दसैंमा : के खाने, के नखाने ?

दसैंमा : के खाने, के नखाने ?
फाइल तस्बिर ।

स्वच्छ मासुसँगै हरियो तरकारी, सलाद, फलफूल र पानी पर्याप्त खानुपर्छ।

नवरात्रसँगै दशैंको चहलपहल देशभर भइरहेको छ। परिवार, आफन्त, कुलकुटुम्बबीच भेटघाटको क्रम विस्तारै बढ्दै छ। यस्तोमा के गर्ने ? धेरैको योजना हुन्छ, रमाइलो गर्ने। चाडवाडमा खानपिन गर्दा ख्याल गर्नुपर्ने पक्ष हो, स्वास्थ्य।

प्रायः सबै जातजाति र समुदायमा बनाउने बडा दसैं भेटघाट र एकताको पर्व पनि हो। यस्ता पर्वहरूमा माछा, मासु खाँदा स्वास्थ्यमा पनि ध्यान दिनुपर्ने चिकित्सकहरू सुझाउँछन्। मासुका परिकारमा पानीको मात्रा कम र चिल्लो पदार्थ अधिक हुन्छ। यसले हाम्रो शरीरमा असन्तुलन पैदा गर्छ। वरिष्ठ मुटु रोग विशेषज्ञ डा. प्रकाशराज रेग्मी मासुजन्य परिकारसँगसँगै हरियो तरकारी, सलाद पनि सेवन गर्नुपर्नेमा जोड दिन्छन्।

मासुमा आइरन, प्रोटिन, एमिनो एसिड, भिटामिन बी १२ राम्रो मात्रामा पाइन्छ। मासु र मासुजन्य पदार्थ, दूध र दुग्ध पदार्थमा कोलेस्टेरोल, स्याचुरेटेड फ्याट हुन्छ। डा. रेग्मी भन्छन्, ‘ताजा र धेरै फाइबर भएका खाद्यपदार्थ पनि सेवन गर्नुपर्छ। सागसब्जी, गेडागुडीको सेवनमा पनि ध्यान दिनुपर्छ। सफ्ट ड्रिक्सभन्दा फलफूलको जुस खानु राम्रो हुन्छ। घरमै बनाएर दही, लस्सी र मोही खान सकिन्छ।’

 
मासु खरिद गर्दा ध्यान दिऔं 
तपाईं नजिकैको पशु वधशाला वा मासु पसलमा जाँदै हुनुहुन्छ भने वधशाला एवं मासु पसलको अवस्थाको पनि सूक्ष्म निरीक्षण गर्नुपर्ने चिकित्सकहरूको सुझाव छ। मासु पसल सफा/स्वच्छ छ, छैन ध्यान दिनुपर्छ।

मासु पसलमा अनिवार्य रूपमा तार जाली वा सिसा लगाइएको अथवा अन्य आवश्यक उपाय अपनाई झिंगालगायत अन्य हानिकारक किराफट्याङ्ग्रा बस्न नसक्ने व्यवस्था गरिएको स्थानबाट मात्र मासु खरिद गर्नुपर्छ। वध गरिएको ठाउँबाट अर्को ठाउँमा लैजाँदा बाह्य रूपमा अन्य कुनै वस्तुको सम्पर्क नहुने गरी ढोकेको/छोपिएको छ कि छैन ख्याल गर्नुपर्छ। 

संक्रामक, परजीवीका साथै अन्य पैतृक रोग तथा मेटाबोलिक रोग नलागएका पशुको मासु खरिद गर्नुपर्छ। पशुवध शाला र मासुको सरसफाइ र गुणस्तरमा ख्याल गर्नुपर्छ। त्यस्तै मासु काट्ने साधन, औजार (अचानो, बाँध्न डोरी, अड्काउने डन्डी) स्वच्छ र सफा हुनुपर्छ। कतिपय बिक्रेताले भाले जनावरको मासु भनी पोथी जनावरको मासु बिक्री गर्न सक्ने भएकोले यसतर्फ पनि सचेत हुनुपर्ने उपभोक्ता अधिकारकर्मी विष्णु तिमिल्सेना बताउँछन्।

अधिवक्ता तिमिल्सेना भन्छन्, ‘उपभोक्ताको चाहनाअनुसार मासुको गुणस्तर घट्न नदिई जस्ताको तस्तै उपभोक्तासम्म पु¥याउनु मासु व्यवसायीको कर्तव्य हो। प्राकृतिक गुण कायम भएको मासु खरिद गर्नुपर्छ।’

कस्तो मासु नखाने ? 

वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. अरुण शाही दसैंको छुट्टी केही दिन हुने भएकोले सन्तुलित खाना खानुपर्ने बताउँछन्। ‘बासी, सडेगलेको खानेकुरा खानु हुँदैन,’ डा. शाही भन्छन्, ‘सकभर पोलेको /डढेको मासु खानु हुँदैन। रातो मासु पनि नखाऔं। खानपानमा पनि अनुशासित हुनुपर्छ।’

मुटु रोग विशेषज्ञ डा. रेग्मीका अनुसार, खसीको छालामा बोसो, कोलेस्टेरोल धेरै हुन्छ। डा. रेग्मीको सुझाव छ, दसैंमा नखाएको कहिले खाने हो र ? भन्दै मासु र मदिरा सेवन गर्ने चलन छ। यो त्यागौं। कलेजो, मिर्गौलालगायत भित्री मासु पनि भरसक खानु हुँदैन।’

