समाजमा निराशा, नकारात्मकता, विद्वेष फैलाउने प्रवृत्ति देखा परेको छ, यसका विरुद्ध लागौं : एमाले
काठमाडौं : नेकपा एमालेले लोकतन्त्र,गणतन्त्र,संविधान र परिवर्तनको पक्षमा दृढतापूर्वक उभिन आह्वान गरेको छ । पार्टी कार्यालय च्यासलमा बिहीबार बसेको एमाले सचिवालय बैठकले समाजमा निराशा, नकारात्मकता,विद्वेष फैलाउने प्रवृत्ति देखापरेको भन्दै देश बनिरहेको छ भन्ने सकारात्मक सन्देशकासाथ लोकतन्त्र, गणतन्त्र, संविधान र परिवर्तनको पक्षमा दृढतापूर्वक उभिन पार्टी पंक्तिलाई आव्हान गरेको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए।
बैठकले हालैको बाढीपहिरोबाट प्रभावितको पुनःस्थापना,राहत र खोजी बाँकी भएकाले सम्पूर्ण जनसंगठन,कार्यकर्ता र जनप्रतिनिधिलाई स्वयंसेवी भूमिकासहित सहयोगमा निरन्तर लागिरहन आव्हान समेत गरेको उनले बताए ।
सचिवालय बैठकले मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि कार्तिक २२ गतेसम्म तल्ला कमिटीले आवश्यक निर्णय गरेर केन्द्रीय कार्यालयमा पठाउन र उपनिर्वाचनमा सक्रिय रुपमा परिचालन गर्ने व्यवस्था प्रदेश कमिटीले गर्ने निर्णय गरेको छ।
त्यस्तै, बैठकले पार्टीको स्थायी भवन कीर्तिपुर नगरपालिका वडा नम्बर २ मा निर्माण गर्ने निर्णय समेत गरेको छ । शुक्रबार १२ बजेर २५ मिनेटमा पार्टी कार्यालयको भवन शिलान्यास गर्ने कार्यक्रम रहेको उपमहासचिव ज्ञवालीले बताए।
त्यस्तै ज्ञवालीले प्राकृतिक प्रकोपको तयारी र त्यसपछि उत्पन्न परिस्थीतिको सामना सरकारको सामथ्र्यले भ्याएसम्म गरेको उल्लेख गरे।