थारूको दसैं, जहाँ मादल बजाएर देउता जगाइन्छ
थारू समुदायको पृथक भाषा, संस्कृति र चालचलन रहेको छ। थारूहरूले आफ्ना चाडपर्वहरू पनि पृथक तरिकाले मनाउने गर्छन्। दसैं अर्थात् डश्यामा गरिने विधि प्रक्रियाले पनि थारूहरूको संस्कृतिमा कति मौलिकता छन् भन्ने प्रस्ट हुन्छ।
दसैंको आगमनसँगै थारु गाउँमा लिपपोत, सरसफाइ गरिन्छ। घर पोत्नकै लागि धौरा वा किचली माटो ल्याइन्छ। घर पोतेर टलक्क टल्काइन्छ। वनबाट दाउरा ल्याउनु, पात टिप्नु, डुना टपरी गाँस्नु, धान कुटाउनु, चामलको पिठो पिसाउनु सामान्य कुरा भइहाले, विशेषतः देउतालाई चढाउनका लागि घर–घरमा रक्सी बनाइन्छ। घरको मूल देउताका लागि तौला अर्थात् एकपाने रक्सी अनिवार्य चाहिन्छ।
अन्य समुदायमा घटस्थापनकै दिन जमरा राख्ने चलन भए पनि थारूहरूले त्यसको भोलिपल्ट अर्थात् असोज महिनाको शुक्लपक्षमा दुतियाको दिन नुहाई धुवाई गरेर जमरा राख्छन्। जमरा राख्दा डेहुरार (थारूहरूको मूल देवता रहेको स्थान)मा मौलिक तरिकाले पूजापाठ गरी जमरा राखिन्छ। थारूहरूले मकैको जमरा राख्ने चलन छ। त्यस्तै दसैंमा पूजाका लागि पहेँलो जमरा र बेबरी (बाबरी)को आवश्यकता पर्छ। हरेक घरको आँगनमा बेबरी अनिवार्य रोपिएको हुन्छ। दसैंको पूजामा थारू समुदायमा मात्र बेबरीको प्रयोग हुँदै आएको देखिन्छ।
पञ्चमीको दिन दहित थरका थारूहरू श्राद्ध दिने गर्छन्। श्राद्धका लागि दहितहरूलाई गाउँलेहरूको करेसाबारीबाट तरकारी चोरी ल्याउने प्रचलन छ। यसलाई एउटा परम्पराको रूपमा लिएकाले गाउँलेहरू त्यो दिन तरकारी चोरी गर्ने कार्यलाई सामान्यरूपमा लिने गर्छन्।
थारू समुदायमा देउतालाई चढाउनका लागि वानधुप बनाउने गरिन्छ। वानधुप विशेष प्रकारको धुप हो। धानले जिब्रोमा कोरेर निकालेको रगत र त्यसमा धानको फुला साथै सातवटा वस्तुको समिश्रण गरेर बनाइएको विशेष प्रकारको पूजा सामग्री हो। सप्तमीको दिन दसैंमा पकाउने विशेष प्रकारको ढिक्रीका लागि ढकिया सरसफाइ गरिन्छ, यसलाई पैनस टोपी धुने भनिन्छ। पैनस टोपी धुने दिन अन्य सामग्रीहरू पनि सरसफाइ गरिन्छ।
ढिक्रहवा
अष्टमीको दिनलाई थारूहरूले ढिक्रहवा भन्ने गर्छन्। यो दिन दिउँसो गुरुवालाई वरैनहरू भुखौरी खुवाउने प्रचलन छ। गुरुवाबाट सेवा लिएवापत सम्मानस्वरुप गाउँलेहरूले फलफूल, अम्बा, केरा, उखुँ र एक बोटल रक्सी र दक्षिणा स्वरुप पैसा दिएर भुखौरी खुवाउने गरिन्छ। उक्त दिन बेलुकी विशेष पूजा हुन्छ। घरमुली वा जेठो छोराबाट पूजा गर्ने प्रचलन छ। पूजामा महिला–पुरुषको समान सहभागिता रहने गर्छ। पुरुषलाई पुजेरुवा र महिलालाई पुजिहिन्या भनिन्छ। यो दिन दुवै जना ब्रत बसेका हुन्छन्।
