ऋतुअनुसार मनाइने ती चार दसैं
दशमीको दिन जया, विजयासहित अपराजिता पूजन, शमी वृक्ष पूजन, सीमाल्लंघन आदि विधानको पालनबारे धर्मसिन्धुमा र अन्य शास्त्रमा उल्लेख छ।
‘जय जय भगवती ! जय जय दुर्गे ! जय जय काली कल्याणी !
कुनै कालको पहिलो युगमा देवहरूले दु : ख पाई
माई ! तिम्रो दर्शनलाई।’
यसरी दसैंमा भगवती दुर्गाको स्तुति, आराधना गरिन्छ। देवीलाई प्रसन्न पार्दै, शक्ति आर्जन गरेर हर्षोल्लाससँग परिवारका सदस्य सँगसँगै बसेर दसैं पर्व मनाइन्छ। दसैंमा देवीको यन्त्र, चित्र, पूर्ण कलश, प्रतिमा, हातहतियार र पुस्तकको स्वरूपमा पूजा–आराधना गरिन्छ। सनातन धर्मावलम्बीहरूको घरमा चण्डी र रामायण दुवै ग्रन्थ पाठ र पूजन गरिन्छ। सनातन धर्मावलम्बीको प्रमुख चाड हो दसैं।
प्राचीन समयमा चार पल्टसम्म दसैं मनाउने चलन थियो। ऋतुअनुसार चार पल्ट वसन्त, गृष्म, शिशिर र शारदीय ऋतुमा दसैं मनाउँदा चैत्र, असार, असोज र पुस महिना पर्छ। हिजोआज भने वसन्त ऋतुमा पर्ने चैतेदसैं र शरद ऋतुको असोज महिनामा पर्ने शारदीय दसैं मनाउँदै आइएको छ। चैते दसैंमा भने जमरा राख्ने र मान्यजनको हातबाट टीका थाप्ने चलन छैन। देवीको पूजा र पाठ भने गरिन्छ। दसैंमा सेतो, पहेंलो, रातो र कालो (मोहनी) रंगको टीका भगवतीलाई अर्पण गरेर ललाटमा धारण गर्ने प्रचलन छ।
दुर्गादेवीका विभिन्न प्रतिमाहरू : ब्रह्माले मार्कण्डेयलाई नवदुर्गा देवीहरूको नाम स्मरण गराएको उल्लेख चण्डीको दुर्गाकवचमा छ। चण्डीमा नवदुर्गाका नामसँगै देवीले आवश्यकताअनुसार विभिन्न स्वरूपमा आएर आफ्ना भक्तजनको उद्धार गरेको वर्णन छ। खानाको अभाव भएको बेला संसारको भरणपोषण गर्न शाकम्भरी अर्थात् सागको स्वरूपमा आएर प्राणीहरूको रक्षा गर्ने उल्लेख चण्डीमा छ। स्त्री शक्तिको विराट स्वरूपसँगै ममतामयी आमा र रौद्र स्वरूपकी काली, चामुण्डा र महिषमर्दिनीलाई दसैंमा पुजिन्छ।
देवीका रौद्र र सौम्य दुबै स्वरूपका मूर्तिहरू पुज्ने प्रचलन छ। दसैंमा पार्वती माताका विभिन्न नौ वटा स्वरूपको समग्र वा छुट्टाछुट्टै स्वरूपको प्रतिमा तयार गरेर पुज्ने चलन छ। पीठ र देवीका स्थायी प्रतिमाहरू भएका मन्दिरमा पशुपक्षी र तरकारीको समेत बलि दिने चलन छ। चण्डी पुस्तकमा नवदुर्गाको रूपमा शैलपुत्री, ब्रह्मचारिणी, चन्द्र घण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी, सिद्धिदात्री मातालाई सम्बोधन गरिएको छ। देवीका नामहरू शास्त्र र पूजा परम्परामा फरकफरक छन्।
काठमाडौं उपत्यकामा अष्टमातृका, ब्रह्मचारिणी, माहेश्वरी, कौमारी, वैष्णवी, बाराही, इन्द्रायणी, महाकाली, महालक्ष्मीलाई पुज्दै त्रिपुरासुन्दरी समावेश गरेर नवदुर्गा भनेर पूजा अर्पण गर्दै बलि चढाइन्छ। डोटी क्षेत्रमा सप्तमातृकाको स्वरूपमा कीर्ति, लक्ष्मी, धृति, मेधा, स्वहा, प्रज्ञा र सरस्वतीको नाम उच्चारण गरिन्छ। श्री दुर्गा सप्तशती चण्डीमा देवीले विभिन्न स्वरूपमा विविध आयुधद्वारा असुरहरूको दमन गरेको वर्णन छ। माहेश्वरीले त्रिशूल, वैष्णवीले चक्र, कौमारीले शक्ति, वाराहीले तुण्डाग्र (थुतुनो) र दारा, नरसिंहिले नंग, ऐन्द्रीले वज्र आदि हातहतियार प्रयोग गरेर विभिन्न असुरहरूलाई दमन गरेर रक्तबिजको रगत कालीले पिएको वर्णन शास्त्रमा विस्तृत रूपमा आउँछ।
