सन्थालको दसैं
सन्थाल जातिले दसैं मनाउँछन् तर माघे पूर्णिमाका दिन मनाइने सोहराय पर्व मुख्य चाड हो।
पूर्वीतराईका मोरङ र झापामा बसोबास गर्ने आदिवासी सन्थाल जातिले पनि दसैं अर्थात् दुर्गा पूजा मनाउँछन्। यद्यपि हाम्रो समुदायको मुख्य चाड भने दसैं–तिहार होइन। माघे पूर्णिमामा दिन मनाइने सोहराय पर्व हाम्रो मुख्य चाड हो।
सन्थाल जातिले घरआगनमा दुर्गा भगवानको मूर्ति वा तस्बिर राखेर भने पूजाअर्चना गर्र्दैनन्। मूर्ति पूजक होइनन् सन्थाल जाति। हाम्रो समुदायका व्यक्तिहरूले घरआँगनमा माझी थान, तुलसी पिण्ड, कुलदेवताहरू पूजा गर्छन्। दसैंमा टीका लगाउने, दुर्गाको पूजाआर्चना गर्ने प्रचलन हाम्रोमा परापूर्वकालदेखि नै छैन। आकाश, धर्ती र सूर्यलाई भगवानको रुपमा मान्छन्।
विजया दशमीका दिन नाँच्दै गाउँदै हिँड्ने परम्परा छ। यो भनेको कामरुक गुरुको खोजीमा हिडेको हो। दशैंको बेला अनुहारमा कालो दल्ने, घोडा बन्ने, पाट लगाएर हिँड्नेहरू गुरुको खोजीमा हिँडेका हुन्।
दुर्गा पूजा मनाउने भनेर गुगलमा लेखिएको कुरा गलत हो। दुर्गा माताले महिशासुरको वध गरेकोलाई सन्थाल जातिले त्यसलाई मन पराउँदैनन्। महिषासुर अर्थात् महेश सोरेनलाई नै हाम्रो समुदायका गुरु हुन् कि भनेर अहिले अन्तर्राष्ट्रिय सन्थाल परिषद्मा आवाज उठिरहेको छ। महिषासुर नै गुरु हो भनेर आधिकारिक रुपमा चाहिँ कहीँ लिपिबद्ध छैन। त्यही कारणले पनि हाम्रो जातिले दशैं मनाउँदैन।
असारमा रोपाई सकेर गाउँघरमा गएर गुरुहरूबाट मन्त्र सिक्ने, सर्पको विष खेल्ने र झारफुक गर्छन्। दशैंको फूलपातीको दिन जडीबुटीलाई पिसेर घरको छानामा छम्केर भूत, प्रेत तथा स्वास्थ्य लाभको लागि घरबाट सुरु गरी गाउँ छिमेकमा पुगी टुंग्याइने चलन छ र त्यसपछि गुरुको खोजीमा निस्किछन्। गुरुकै खोजीमा निस्किएकाहरू भिडभाड र दसैंको मेलामा पुग्दा नाचगान गर्छन्।
दुर्गा मातालाई मनाउनचाहिँ नाचगान गरेको होइन। मिश्रित समाजमा बसेका कारण अहिलेका पुस्ताहरू अरूको लहैलहैमा लागेर मन्दिर गएर पूजा गर्छन्। दसैंमा मिठो परिकारसहित मासु पनि खान्छन्। लुगाफाटा पनि लगाउँछन्। हाम्रो जातिको धर्म, संस्कृति, रीतिरिवाज जोगाउनै गाह्रो भइसक्यो। नेपालबाट अहिले सन्थाल जातिहरू विस्थापित भइरहेका छन्।
- टुडु अन्तर्राष्ट्रिय सन्थाल परिषद्का उपाध्यक्ष हुन्।