गोरखाको उपहार फूलपातीसँगै जाजरकोट दरबारमा भित्र्याइयो

गोरखाको उपहार फूलपातीसँगै जाजरकोट दरबारमा भित्र्याइयो
२५६ वर्षअघि पृथ्वीनारायण शाहले दिएको खड्ग फुलपातीसँगै जाजरकोट दरबारमा भित्र्याइँदै । तस्बिर : राजेन्द्र कार्की

जाजरकोट : तत्कालिन गोरखा राज्यका राजा पृथ्वी नारायण शाहले नेपाल एकीकरण अभियानका सिलसिलामा दुईसय ५६ वर्षअघि जाजरकोट राज्यलाई उपहारस्वरुप दिएको खड्ग अर्थात् तरवार बडा दशैंको फूलपातीको अवसर पारेर शक्तिको प्रतिकको रुपमा जाजरकोट दरवारमा भित्र्याइएको छ।

वडादशैंका अवसरमा फूलपाती भित्र्याउने कार्यक्रम अनुसार तत्कालिन जाजरकोट राज्यको शक्तिको प्रतिकको रुपमा रहेको उक्त खड्ग बिहीबार जाजरकोटको पुरानो सदरमुकाम जगतिपुरबाट जाजरकोट दरवारमा भित्र्याइएको हो । 

सरकारी कर्मचारी, सुरक्षाकर्मी र स्थानीयहरूको व्यापक सहभागितामा शंख ध्वनी र बाजागाजासहित भेरी नगरपालिका -४ गैरीखालीमा पुजाआजा र सलामी दिएर मंगलबार विहान उक्त खड्गलाई जाजरकोट दरवार लगिएको थियो । बोकाको बली दिएर प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले विधि पूर्वक पुजाआजा गरेर दरबारमा फूलपाती र खडग भित्र्याएका हुन् । सो अवसरमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले संयुक्त सलामी दिएका थिए ।

null

विक्रम सम्वत १८२५ माघ ५ गते काँसीको मणिकर्णिकाघाटमा गोरखाका राजा पृथ्वीनारायण शाहले तत्कालिन जाजरकोटी राजा हरि शाहसँग नेपाल एकीकरण अभियान सफल पार्ने उद्देश्यले धर्मसन्धी गर्दै उक्त खड्ग ( तरवार ) जाजरकोट राज्यलाई उपहारस्वरुप दिएका थिए ।

दुई राज्यका बीचमा एक अर्कालाई सहयोग गर्ने सम्झौता गर्दै दुवै राजाले मितेरी साइनो गाँसेर उपहार साटासाट गर्ने क्रममा उक्त खड्ग जाजरकोटी राजालाई दिइएको जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानका अध्यक्ष जनक केसीले बताए । 

उनले झन्डै ७ सय वर्षअघि स्थापना भएको जाजरकोट राज्यको सुरुको राजधानी जगतिपुरमा राखिएको उक्त खड्ग अर्थात तरवार १८५२ सालमा अहिलेको सदरमुकाम खलंगामा राजधानी सारिएपछि दशैंको फूलपातीका दिन विशेष पुजाआजासहित जगतिपुरबाट खलंगा दरवारमा ल्याउने परम्परा सुरू भएको बताए ।

फुलपातीका दिन विशेष पुजाआजा सहित बली दिएर जाजरकोट दरबारमा रहेको जमारा घरमा उक्त खड्ग भित्र्याउने परम्परा रहेको छ । जाजरकोट दरबारमा हाल जिल्ला प्रशासन कार्यालय रहेको छ । पहिला राजाले गर्ने खड्ग पुजा २०१८ साल पछि प्रमुख जिल्ला अधिकारीले गदै आएका छन् । जाजरकोटलाई केन्द्रविन्दु बनाएर गत बर्ष गएको भूकम्पले दरबारमा क्षति पुर्या‍एपछि त्रिपालले ढाकेर राखिएको छ । त्यही क्षतिग्रस्त दरबारमा विधिपूर्वक शक्तिको प्रतिक खड्ग भित्र्याइएको हो ।


जगतिपुरमा रहेको राजा र देवताको शक्तिलाई विस्तारै खलंगास्थित दरवारमा सार्ने उद्देश्यले प्रत्यक वर्ष फूलपातीका दिन पुजाआजासहित उक्त खड्गलाई खर्के देउताको रुपमा पुज्ने गरेको भेरी नगरपालिका- ४ का खम्बजंग शाहले बताए ।

 फुलपातीका दिन जाजरकोट दरवारमा भित्र्याइएको उक्त खड्गलाई दशैंको फूलपाती अर्थात सप्तमी, महाअस्टमी, महानवमी र विजयादशीमीको दिन सम्म पन्चे वाचाको ध्वनीका साथ बोका, रांगाको बली दिएर भव्य रुपमा पुजाआजा गरि दशमीकै दिन टीका लगाइसकेपछि जगतिपुरमै फर्काउने परम्परा रहेपनि मुलुकको १० वर्षे माओवादी द्वन्दवका क्रममा असुरक्षाका कारण उक्त खड्ग २०५८ देखि जिल्ला प्रहरी कार्यालयको परिसरमै रहेको कालिका मन्दिरमै राख्ने गरिएको थियो । 

यस वर्षदेखि पुरानै परम्परा अनुसार जगतिपुरबाट खड्ग जाजरकोट दरबारमा भित्र्याइएको प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले बताए । जाजरकोट राज्यको उत्पति र खड्ग सुरुमा राखिएको मन्दिरको गरिमा र महत्व जोगाउनका लागि उक्त खड्गलाई जगतिपुरमै राख्ने पुरानै परम्पराको निरन्तरता दिने काम भएको प्रजिअ अधिकारीले बताए । 

 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.