जहाँ नेपाली त्यहाँ बडादसैं
विश्वका विभिन्न मुलुकमा नेपालीहरु छरिएसँगै बडा दसैं पनि विस्तारित भएको छ। एक किसिमले दसैं विश्वव्यापीकरण हुँदै गएको छ। संस्कृति, परम्पराका दृष्टिले हामी अग्रगतिमा गइरहेको प्रमाण पनि हो।
कहिलेदेखि नेपालमा दसैं मनाउन थालियो ? यसको निश्चित तिथिमिति यकिन गर्न कठिन छ। अहिलेसम्म लिच्छविकालका करिब अढाइ सय अभिलेख प्राप्त भएका छन्। विभिन्न विद्वानहरूले लिच्छविकालमा पनि दसैं मनाइने कुरा उल्लेख गरेका छन्।
लिच्छविकालदेखि पछिको पूर्वमध्यकालदेखि दसैं भव्य रूपमा मनाइन थालिएको स्पष्टरूपमा भन्न सकिन्छ। आजभन्दा करिब ६ सय वर्ष अगाडि जयस्थिति मल्लको शासनकालको गोपालराज वंशावलिमा बडादसैंका बारेमा प्रसस्त बयान गरिएको छ। मल्लकाल, शाहकाल हुँदै अहिलेसम्म दसैं मनाइँदै आएको इतिहास छ। समयक्रमसँगै दसैं मनाउने चलन अहिलेको आधुनिक अवस्थामा आएको हो।
धार्मिक, सामाजिक, सांस्कृतिक चाड हो, दसैं। दसैंलाई बडादसैं पनि भनिन्छ। सबै जातजातिले मनाउने हुँदा बडादसैं भनिएको हो। यो ऐतिहासिक चाड पूर्वमेचीदेखि महाकालिसम्मको नेपाली भूगोलमा मात्र सीमित रहेन। अब विश्वको जुनसुकै भूगोलमा पनि बडादसैंं मनाउन थालिएको छ। अहिले जहाँ नेपाली, त्यहाँ बडादसैं भएको छ। यसले के प्रमाणित हुन्छ भने बडादसैंको महत्व झन्–झन् बढ्दै गएको छ।
यो पर्व मनाउने प्रचलन विदेशमा समेत भव्य रूपमा हुन थालेको छ। अहिले चिताउँदै नचिताएका मुलुकहरूमा रहेका नेपालीहरूले दसैं मनाएको देख्न सकिन्छ। अध्ययन होस वा रोजगारीका क्रममा होस नेपालको भूगोल बाहिर पुगेकाहरूले नेपालीको महान चाड बडादसैंलाई फैलाएका छन्। सीमाबाहिर पनि विस्तारित गरेका छन्। जहाँ छन् नेपाली, त्यहाँ दसैं भनिन्ट। अबको परिवेश यस्तो छ की कहाँ छैनन् नेपाली ? कहाँ मनाइँदैन दसैं ? भनेर घोत्लिनु पर्ने भएको छ। यो नेपाली समाज गतिशील र चलायनमान हुँदै गएको प्रमाण हो। यो सकारात्मक परिवर्तन हो।
बडादसैंलाई विजयादशमी पनि भनिन्छ। यो पर्व शक्तिको उपासना हो। अथवा नारी शक्तिको महिमा पनि हो। देवता (पुरुष )हरूले गर्न नसकेको कार्य दुर्गा भवानी (नारी )ले विभिन्न रुप लिएर सम्पन्न गरेको कारणले पनि यो पर्व विशेषगरी नारी शक्तिसँग जोडिएको हो। रक्तबीज खस्छ, सयौं रक्तबीजहरू उम्रन्छन भनेर महाकालिले जिब्रो बाहिर निकालेर रगतै सेवनको प्रसंग पनि उल्लेखनीय छ। देवीको प्रसाद ग्रहण गरेर विजय अभियानमा जानुपर्ने भावना राजमहाराजामा पनि भएको पाइन्छ।
