नौरथाको अन्तर्य

नवदुर्गा आराधना

नौरथाको अन्तर्य

दसैं पर्वलाई विजयादशमी भनिन्छ। यो दिन देवीले दानवीय दुष्प्रवृत्तिामाथि विजय गरी दानवमाथि पनि सद्भाव कायम गरेको विजयोत्सव हो।

नवरात्र  :  देवीको आराधना रात्रिमा विशेष फलदायी हुन्छ भन्ने मान्यता रहेकाले आश्विन शुक्ल र चैत्रशुक्ल प्रतिपदादेखि नवमीसम्मका नौरात्रि पराम्बा दुर्गाका नौवटा विशिष्ट रूपको विशेष पूजा आराधना गरी अटल श्रद्धाभक्तिसाथ मनाइने यो पर्वविशेषलाई नवरात्र वा नौरथा पर्व पनि भनियो।

वैदिक सनातनी परम्परामा चैत्र शुक्ल, आषाढ शुक्ल, आश्विन शुक्ल र माघ शुक्ल गरी एक वर्ष चक्रभित्र चारवटा नवरात्र पर्छन्। तीमध्ये आश्विन शुक्ल प्रतिपदा र चैत्र शुक्ल प्रतिपदादेखि दशमीसम्मका दुईवटा पर्व दसैं नामले बढी प्रसिद्ध छन्। चैत्र शुक्लको दश दिने पर्व चैते दसैं र आश्विन शुक्ल प्रतिपदादेखि कोजाग्रत पूर्णिमासम्मको पर्वलाई बडादसैं भनिन्छ। वासन्ती चैतेदसैं र शारदीय बडादसैं महान् पर्व हुन्।

बडादसैं भित्रका विशेष कृत्य नवदुर्गा उपासना  : 

बडा दसैंअन्तर्गत आश्विन शुक्ल प्रतिपदा र सप्तमीदेखि दशमीसम्मका पाँच दिन विशेष हर्षोल्लासले मनाइने धार्मिक सांस्कृतिक कृत्य हुन्। प्रतिपदाका दिन घर लिपपोत गरी नदी वा पवित्र ठाउँबाट ल्याएको बालुवाको बेदी बनाएर मन्त्रविधिपूर्वक जौलगायत सप्तधान्य छरी जमरा राखिन्छ। दीप, कलश र गणेशको विधिवत् पूजापछि वेदीमाथि तामा वा माटाको घडा स्थापना गरेर घडामा गाईको गोबर टाँसेर रेखा बनाई औषधितत्वयुक्त जौ टाँसिन्छ।

तामाको थालीमा देवीप्रतिमा राखी दैवीशक्तिपुञ्ज महाकाली, महालक्ष्मी र महासरस्वतीका प्रतीक नौ स्वरूपा नवदुर्गाको प्राणप्रतिष्ठा गरेर विधिवत् घटस्थापना गरिन्छ। देवीशक्तिको पूजा आराधना, स्तुतिपाठ, जप र ध्यानको प्रारम्भ गर्ने यो दिन दसैंको पहिलो कृत्य हो। नवरात्रबाट सम्बोधित दसैंको यो पहिलो दिन शैलपुत्री स्वरूपा देवीको उपासना गरिन्छ। दोस्रो दिनदेखि नवौं दिनसम्म क्रमश :  ब्रह्चारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिदातृ स्वरूपा देवीको पूजा आराधना गरिन्छ। देवीका नौ स्वरूपलाई सप्तशती चण्डीले भनेको छ  : 
प्रथमं शैलपुत्री च द्वितीयं ब्रह्मचारिणी।
तृतीयं चन्द्रद्धण्टेति कुष्माण्डेति चतुर्थकम्।।
पञ्चमं स्कन्दमातेति षष्ठं कात्यायनीति च।
सप्तमं कालरात्रीति महागौरीति चाष्टमम्।।
नवमं सिद्धिदातृ च नवदुर्गा प्रकीर्तिता।।।