काली माताले रक्तबीजको रगत पिएपछि दाँत अनारको फूलजस्तै रातो रंगको देखियो र उनलाई रक्तदन्तिकाको नामले सम्बोधन गर्न थालियो। १८ वटा हात भएकी, विविध आयुध लिएकी, महिषको स्वरूपमा आएको असुरको छातीमा त्रिशूल रोपेको दृश्य अंकन गरिएको दुर्गाका प्रतिमाहरू दसैंमा पुज्ने चलन छ। विसं ५६० को विजयेश्वरी देवीको प्रतिमा पलाञ्चोकमा प्रतिष्ठा गरिएको छ। लिच्छवि राजा मानदेवको राज्यकालमा विजयस्वामिनीले भक्तिपूर्वक स्थापना गरेको विजयेश्वरी देवीको प्रतिमा आज विश्वकै उत्कृष्ट कलामा पर्छ। यी देवीलाई साक्षात् भगवतीको स्वरूपमा पुज्छन्।
श्री दुर्गा सप्तशती चण्डीमा उल्लेख भएका देवीहरूको स्वरूपको संक्षिप्त वर्णन यस प्रकार छ :
- १) शैलपुत्री, पर्वत अर्थात् हिमालयकी छोरीको मुहार शान्त स्वरूपको छ। उनको शिरमा अर्ध चन्द्र, हातमा कमल पुष्प र त्रिशूल छ। शैलपुत्रीको वाहन वृष हो।
- २) ब्रह्मचारिणी, नामबाटै यिनको स्वरूप र आभाको अनुमान गर्न सकिन्छ। यिनको दर्शन गर्नाले संयम, सदाचार र वैराग्यको वृद्धि हुने विश्वास छ। अक्षमाला र कमण्डलु लिएकी सौम्य स्वरूपकी यी देवीको आराधना दसैं प्रारम्भ भएको दोस्रो दिन गरिन्छ।
- ३) चन्द्रघण्टा, यी देवीको आराधना गरेमा साधकले मणिपुर चक्रको सिद्धि प्राप्त गर्छ भन्ने वर्णन शास्त्रमा पाइन्छ। वीरता र निर्भयता प्राप्त गर्न चन्द्र घण्टाको आराधना गरिन्छ। दस भुजा भएकी चन्द्र घण्टाको शिरमा घण्टी आकारको अर्धचन्द्र भएकाले नै यी देवीलाई चन्द्रघण्टा भनेर आराधना गरिन्छ। यिनको सम्पूर्ण शरीर सुन झैं चम्किलो छ।
- ४) कुष्माण्डा, अण्डस्वरूप ब्रह्माण्ड उत्पन्न गरेकीले यी देवीलाई कुष्माण्डा भनेर स्मरण, पूजन गरिन्छ। सौर्यमण्डलभित्रको लोकमा यिनको निवास छ। आठ भुजा भएकी यी देवीले कमण्डलु, धनुष, बाण, कमल पुष्प, अमृतपूर्ण कलश, चक्र, गदा, रक्तयुक्त पात्र धारण गर्छिन्।
- ५) स्कन्दमाता, बालक स्कन्द कुमारलाई दुवै हातले च्यापेर स्नेह, ममता दर्शाएको स्वरूपमा यिनलाई प्रस्तुत गरिन्छ। सिंहमा सवार स्कन्द माताका चार भुजामा वरद मुद्रा, कमलपुष्प राखिन्छ। ममताकी प्रतीक हुन् स्कन्दमाता।
- ६) कात्यायनी, चार भुजा भएकी यी देवी महर्षि कात्यायनको घरमा पुत्रीको रूपमा जन्मिएको वर्णन छ। धर्म, अर्थ, काम र मोक्ष चारै फल प्राप्त गर्न यी देवीको आराधना गरिन्छ। यिनले अभय र वरद् मुद्रा प्रदर्शन गरेर भक्तलाई नडराउने वरदान अहोरात्र प्रदान गर्छिन्।
- ७) कालरात्रि, गधामा चढेर यता–उता हिँड्ने यी देवीलाई कालरात्रि भनेर सम्बोधन गरिन्छ। यिनको पूजा आराधना मध्यरातमा गरिन्छ। यिनको डरलाग्दो स्वरूप हुन्छ।
