लामखुट्टेको प्रकोप बढेपछि वीरगन्जका ३२ वडामै विषादी छर्ने तयारी
वीरगन्ज : वीरगन्जमा लामखुट्टेको प्रकोप बढेको जन गुनासो आएपछि वीरगन्ज महानगरपालिकाले विषादी छर्ने तयारी गरेको छ। आगामी कार्तिक १ गतेदेखि महानगरका वडा–वडामा लामखुट्टे नियन्त्रणका लागि विषादी छर्न सुरु गरिने महानगरपालिकाको सरसफाई व्यवस्थापन महाशाखाका प्रमुख सर्फुदिन मियाँले जानकारी दिए।
लामखुट्टेको प्रकोप र त्यसबाट फैलिन सक्ने डेंगु, मलेरिया जस्ता प्राणघातक रोगको संक्रमण नियन्त्रणका लागि कार्तिक १ गतेदेखि लामखुट्टे मार्ने विषादी छर्ने काम सुरु गरिने मियाँले बताए। महानगरका मेयर राजेशमान सिंहको निर्देशन अनुसार लामखुट्टेको लार्भा मार्नका लागि एयर स्प्रे र पम्प स्प्रे गर्ने तालिका रहेको उनले बताए।
मियाँका अनुसार विषादी, पानी र मट्टितेलको मिसावट गरी बनाइएको स्प्रे कार्तिक १ गतेदेखि सुरु गरिनेछ। जाडो मौसमको सुरुवातमा लामखुट्टेको प्रकोप बढ्ने भएकाले त्यसलाई नियन्त्रणका लागि महानगरले हरेक वडामा दैनिक तालिका बनाएरै बिहान र बेलुका ‘एयर स्प्रे’ र `पम्प स्प्रे´गरिने उनले बताए । विषादी छर्ने अभियान ३२ वटै वडामा कार्तिक २८ गतेसम्म चल्ने मियाँले जानकारी दिए।
वीरगन्जका मेयर सिंहले नगरवासीलाई लामखुट्टेको प्रकोपबाट बचाउन दैनिक तालिका बनाएर हरेक वडामा विषादी छर्ने व्यवस्था मिलाउन निर्देशन दिएको बताए ।
चिसो र गर्मी मौसम सुरु हुँदै गर्दा वीरगन्जमा लामखुट्टेको अत्यधिक प्रकोप बढेको छ। लामखुट्टे हुर्कन नदिन र हुर्किसकेका लामखुट्टे नियन्त्रण गर्न महानगरले विषादी छर्कने अभियान सञ्चालन गर्दै आएको छ।