क्रिया, कृपा र ज्ञानशक्तिकी त्रिवेणी योगमाया महाकाली, महालक्ष्मी र महासरस्वतीको उपासना गर्ने निर्देश चण्डीमा छ। पहिलो दिन गरिने पूजा। शैल (हिमालय) पुत्रीका रूपमा प्रादुर्भाव भएकी भगवती शैलपुत्रीको रूपलाई –
पद्यहस्तां शूलधरां,वृषभवाहनीम्।
अर्धचन्द्रयुतां मुकुटधरां शैलपुत्री स्वरूपाम्।
भनी स्तुति गर्नु पर्छ। जसको भावार्थ कमलको फूल र त्रिशूल लिएर साँढेमाथि चढेकी, अर्धचन्द्रयुक्त मुकुट धारण गरेकी देवी भन्ने हुन्छ। दोस्रो दिन ब्रह्मचारिणीको रूपमा प्रादुर्भाव भगवतीलाई –
श्वेताम्बर परिधानां कमलदल भूषणाम्।
अक्षमाला कमण्डलुधरां ज्योतिर्मय स्वरूपाम्।।
अक्षयफल वरदायिनीं विजयशालिनी स्वरुपिणीम्।

सर्वसिद्धि प्रदे देवी ब्रह्मचारिणी नमाऽेस्तुते।।भनी स्तुति गरिन्छ। यसको भाव सेतो वस्त्र लाएर कमलको फूलको गहनाले सजिएकी, जपमाला र कमन्डलु धारणसाथ ज्योतिर्मय रूपकी, अविनाशी, अक्षय वरदान दिने, विजयशालिनी रूपवती देवी सिद्धिबुद्धि र वरदातृलाई नमस्कार भन्ने हुन्छ। चन्द्रघण्टाको रूपमा प्रादुर्भाव भगवती स्वरूपलाई –
पिण्डजप्रवरारुढा चण्डकोपास्त्रकैर्युता।
प्रसादं तनुते मह्यम् चन्द्रघण्टेति विश्रुता।।

भनी चित्रण गरिएको पाइन्छ। जसको भाव मस्तकमा खुर्पेचन्द्रयुक्त घण्टाको मुकुट लाएकी, सिंहवाहिनी, स्वर्णमय पवित्र शरीर भएकी, दश हातमा चम्किला अस्त्रशस्त्र धारण गरी शत्रु तथा दुषित तत्त्वलाई परास्त गरी भक्तलाई सदैव रक्षा गर्ने भगवती भन्ने हुन्छ। चौथो दिन कुष्माण्डाका नामले प्रादुर्भाव भगवतीको स्वरूपलाई –
सुरासम्पूर्णकलशं रुधिराप्लुतमेव च।
दधाना हस्तपद्याभ्यां कूष्माण्डा शुभदास्तु मे।।

भनिएको छ। हातहरूमा कमण्डलु, धनुष, वाण, कमलको फूल, अमृतकलश, चक्र, गदा लिएर सर्वसिद्धि प्रदाता जपमालाधारी, सिंहवाहिनी, अष्टभुजा भगवती भन्ने हुन्छ। पाँचौं दिनकी स्कन्दमाता स्वरूपा भगवतीलाई –
सिंहासनगता नित्यं पद्याश्रितकरद्वया।
शुभदास्तु सदा देवी स्कन्दमाता यशस्विनी।।

भनिएको छ। सिंहमा सवार भई पद्यासनमा बसी दुई हातमा कमलका फूल लिएकी, कार्तिकेयकी आमा, कल्याणकी खानी, चतुर्भुजा भगवतीले कल्याण गरुन् भन्ने यसको भाव हो। छैठौं दिन उपासना गरिने कात्यायनीको स्वरूपलाई –
चन्द्रहासोज्जलकरा शार्दूलवरवाहना।
कात्यायनी शुभं दद्याद्देवी दानवघातिनी।।

भनिएको छ। उज्ज्वल स्वरूप, मन्दमुस्कान, सबै हात उठाएकी, श्रेष्ठ सिंहवाहिनी, देवशत्रु संहारिणी, चतुर्भुजा कात्यायनीले कल्याण गरुन् भन्ने भाव हो। सातौं दिन उपासना गरिने कालरात्रि स्वरूपा देवीलाई 
एकवेणी जपाकर्णपूरा नग्ना खरास्थिता।
लम्बोष्ठी कर्णिकाकर्णी तैलाभ्यक्त शरीरिणी।।
वामपादोलसत्लोहलताकण्टकभूषणा।
वर्धमूर्धध्वजा कृष्णा कालरात्रि भयंकरी।।