त्यस्तै त्रेतायुगमा भगवान रामचन्द्रले रावणलाई वध गरेको प्रसंग पनि बडादसैंको सन्दर्भमा जोडिन्छ। भगवान रामचन्द्रले नवरात्रमा देवीभगवतीको उपाशना गरेर रावणलाई बध गर्न प्रस्थान गरेको पुराणहरूमा उल्लेख छ। फलस्वरुप लंका विजय भएको गरेको पाइन्छ। रामचन्द्र पुष्पक विमान चढेर अयोध्यामा प्रवेश गरे पछि ऋषिमुनिहरूलाई राखेर रावणको वीरता र विद्धताका बारेमा वर्णन गरेको थिए। यदि रावण शारीरिकरुपमा र बौद्धिकरुपमा पनि कमजोर भएको भए रावणलाई वध गर्दैमा भगवान रामको प्रतिष्ठा वृद्धि हुने थिएन। यद्यपि, असत्य (रावण) माथि सत्य (रामचन्द्र) को जीतको रुपमा विजयादशमीको महत्व रहिआएको छ। नेपालीमा रामचन्द्र भगवानलाई मानिन्छ। पुजिन्छ। दक्षिण भारत र लंकातिर रावणलाई मानिन्छ।
कतिपय सन्दर्भमा चार जात छत्तीस वर्णको फुलवारिको प्रसंगमा ब्राम्हणको जनैपूर्णिमा, क्षेत्रीयका बडादसैं, वैश्यको तिहार र शुद्रको चाडपर्व भनेको फागुपूर्णिमालाई लिएको पाइन्छ। हाम्रो सुन्दर पक्ष भनेको हामी सम्पूर्ण नेपालीमा समन्वय भाव बढी छ। खेतीपातीको काम पनि सकिएको बेला बडादसैंको पर्छ। कात्तिक, मंसिरमा बाली पाकेर अनाज घर भिœयाउनुपर्ने हुन्छ।
सबै सनातनी धर्मालम्बीहरूको पनि चाड हो, बडादसैं। खाने, लगाउने, मनोरञ्जन गर्ने परम्परासँगै आजभोलि घुमफिर गर्ने प्रचलन पनि छ। परिवारका सदस्यहरू कोहि स्वदेश त कोही विदेशमा छन्। कसैका छोराबुहारी वा कसैका छोरी ज्वाइँ विदेशमा छन्। विदेश जानु पर्ने भएको छ, दसैं मनाउन। प्रतिपदा (घटस्थापना), सप्तमी (फूलपाती), महाअष्टमी, (कालरात्री), महानवमीसम्म देवीहरूको पूजा गरिन्छ। विजयादशमी र कोजाग्रत पूर्णिमासम्म बडादशैंको टीकाजमरा लगाउने प्रचलन छ।
बडादसैं भेटघाट र एकताको पर्व पनि हो। परिवार वा समाजको मुली व्यक्तिले माता दुर्गा भवानिको प्रसाद र जमरा लगाइदिएर आशीर्वचन दिने दिने परम्परा छ। दशमीको दिन विदेशमा रहेका सन्तानलाई टीकाजमरा लगाइदिएर द्वादशी, त्रयोदशीमा स्वदेशमा मान्यजनबाट टीका थाप्न फर्कनेहरू छन्। नेपाली समाजमा आएको यो पछिल्लो परिवर्तन हो। ततर, आफू विदेश गएको छैन/जान पाएको छैन भन्दै विदेशमा दसैं मनाएर केही दिनपछि स्वदेश फर्केर मान्यजनबाट आशीर्वचन ग्रहण गर्नुलाई नकारात्मक रूपमा लिनुहुँदैन।
परिवार, आफन्त, कुलकुटुम्ब र बन्धुबान्धवसँग रमाउनुलाई सकारात्मक रुपमा ग्रहण गर्नुपर्छ। विश्वका विभिन्न मुलुकमा छरिएर रहेसँगै बडा दसैं पनि विस्तारित भएको छ। एक किसिमले दशै विश्वव्यापीकरण हुँदै गएको छ। संस्कृति, परम्पराका दृष्टिले हामी अग्रगतिमा गइरहेको प्रमाण पनि हो।अहिले हाम्रो समाज गतिमान भएको छ। समयसँगै परिवारका सदस्यहरू पनि गतिशील हुनुपर्ने छ। त्यसैले दसैं पनि वृहत्तर भएको छ। यस पर्वलाई अझ बृहत्तर बनाउँदै लैजानुपर्छ।