चिल्लो, डिप फ्राई गरेर माछामासुजन्य परिकार नपकाउन र बासी मासु पनि सेवन नगर्न उनको सुझाव छ। मासुमा हुने स्वस्थता तथा मासुको स्वाभाविक गुण यथावत् रहेको खरिद गर्नुपर्ने विज्ञहरू बताउँछन्। पशु वधशालाको सरसफाइको साथै मासुको स्वच्छतामा ख्याल गर्नुपर्छ। राँगा, भैंसीको आन्द्रामा फित्ते जुका पाइन सक्छ। जसलाई चिकित्सकीय भाषामा टेनिया स्याजिनाटा भनिन्छ। 

मासुमा केही खराबी वा रोग भएको पाइएमा त्यस्तो मासु बिक्री वितरणको लागि निषेध गरिएको छ, कानुनीरूपमा। तर, बिक्रेताले नाफा आर्जनको लागि लुकाएर बिक्री वितरण गर्ने अधिकारकर्मीहरू बताउँछन्। त्यसैले मासु खरिद गर्ने क्रममा उपभोक्ताले मासु तथा मासु पसलको सरसफाइमा ध्यान दिनुपर्छ।

पशु वधशाला तथा मासु जाँच ऐन, २०५५ मा पनि कुनै पशु वध गर्नुअघि वधशाला स्थापना भएको क्षेत्रमा मासु सुपरिवेक्षकले तोकेका स्थानमा मात्र पशु जाँच गराउनु पर्ने उल्लेख छ। जाँच गरिएको पशु वध गर्न उपयुक्त देखिएमात्र मासु निरीक्षकले चिह्नसमेत अंकित गरी पशु वध गर्न अनुमति दिने ऐनमा उल्लेख भए पनि व्यवहारमा कार्यान्वयन हुन सकेको छैन। मासु निरीक्षकको व्यवस्था नहुँदा रोगी पशुको मासु तथा छालासहितको मासु बिक्री गरेको उपभोक्ताकर्मीहरू बताउँछन्। 

कतिपय स्थानमा एक जातको पशुको मासुलाई अर्को जातको पशुको मासु हो भनी मासु हो भन्दै मिसावट गरी बिक्रि गर्न सक्छन्। मासुको स्वाभाविक गुण र स्वाद परिवर्तन गर्ने वा तौल बढाउने गरी कुनै पदार्थ मासुमा मिसाएर बिक्री गर्न पाइँदैन।

फाइबरयुक्त खाद्यपदार्थ खाऔं
शरीरलाई स्वस्थ र फूर्तिलो बनाउन फाइबरयुक्त खाद्यपदार्थ खानुपर्ने चिकित्सकहरूको सुझाव छ। उच्च फाइबरयुक्त खानाले हाम्रो शरीरमा रहेको खाना पचाउन, मधुमेह कम गर्न, तौल घटाउन, कुनै पनि दीर्घकालीन रोगको उपचार गर्न, हृदय रोगहरू र उच्च रक्तचापजस्ता समस्याहरूबाट टाढा राख्न मद्दत गर्छ फूलगोभी, ब्रोकाउली, एभोकाडोलगायतमा उच्च फाइबर पाइन्छ।

मासुजन्य परिकारसँगसँगै हरियो तरकारी, सलाद पनि सेवन गर्नुपर्छ। डा. रेग्मी भन्छन्, ‘ताजा र धेरै फाइबर भएका खाद्यपदार्थ सेवन गर्नुपर्छ। सागसब्जी, गेडागुडीको सेवनमा पनि ध्यान दिनुपर्छ। सफ्ट ड्रिक्सभन्दा फलफूलको जुस खानुपर्ने डा. रेग्मीको सुझाव छ। ‘दही, लस्सी र मोही खान सकिन्छ,’ उनले भने।

मुटुरोग विशेषज्ञ डा. रेग्मीका अनुसार, मुटुजन्य समस्या भएका व्यक्तिले खानपानमा सजगता अपनाउनु पर्छ। ‘मुटु रोगीले खानपानमा ध्यान नदिँदा झन् जटिलता हुन सक्छ,’ डा. रेग्मी भन्छन,‘ मुटुका बिरामीलाई चिल्लो, नुनिलो सेवनले उच्च रक्तचाप बढाउन सक्छ। मुटुको पम्प गर्न समस्या हुन सक्छ। मुटुको धड्कनमा उतारचढाव हुन सक्छ। खानपानमा ध्यान दिनुपर्छ। नियमित औषधि सेवन गर्ने कार्य बिर्सनु हुँदैन।’

शक्तिपीठहरू जाने, लिंगेपिङ, रोटेपिङ खेल्ने, चंगा उठाउने कार्यले शारीरिक र मानसिक रूपमा स्वस्थ हुन सहयोग पुग्ने चिकित्सकहरूको सुझाव छ। डा. रेग्मी भन्छन्, ‘कोठामा बस्ने, तास खेल्ने नभई घरबाहिर निस्कने, पिङ खेल्ने, आफन्त भेटघाट गर्न जाने गर्दा चाड रमाइलो हुन्छ। नियमित व्यायाम गर्नुपर्छ। स्वास्थ्यलाई पनि फाइदा गर्छ। स्वस्थ र सफा खानेकुरामा खाऔं। बाहिरभन्दा घरमै पाकेको स्वच्छ र सफा खानेकुरा खानुपर्छ।’
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.