भनिएको छ। जसको भाव गाढा कृष्णवर्णको मनोहर रूप, छरिएको कपाल, अल्पवस्रको पहिरन, गधामाथि चढेकी, लामा ओठ, शरीरभरि तेल घसेकी, गलामा चम्किलो वरमाला लगाएकी, दुई हात माथि र दुई हात तल राखी वरमुद्रा, अभयमुद्रा, त्रिशूल र खड्गधारी कालरात्रि देवी भन्ने हो। आठौं दिन उपासना गरिने दुर्गाको महागौरी स्वरूपलाई –
श्वेते वृषे समारुढा श्वेताम्बरधरा शुचि : ।
महागौरी शुभं दद्यान्महादेव प्रमोददा।।

भनिएको छ। पवित्र सेतो वस्त्र र गहना लाएर सेतो साँढेमाथि चढेकी, महादेवलाई आमोदप्रमोदले खुसी पार्ने चतुर्भुजा भगवती भक्तकल्याणकारिणी भन्ने यसको भाव हो। दुर्गाको नवौं सिद्धिदातृ स्वरूपलाई –
सिद्धगन्धर्वयक्षाद्यैरसुरैरमरैरपि।
सेव्यमाना सदा भूयात् सिद्धिदा सिद्धिदायिनी।।

भनिएको छ। यसको भाव सिद्ध, गन्धर्व, यक्ष, राक्षस र देवताहरूले पनि सेवा र स्तुति गरिएकी, सिद्धिप्रदाता, सिंहवाहिनी, कमलपुष्पासनी, चतुर्भुजा, सिद्धिदातृ भगवती कल्याणकारी बनून् भन्ने हो।

निष्कर्ष  :  नौ दिनसम्म भगवती दुर्गाका पृथक् नौ रूपको पूजा, आराधना गरिने नवरात्र अवधिका सप्तमीमा बेलपत्रलगायतका नौ वा सोभन्दा बढी विभिन्न फूल÷वनस्पतिहरू संकलन गरी फूलपाती भित्र्याउने काम गरिन्छ। अष्टमीलाई महाअष्टमी पर्व मानी महाकाली शक्तिको पूजा–आराधनासाथ विशेष बलि दिएर देवीका शस्त्रअस्त्र तथा हातहतियारको पूजा हुन्छ। आठ दिनसम्म कन्याकुमारीको पूजा नगरिएको भए महानवमीमा २ वर्षदेखि १० वर्षसम्मका नौवटी कन्या र वटुक भैरवको विशेष पूजा गर्ने गरिन्छ। दसौं दिन नियमित पूजा आराधना सकेर देवीदेवताको विधिवत् बिसर्जन गरी सो दिनलाई विजयादशमी मानेर नौरात्रिसम्म गरिएको शक्तिपूजाको प्रसाद परिवार र नाताकुटुम्ब भेला भएर मान्यजन तथा गुरुपुरोहितबाट लगाएर विशेष पर्वका रूपमा धूमधामसाथ मनाइन्छ।

असोज–कार्तिकमा पर्ने बडादसैं नेपालीको राष्ट्रिय सांस्कृतिक चाड हो, जसलाई हिन्दु धार्मिक, सांस्कृतिक पर्वका नामले विश्वले पनि चिन्छ। हाम्रा पूर्वज ऋषिमुनिहरूले मानवमात्रको सुख, शान्ति, सुस्वास्थ्य र दीर्घायुका लागि तय गरिएका बडादसैं लगायतका धार्मिक, सांस्कृतिक पर्वका कारण हामी भाग्यमानी मात्र नभएर पूर्वजहरूप्रति ऋणी पनि छौं। यी महान् पर्वले निर्देशन गरेका आचरण र साधनाको परिपालन गरी हाम्रो जीवनपद्धति चलाएमा जीवनमा सुख, शान्ति र सुस्वस्थ रही अन्त्यमा मोक्ष प्राप्त गर्ने सन्देश दिनु नौरथा वा नवरात्र पर्वको उद्देश्य हो। शरदकालीन पवित्र समयमा शक्तिपुञ्ज दुर्गा भवानीको पूजा आराधना गर्ने विधिविधान  श्रीमद्देवी भागवत र दुर्गा सप्तशती आदिले निर्दिष्ट गरेका छन्।

