऋणको लागि हेफर इन्टरनेशनल नेपालले सहयोग गर्दै आएको संस्थाका कार्यक्रम अधिकृत शोभाखर न्यौपानेले बताए ।
महिला सचेतीकरणको कारण गाउँगाउँमा महिला उधमीहरू विचौलियबाट ठगिनबाट बच्दै बजारमुल्य अनुसार खसी बोका बिक्री गर्न पाएका छन। हेफरले पाल्पामा विभिन्न १५ वटा सामाजिक उद्यमी महिला सहकारी संस्थामार्फत ३४४ वटा समूहका ६ हजार ९ सय ७३ घरपरिवारमा उत्पादनलाई बजारसँग जोड्ने, आधुनिक प्रविधि तथा सिपको बारेमा जानकारी गराउने,व्यवसायका लागि आवश्यक पुँजी सहयोग गर्दै आएको छ ।
५ वर्षअघिसम्म पाल्पामा भारतीय खसी बोकाको व्यापार राम्रो थियो । तानसेन बजारमा भारतीय बजारबाट आएका खसी बोकाको मासु बिक्री हुन्थ्यो । केही वर्षदेखि नै पाल्पा मासु खसी बोकाको मासुमा आत्मनिर्भर भएको छ । अहिले तानसेनका मासु पसलमा स्थानीय खसी बोकाको मासु बिक्रीहुँदै आएको छ । दशैंमा मासुको अत्याधिक खपत हुने भएकाले अधिकांश उपभोक्ताले स्थानीय जिउँदो खसी नै खरिद गर्दै आएका छन्।