डेहुरारको मुख्य देउतासहित घरका विभिन्न देउताको स्थानमा बत्ती बाली गोलो आकारको ढिक्री, जमरा, बेबरी, रक्सी (तौला र बजारी) र पानी चढाएर पूजा गरिन्छ। पूजामा दहितको घरबाट ल्याइएको वानधुप चढाउँछन्। यसरी पूजा गर्दा घरमा बैबर्कट आउने, रोगव्याधी नाश हुने, घरमा कुनै दुःखकष्ट नहुने विश्वास रहँदै आएको छ।
पूजा गर्ने बेला मादल अनिवार्य बजाउनुपर्छ। मादलको विशेष ताल त्रासन ठोक्ने गरिन्छ। त्रासनको ताल (झवाङ्ग झवाङ्गनक झवाङ्ग झवाङ्गनक) मा बजाउने गरिन्छ। यो तालले एक किसिमको झन्झनाहट उत्पन्न हुने गर्छ। यसरी त्रासन ठोकेर देउता जगाउने काम गरिन्छ।
भेँडाको प्रतीकको रूपमा डेहुरार पूजाकोठामा चार वटा खुट्टा बनाएर कुभिन्डो राखिएको हुन्छ। यो दिन विशेष गरेर थारूहरूको देउता अखरिया, खेख्रीमैयाँ, धमराज, धुरखम्बा, मैसासुर, कोल्हुमसानको पूजा गरिन्छ। थारूहरूको थरअनुसार अन्य नामले पनि पुजिन्छ।
उक्त दिन रातभरि देउता जगाउने गरिन्छ, जसलाई डिया जगैना भनिन्छ। परम्परागत सख्या नाच, झुमरा नाच, लाठी नाचमा रम्ने गरिन्छ। पूजा गरेर बर्की मार गीत पनि गाइन्छ। त्यसरात गाउँमा सबैभन्दा बढी रौनकता छाउँछ। गाउँभरि विभिन्न समूहमा परम्परागत नाच नाचिन्छ। बर्दिवाको बगाल, घसकटुवाको बगाल, गरढुरिया बगाल, त्यस्तै झलारी बगालको झुमरा नाच, महिलाहरूको संख्या नाच, युवाहरूको लाठी नाचले गाउँ नै गुन्जायमान हुन्छ। सबै समूह घरघर गएर नाच गर्छन्। रातभरि नाचेपछि विहान सबेरै सबै समूह गाउँको चौराहामा भेला हुन्छन्। घरबाट देउतालाई चढाइएको रक्सी करैमा बोकेर ल्याउँछन्। अनि, सबैले प्रसादको रूपमा खान्छन्। यसलाई भेरुवाक डारु पनि भनिन्छ।
पित्रहवा
नवमीको दिन एक बिहानै पुजेरुवा हसिया र लोटा लिएर नदी तथा जलासयमा नुहाउन जान्छन्। नुहाइधुवाई गरी खेतमा गएर चुर्कीको बढ्नी अर्थात् काँसको कुचो काटेर ल्याउँन्। हरेक वर्ष पूजाकोठामा नयाँ बढनी फेर्ने प्रचलन हुन्छ। अघिल्लो दिनजस्तै पुजिहिन्याद्वारा घरमा सबै देउताको स्थानमा बत्ती बाल्ने र पूजाको सामग्री तयार गर्ने काम गरिन्छ। पुजेरुवा परम्परागत विधिअनुसार अघिल्लो दिनजस्तै डौना बेबरी फूल, जमरा, धुप, अक्षता चढाइ अगरबत्ती बाली पूजापाठ गर्छन्। उक्त दिन पूजा गर्दा मादल बजाइँदैन। यस दिन अघिल्लो दिन तयार गरिएको कुभिन्डो काटेर देउतालाई चढाइन्छ। कुनै ठाउँमा ल्वांग पनि चढाउने प्रचलन छ।
देउताअनुसार भाले, बंगुरको पाठा काट्ने प्रचलन पनि छ। पूजा गरेर सेतो टीका लगाउने प्रचलन छ। दसैंमा थारुहरू पितृ पूजा पनि गर्ने गर्छन्। नवमीको दिनलाई पित्रहवा पनि भनिन्छ। पूजा सकेपछि दिउँसो प्रत्येक घरबाट पूजा गरेको सामग्रीहरू ढकियामा उठाएर पुजिहन्यिाहरू मौलिक पहिरनमा सजिएर लाम लागेर टाउकोमा ढकिया र ढकियामा पित्तर राखी नजिकको खोलामा पित्तर सेलाउन जान्छन्, जसलाई पित्तर अस्रइना भनिन्छ। पित्तर अस्राइसकेपछि नुहाइ धुवाई गरी महिलाहरू घरतिर फर्किन्छन्। यसरी महिलाहरू घर फर्किँदा हार्षोल्लासका साथ नाचगान गरिन्छ।