पुराणहरूमा उल्लेख भएअनुसार राजा रघु र भगवान् रामले पनि देवीको उपासना गरेर आसुरी शक्तिमाथि विजय गरेका अनुकरणीय कथाहरू पढ्न पाइन्छन्। बडादसैं आद्याशक्ति भवानीको आराधना गरी शरद ऋतुको प्राकृतिक माधुर्यलाई पनि आफ्ना जीवनमा भित्र्याएर सुखी र समृद्ध बन्ने÷बनाउने मुख्य पर्व पनि हो। कुबाटोमा हिँड्नेलाई दण्ड दिएको सम्झनामा मनाइने उत्सव भएकाले नवदुर्गाको पूजा शक्ति समाराधनाको महान् पर्व हो।

शक्ति वा प्रकृतिका अनेक नाम, रूप र गुण भेदले प्रसिद्ध नवरूपा देवीको नौरथामा उपासना गरी देवीको पाठ पारायण, ध्यान, जप, तप र यज्ञादि गरिन्छन्। मनुष्य मात्र त के देवतालाई पनि मोहबाट छुट्न शक्तिको आवश्यकता पर्ने हुँदा अज्ञानबाट मुक्तिका लागि शक्तिको सहयोग चाहिन्छ। हाम्रो धर्म, संस्कृति र परम्परामा शक्तिको अपरम्पार महत्त्व भएको कारण हाम्रो शरीरमा पनि शक्तिको अनिवार्य आवश्यकता हुने भएकाले नवरथा पर्वमा देवीका विविध स्वरूपको पूजा र उपासना गर्ने आदर्श परम्परा बसालिएको पाइन्छ। समयचक्रको एउटा कालखण्ड शारदीय ऋतुमा शक्ति उपासना र समाराधनालाई हाम्रो धर्म तथा संस्कृतिले बढी महत्त्व दिएको चुरो कुरो बुझ्न जरुरी छ। गुणवत्ताकै कारणले शरदकालले हाम्रो धर्म संस्कृतिमा अझ बढी महत्त्व पाएको हुँदा बडादसैंमा नवदुर्गाको महत्त्व बढेको हो।

आश्विन शुक्ल प्रतिपदादेखि आरम्भ हुने बडा दसैंमा प्रतिपदा तिथिका दिन जमरा राखी प्रारम्भ गरिएकी देवी शक्तिको आराधनाका क्रममा प्रतिपदादेखि दशमीसम्मका १० दिनमध्ये सप्तमी तिथिमा भित्र्याएका नवपत्रिका फूलपातीले महासरस्वतीको सात्विक स्वरूपको आराधना गरिन्छ। महाअष्टमी भगवती महाकाली रूप प्रकट भएको पर्वतिथि भएकाले राजसी विशेष पूजा गरिन्छ। पौराणिक साहित्यमा भवानीलाई भवरोगनाशिनी अर्थात् रोग, शोक, भोक, महामारी, दु : ख, दारिद्रयबाट छुटाउने शक्ति भनिएको छ। यस दिन महालक्ष्मीको पूजा गरी खड्ग स्थापना गरेर अष्टादश भुजा  भगवतीको विशेष पूजा गरेर राति गुप्तपूजा पनि गरिन्छ। देवीका शस्त्रअस्त्र विशेष हातहतियारलाई कालीको रूप मानी पूजा पनि यसै दिन हुन्छ।

नवमी तिथि महानवमी पर्वको दिन हो। यो दिन देवीको मोहिनी रूपको पूजा हुन्छ। शुम्भ निशुम्भको बधको बेला भागेर गएका दैत्य रांगा, बोका, आदि पशुपक्षीमा राक्षस प्रवेश गरेको देखेर देवीले पशुपक्षीलाई खोजीखोजी बलि दिएको सम्झनामा बलि दिने चलन छ। देवीले मोहिनी रूप धारण गरी दानव बध गरेकाले नवमीलाई मोहिनी भनिएको हो। कुमारी पूजा पनि यसै दिन हुन्छ। नवमी तिथि देवीको नवौं स्वरूप सिद्धिदातृको पूजा पर्व हो।

दसैंंको विशेष दिन दशौं दिन हो, जसका नामबाट दसैं पर्वलाई विजयादशमी भनिन्छ। यो दिन देवीले दानवीय दुष्प्रवृत्तिमाथि विजय गरी दानवमाथि सद्भाव कायम गरेको विजयोत्सव हो। जसलाई स्वीकारी घरका मान्यजनबाट दुबोसहितका पहेंला जमरा र विजयको प्रतीक रातो टीका देवीको 
प्रसाद लगाएर आशीर्वाद ग्रहण गरिन्छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.