ताकमकोतको ठेलो फाल्ने प्रतियोगितामा नवौं पटक विजेता बने खत्री

ताकमकोतको ठेलो फाल्ने प्रतियोगितामा नवौं पटक विजेता बने खत्री
ताकमकोतको ठेलो फाल्ने प्रतियोगितामा विजयी अशोक खत्रीलाई काँधमा बोकेर डुलाइँदै । तस्बिर : सन्तोष गौतम

बेनी  : म्याग्दीको धवलागिरी गाउँपालिका–७ स्थित ऐतिहासिक ताकमकोतमा विगत आठ सय वर्षदेखि महानवमी पर्वको अवसरमा पहलमान छान्नका लागि आयोजना गरिँदै आएको ठेलो फाल्ने प्रतियोगितामा अशोक खत्रीले कीर्तिमान बनाएका छन् । 

सोही वडाका अध्यक्ष समेत रहेका खत्रीले नवौं पटक ताकमकोतको ठेलो फाल्ने प्रतियोगिताको उपाधी जितेर इतिहाँस रचेका हुन् ।  आठ दशमलव पाँच किलोग्राम तौल भएको फलामको छेलोलाई सहभागीमध्ये सबैभन्दा टाढा फालेका खत्रीलाई ‘माल’ घोषणा गरिएको थियो । 

खत्री बाहेक हालसम्म नवौंपटक ताकमकोतको ठेलो फाल्ने प्रतियोगिता कसैले पनि नजितेका कोतपुजा व्यवस्थापन समितिका सदस्य तेजिन्द्रबहादुर थापाले बताए । 

‘प्रतियोगितामा ताकम र आसपासका गाउँका ३२ जना युवाहरूले सहभागिता जनाएका थिए,’ उनले भने ‘पश्चिम म्याग्दीको महत्वपूर्ण शक्तिपिठ मानिने ताकमकोतको ठेलो प्रतियोगितामा बिजयी हुनेलाई यस क्षेत्रमा माल भनेर सम्मान गरिन्छ ।’

बि.स. २०७१ देखि २०७७ सम्म लगातार सात पटक उपाधी जितेका खत्रीले २०७८ मा सहभागिता जनाएका थिएनन् । २०७९ मा मालिका गाउँपालिका–१ निस्कोटका याम परियारसँग पराजित भएका थिए । 

निरन्तरको अभ्यास, शारीरिक व्यायाम र स्वच्छ खानपानले उपाधी जिताउन सहयोग गरेको खत्रीले बताए । ‘वि.स. २०७८ मा आमाको निधन भएको र २०७९ मा जनप्रतिनिधिको रुपमा काम गर्दा तयारी नपुगेर सफल भएको थिइन,’उनले भने ‘गत वर्ष एक महिनादेखि तयारी गरेको थिए । यसपाली विगतको मेरो रेकर्ड तोड्ने कोही पनि प्रतिस्पर्धी नदेखेपछि तयारी नभएपनि अन्तिममा प्रतिस्पर्धामा उत्रिएको थिए । एकै पटकमा अरुले भन्दा टाढा ठेलो फाले । सोख पुुरा भएकोमा खुसी छु ।’ 

मालको सम्मानले समाजमा स्थापित गराउन र निर्वाचनमा उम्मेदवार बनेर चुनाव जित्न सजिलो भएको खत्रीको अनुभव छ । भलिबल र बास्केटबलका खेलाडी समेत रहेका स्नातक तहको शिक्षा हाँसिल गरेका खत्री नेकपा (माओवादी केन्द्र)को वडा कमिटिका अध्यक्ष पनि हुन्। । जनप्रतिनिधिको जिम्मेवारी पूरा गरेपछि खेल प्रशिक्षक बन्ने खत्रीको लक्ष्य छ । 

खत्रीलाई गण्डकी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री रेशम बहादुर जुग्जाली, धवलागिरी गाउँपालिकाका अध्यक्ष प्रेमपसाद पुन, धवलागिरी गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगर, पूर्व उपध्यक्ष रेशम छन्त्याल लगायतले फेता गुटाएर सम्मान गरेका थिए ।  

स्थानीयबासीहरूले खत्रीलाई काँधमा बोकेर बाजागाजासहित गाउँ परिक्रमा गराएका थिए । महानवमी पर्वको अवसरमा परम्परागत चलन अनुसार ताकमकोतमा मच्छिमका छन्त्याल र काफलडाडाका मगर समुदायले पुख्र्यौली नाच र हिलापोखरीका कलाकारहरूले नौमती बाजा प्रस्तुत गरेका थिए । 

वि.स १२४६ देखि १५४५ सम्म बगाले थापाको र १५४६ देखि १८८२ सम्म मल्ल राजाले ताकमकोतबाट राज्य सञ्चालन गरेको इतिहास छ । वाइसे चौविसे राजाले हरेक वर्षको वडादशैंको महानवमी पर्वको अवसरमा आठ सय वर्ष अघि ठेला (छेलो) फालेर पहलमान पहिचान गर्न बसाएको चलनलाई अहिलेम्म पनि निरन्तरता दिइएको छ । 

ताकमकोतमा आयोजना हुने ठेलो फाल्ने प्रतियोगिता जितेर माल (पहलमान)को सम्मान पाउने यस क्षेत्रका हस्टपुष्ट र अग्लो शरीर भएका बलिया बाङ्गा युवाहरूको पुर्खौ अघिदेखिको शोख भएको ताकमकोत संरक्षण व्यवस्थापन समितिका सदस्य रिमप्रकाश थापाले बताए ।   

‘ठेलो फाल्ने यस क्षेत्रका युवाहरुमाझ लोकप्रिय खेल भएपनि ताकमकोतको ठेलोमा जित्नेको छुट्टै महत्व र पहिचान हुने भएकाले यसलाई युवाहरूले प्रतिष्ठाको विषय बनाउने गरेका छन,’उनले भने ‘तत्कालीन थापा राजाका पालामा सुरू भएको माल पहिचान गर्न ठेलो फाल्ने प्रतियोगिता आयोजना गर्ने चलनलाई अहिले पनि निरन्तरता दिएका छौं ।’ 

माललाई फेता गुटाएर काँधमा बोकेर गाउँ परिक्रमा गराएर सम्मानका साथै नगद उपहार दिने चलन छ । मेला महोत्सव र सभा सभारोहरूमा मालको उपमा दिएर सम्बोधन गर्ने गरिन्छ । पहिले पहिले ताकमकोतको ठेलोमा प्रतिस्पर्धा जनाउनेहरू बर्खामा लेकको बुकीका गोठमा गएर दूध, दही, घ्यू खाने चलन रहेको बुढापाका बताउँछन् । 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.