- ८) महागौरी (श्वेताम्बरा), नवरथाको आठौं दिन महागौरीको स्मरण, पूजन र भजन गरिन्छ। डमरु, त्रिशूल धारण गरेकी महागौरीलाई सेतो वस्त्र र सेतै गहना धारण गरेर सेतै वृषमा सवार देखाइन्छ। दुर्गा माताको आठौं शक्तिको रूपमा महागौरीलाई विशेष पूजा गर्ने दिन अष्टमीमा होम गरेर विभिन्न पकवान मातालाई अर्पण गरिन्छ।
- ९) सिद्धिदात्री, नवौं दिन सिद्धिदात्री माताको पूजा आराधना गरिन्छ। कमलको फूलमा विराजित शंख, चक्र, गदा र कमल पुष्प नै हातमा धारण गरेकी यी देवीलाई बिभिन्न सिद्धि प्रदान गर्ने देवीको रूपमा स्मरण गरिन्छ।
अष्टमातृका (ब्रह्मायणी, माहेश्वरी, कौमारी, वैष्णबी, वाराही, इन्द्रायणी, महाकाली, महालक्ष्मी)मा त्रिपुरसुन्दरी समावेश गरेर नवदुर्गा स्वरूपमा पूजन गरिन्छ। डोटी क्षेत्रमा प्रचलित ज्युँती लोककला विविध संस्कार, पूजा र व्रतमा आजसम्म बनाउने प्रचलन छ। ज्युँतीमा बनाइने सप्तमातृकाका नामहरू चण्डिमा भन्दा फरक छ : – १) कीर्ति २) लक्ष्मी ३) धृति ४) मेधा ५) स्वहा ६) प्रज्ञा र ७) सरस्वतीको नाम स्मरण गर्दै चित्र कोरिन्छ। यसै गरेर नवदुर्गाको स्वरूपमा रुद्रचण्डा, प्रचण्डा, चण्डोग्रा, चण्डनायक, चण्डा, चण्डवती, चण्डरूपा, अतिचण्डिका र उग्रचण्डालाई पुज्ने चलन पनि छ।
भक्तपुरको उग्रचण्डादेवी : राजा भूपतिन्द्र मल्लले भक्तपुरको खौमा टोलमा उग्रचण्डादेवी र भैरवको प्रस्तर मूर्ति बनाउनलाई प्रतिष्ठा गरेका थिए। मूर्तिमा अभिलेख समेत भएकाले उग्रचण्डी र भैरव दुवै मूर्तिको विशेष महत्त्व छ। दुवै मूर्तिमा तिथिमिति एउटै छ। प्रस्तरको पद्यपीठको तल्लो भागमा लेखिएको अभिलेखको भाकाको सार यस प्रकार छ : –
‘नेसं ८२७ (विसं १७६४) वैशाख शुक्ल अक्षय तृतीया बुधबार रोहिणी नक्षत्र अतिगण्ड योग मेष राशिमा सूर्य, वृष राशिमा चन्द्रमा रहेको बेलामा श्री श्री जय भूपतिन्द्र मल्लदेवले श्री ३ उग्रचण्डा देवीको मूर्ति बनाउन लगाई प्रतिष्ठा गर्नुभयो।’ १८ वटा भुजा भएकी उग्रचण्डादेवीको दायाँ हातमा खड्ग, बाण, शंख, बज्र, अंकुश, त्रिशूल, डमरु र कपालपात्र छ भने देब्रे हातमा खटवाग, ढाल, धनु, गदा, पाश, असुरको कपालको मुठा, र बिन्दु मुद्रा प्रदर्शन गरिएको छ। मल्लकालको प्रस्तर कलाको यो बेजोड नमुुना हो। पण्डालमा नयाँ मूर्ति बनाएर नदीमा बिसर्जन गरेर प्रदूषण बढाउने कि प्राचीन मूर्तिहरू खोजी खोजी, संरक्षण गर्दै पूजा आराधना गर्ने ?
उपसंहार : पुरुषार्थ चिन्तामणि, व्रतराज, कालतत्व विवेचन, धर्मसिन्धुमा विजया दशमीबारे उल्लेख छ। दशमीको दिन जया, विजयासहित अपराजिता पूजन, शमी वृक्ष पूजन, सीमाल्लंघन (दशमीको दिन आफ्नै राज्यको सीमा नाघेर पुन : राज्यमै फर्कने) आदि विधानको पालनबारे धर्मसिन्धुमा र अन्य शास्त्रमा उल्लेख छ। भारतको बडोदा, मैसुर आदि रियासतमा घोडा, हात्तीको जुलुस निकाल्ने चलन पनि थियो। नेपालमा दसैंको अवसरमा शास्त्रीय मालश्री राग र धुन बजाएर दुर्गा माताको स्तुति गायन गर्ने ऐतिहासिक परम्परा कायमै छ।