मजदुरलाई छैन दसैंको रौनक
जोमसोम : हिन्दू नेपालीहरूको घर आँगनमा दसैं पर्वको रौनक छाइरहँदा मुस्ताङका मजदुरलाई दसैं पर्वको रौनकले पटक्कै छोएको छैन। मीठो खाने ,राम्रो लगाउने, आफन्त, इष्टमित्रहरूबीच भेटघाट गर्ने, मान्यजन्यबाट टीका र आर्शीवाद ग्रहण गर्ने र आफूभन्दा कम उमेरकालाई टीका लगाएर आर्शीवाद दिने दसैं पर्वको मुख्य विशेषता रहे पनि मजदुरलाई दसैं पर्व नजिकिएको समेत पत्तै छैन।
मुस्ताङको घरपझोङ गाउँपालिका-४ जोमसोमस्थित जनहित स्कुलको उत्तरतर्फ कोरला सडक नजिकै पूर्वको अग्लो पहाडको फेंदमा बाह्रै महिना डेढ दर्जनभन्दा महिला मजदुरले गिट्टी कुट्ने गर्छन्। उनीहरू सबै जिल्ला बाहिरबाट ज्याला मजदुरी गर्दै मुस्ताङमै बसिरहेका छन्।
नत उनीहरूलाई हिउँदयामको हिमपात र चिसो सिरेटो पर्वाह छ नत दसैं/तिहार जस्ता महत्वपूर्ण चाडपर्वहरूको अनुभूति नै गर्छन्। उनीहरूलाई चिन्ता छ त केवल दुईचार पैसा कसरी कमाइएला र आफ्ना बालबच्चाहरूलाई सहज रुपमा पठन/पाठन गरेर दैनिक छाक टार्न सकिएला भन्ने नै छ। जोमसोमको अग्लो पहाडको फेंदमुनि बिहानदेखि बेलुकी साँझसम्म बसेर गिट्टी कुट्नै उनीहरूको जीवन दैनिकी जस्तै बनिरहेको छ।
बाग्लुङ बुर्तिबाङकी अप्सरा दर्जी (नाम परिवर्तन) २ वर्षदेखि कोठा भाडामा लिएर श्रीमानसँगै ज्याला मजदुरी काममा खटिने गरेकी छिन्। ३ छोराछोरीसहित मुस्ताङ आएकी उनले त्यही पहाडको फेंदमुनि बसेर हातमा फोका निक्लिने सम्म एक तमासले दिनहुँ गिट्टी कुट्न खटिन्छिन्। उनका श्रीमानले पनि मजदुरी काम गर्छन्। दसैं पर्वमा सबै घरतिर लागे तपाई किन नगएको भन्ने प्रश्नमा अप्सरा भन्छिन्, ‘घरमा गएर के गर्नु खर्च मात्रै बढ्छ, यहाँ काम गरे त पैसा पनि कमाइन्छ, खर्च पनि जोगिन्छ। बच्चाहरू यतै पढ्छन्, स्कुल पनि धेरै दिन बिदा छैन, जाउआउ दुख मात्रै हुन्छ’, चाडपर्वले गरिव र विपन्नलाई तनाव मात्रै दिने गरेको उनले सुनाइन्।
यस्तै, लमजुङकी अर्की महिला मजदुर पार्वती तामाङले पनि दसैं पर्व मनाउने प्रचलन रहे पनि आफूहरू यहाँको काम छोडेर घर नफर्किएको उल्लेख गरिन। ‘चाडपर्व केही दिनका लागि हो, यो आउँछ जान्छ, हामी जस्ताका लागि दसैं होइन दशा हो,उनले निराश हुँदै भनिन्,‘ गाउँघर र छरछिमेकीको याद त आउँछ नी, के गर्नु गएर ,जान आउनै तीनदिन लाग्छ, काम छोडेर गएपछि उही ऋणको भारी बोक्नु मात्रै त हो।’
अप्सरा र पार्वती त प्रतिनिधि पात्र मात्रै हुन्। उनीहरू जस्तै थुप्रै मजदुरहरू छन् जसलाई दसैं पर्वको रौनकले पटक्कै छोएको देखिंदैन। फोटो खिच्न अप्ठ्यारो मान्दै नाम परिवर्तन गर्ने सर्तहरूमा उनीहरूले चिसो भुगोल मुस्ताङमा गिट्टी कुट्दै जीविकोपार्जन गरिरहेको यथार्थ कुरा व्यक्त गरे। दैनिक एक ट्याक्टर गिट्टी कुद्दा ७ हजारमा बिक्री हुन्छ। त्यति कुट्न एक जनालाई हप्ता दिनभन्दा बढी समय लाग्छ। एक तमासले गिट्टी कुट्दा ग्लोब्स लगाए पनि हातमा फोका उठ्छन्।
घामपानी, हावाहुरी र हिमपात र चिसो सहदै गिट्टी कुट्ने उनीहरूको रहर थिएन केवल बाध्यताको उपज मात्रै थियो। उनीहरूले मेहनतले कुटेको गिट्टी एक ट्याक्टर पुगेपछि ठेकेदार र ट्याक्टरवाला त्यही लिन आउछन्। ठेकेदारले काम सकिएपछि एकमुष्ट हिसाब गरेपछि मात्रै उनीहरूको हातमा पैसा थमाईदिन्छन्।
मुस्ताङमा संघीय तथा प्रादेशिक योजनाहरूमा काम गर्ने कतिपय जिल्ला बाहिरका मजदुर पनि दसैं मान्न घर फर्किएका छैन। राष्ट्रिय गौरवको आयोजना (बेनी-जोमसोम-कोरला) सडक आयोजनामा कार्यरत कतिपय मजदुर दसैं पर्वमा घर नफर्किएको आयोजना प्रमुख धुव्र झाले जानकारी दिए। उनले दसैंमा पनि सडक निर्माणको काम नरोकिने बताए।
यस्तै, पूर्वाधार विकास कार्यालय मुस्ताङका प्रमुख अजय श्रेष्ठले कार्यालय अन्तर्गतका पूर्वाधार विकासका काममा दसैं पर्वले आंशिक रुपमा प्रभावित बनाए पनि कतिपय ठाउँहरूमा काम भइरहेको बताए। ‘केही मजदुर दसैं मान्न घर फर्किसके,कतिपय मजदुर यही छन्, उनले भने,‘ हामीले विकास काम नरोक्ने गरी दसैंमा घर नजाने मजदुरलाई विकासको काममा व्यवस्थापन मिलाई सकेका छौं।’
दसैं पर्व नजिकिएसँगै मुस्ताङ सुनसान बन्दै गएको छ। जिल्ला स्थित कार्यालयका कर्मचारी र सुरक्षाकर्मी दसैं पर्वमा घर फर्किएकाले मुस्ताङ जिल्ला सुनसान बन्दै गएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ। दसैं पर्वकै कारण मुस्ताङ भ्रमण गर्ने नेपाली पर्यटकको उपस्थित समेत ज्यादै न्यून भएको छ। तर, विदेशी पर्यटकहरूको भने आंशिक चहलपहल कायमै छ।