टीका
दशमीको दिन गाउँमा साझा टीका लगाउने प्रचलन छ। यसलाई राज टीका पनि भनिन्छ। गाउँको महटाँवा ककन्डार, वरघरको घरमा वा भुँइहार थानमा पहिले टीका लगाइन्छ। गाउँलेहरू एक ठाँउमा जम्मा भई अगुवा मान्यजनको हातबाट टीका लगाउने प्रचलन छ। टीकामा सेतो टीका जमरा, डौना, बेबरीसमेत हुने गर्छ। साँझ टीका लगाइसकेपछि घरघरमा आ–आफ्नो मान्यजनको हातबाट टीका र आशिर्वाद लिने गरिन्छ। टीकाको दिन बरैनहरू एक बोटल रक्सी, जमरा, बेबरी लिई गुरुवाको घरमा टीका लगाउन जाने चलन छ। गुरुवालाई पनि थारू समुदायले सम्मानित स्थान दिएको हुन्छ।
गुरुवाको घरमा गएर बरैनहरू गुरुवाको हातबाट टीका थाप्ने र आशिष लिन्छन्। यहाँ पनि अक्सर सेतो टीका नै लगाइन्छ। सेतो टीका शान्तिको प्रतीक मानिन्छ। सेतो टीकाले सबैतिर शान्तिको कामना गरिएको बुझिन्छ। थारूहरूमा सेतो टीका लगाउने प्रचलन रहे पनि पछिल्लो समय रातो टीका लगाउन थालिएको छ।
टीका लगाइसकेपछि बेलुकी महटाँवा, बरघरको घरमा सख्या नाच नाचिन्छ। थारू युवा युवती (ठँरिया, बठिनिया) मिलेर सामूहिकरूपमा नाचिने नाच उक्त दिन विशेष हुन्छ। उसो त दसैंभरि नै विशेष हुन्छ। त्यसदिन युवतीहरू मौलिक पहिरन, लहँगा, कुरथाँ, चोलिया, गोन्या, गरगहनासहित नव दुलहीजस्तै सिंगारिएर नाच गर्न आएका हुन्छन्। त्यस्तै युवाहरू मादल बजाउँछन्, उनीहरू पनि मौलिक भेषभुषामा सजिएका हुन्छन्।
पुरुषहरू कुर्ता, धोती, सर्त, अगुच्छा, लगाएर घाँटीमा डौना बेबरीको माला लगाएर सिंगारिएको मादलसहित उपस्थित हुन्छन्। महटाँवाको आँगनमा रौनक छाउँछ। अघि–अघि मन्डरिया पछि–पछि नचनियाहरूको लाम हुन्छ। यसमा आवश्यकताअनुसार दुई लाइन, चार लाइन गरी नाच्ने गरिन्छ। लाइनमा पैयाँ लाग्ने र पछि घेरा बनाएर नाच्ने र सख्या गीत गाउने प्रचलन छ। सख्या गीत गाउन एक जना मोरह्निया हुन्छन्, जसले गीत उठाउँछिन र अरु पछि–पछि गाउँछन्, नृत्य पनि गर्छन्। मादलको तालमा जिउ डाल चलाउने, मन्जिरा बजाउने कलात्मक शैली अत्यन्त मनमोहक देखिन्छ।
अन्त्यमा
परम्परागत दसैंमा आदिवासी ज्ञान, संस्कार संस्कृतिका विभिन्न कुराहरू जोडिएका छन्। यसले आदिवासी थारूहरूको संस्कृतिको जगेर्ना गर्न र पुस्तान्तरण गर्न सघाउ पुर्याउँछ। समय परिवर्तनसँगै अहिले थारू समुदाय पनि आधुनिकीकरण, सामेलीकरणसँग अछुतो छैन। विश्व भुमण्डलीकरण, आधुनिकीकरणको प्रभाव थारू समुदायमा पनि पर्दै गएको छ। जसका कारण पुराना मौलिक संस्कृति विस्तारै लोप हुँदै गएका छन्। आजकल थारू समुदायमा यी सबै विधि प्रक्रिया निकै कम देख्न पाइन्छ।