राष्ट्रिय टिममा फर्किने प्रतिभाको हुटहुटी, भन्छिन्- भलिबलका सुनौला दिनहरू फर्किँदैछन्
जोमसोम : केही हप्ताअघि नेपाली महिला भलिबलकी चर्चित स्पाइकर प्रतिभा माली भलिबल खेल्न मुस्ताङ आइन्। मुस्ताङमा सम्पन्न ५१औं संस्करण मुस्ताङ थाक खेलकुद कार्यक्रमअन्तर्गत उनीसँगै न्यू डाइमण्ड टिमका ३ जना राष्ट्रिय महिला भलिबल खेलाडी मुस्ताङ आएका थिए।
मालीसहित सलिना श्रेष्ठ र प्रगतीनाथ थाक भलिबल खेल्न मुस्ताङ आएका थिए। राष्ट्रिय महिला भलिबल टिममा पहिलो रोजाईका यी खेलाडीलाई यहाँसम्म ल्याउने चाँजापाँजो निलगिरी युवाक्लब टुकुचेले गरेको थियो। उनीहरूलाई मुस्ताङमा आएर भलिबल प्रतियोगितामा सहभागी गराउने र त्यसका अलावा उचित पारिश्रमिकसहित मुस्ताङ घुमाइदिन सर्तसहित उनीहरू मुस्ताङ आएका थिए। त्यसो त माली यस्तै प्रतियोगितामा सहभागी हुन ५ वर्षअघि पनि मुस्ताङ आइकी थिइन्।
७ वर्षको उमेरदेखि न्यू डाइमण्ड एकेडेमीमा रहेर भलिबल खेलको प्रतिभाको खेलयात्रा कक्षा ६ मा पढ्दादेखि सुरु भएको थियो। २०६५ देखि भलिबल खेल्न थालेकी प्रतिभाको बाल्यकाल भलिबलकै संगतमा बित्यो। एकेडेमीमा रहँदा दिदीहरू भलिबल खेल्ने र आफूले बल छोपेर दिने गरेकी प्रतिभाले आजको १६ वर्षअघि भलिबल खेलमा डेब्यु गरेकी थिइन्।
सुरुवाती चरणमा भलिबल खेल्दा उनीसँग एपीएफकी चर्चित स्पाइकर सरस्वती चौधरी पनि न्यु डाइमण्डबाटै खेल्ने गर्थिन्। पछिल्लो समय भलिबल खेल्ने क्रममा खुट्टामा चोट लागेपछि उनी रेस्टमा थिइन्। खुट्टाको चोट केही कम भएपछि खेलमा फर्किएकी प्रतिभा पुनः सोही खुट्टामा चोट लागेपछि लामो समयसम्म आराम गरेर बसेकी थिइन्। चोटकै कारण हालै काठमाडौंमा सम्पन्न महिला अन्तर्राष्ट्रिय काभा भलिबल खेल्नसमेत उनी वञ्चित भएकी थिइन्। उनी अब चिकित्सकको परामर्शअनुसार केही महिनामा पुनः राष्ट्रिय टिममा फर्किँदैछिन्।
खुट्टाको दुखाइ कम भएपछि प्रतिभा भलिबल खेल्न भनेर मुस्ताङ आएकी हुन्। मुस्ताङमा भलिबल खेल्न निकै मजा आएको उनले बताइन्। समुन्द्री सतहको २७ मिटर अग्लो उचाईमा भलिबल खेल्नुको मज्जा बेग्लै हुने र यसको अनुभव पनि अन्य स्थानमा खेलेको भन्दा पृथक हुने उनको भनाइ छ।
‘पहाडै पहाड र हिमालको बीचमा भलिबल खेल्दा बेग्लै अनुभूति हुँदोरैछ। हिमालपारिको यो स्थान मेरो मनपर्ने स्थान पनि हो,' उनी भन्छिन्,‘ यहाँ भलिबल त खेल्न पाइयो। प्रतिस्पर्धा राम्रो हुन सकेन। प्रतिस्पर्धा कडा हुन्थ्यो भने यहाँको खेल अनुभव पनि राम्ररी गर्न पाइन्थ्यो।’
सधैं बेसीको स्थानमा भलिबल खेल्दै आएका आफूहरू उच्च भूगोलमा खेल खेल्नु निश्चितरूपमा सहज नहुने प्रतिभाले सुनाइन्। ‘प्रतिस्पर्धात्मक खेल भइदिएका भए हामीलाई थकान महुसस हुन्थ्यो। अल्टिच्यूडको अनुभव हुन्थ्यो,' प्रतिभाले भनिन्।
मुस्ताङमा भलिबल खेल्दा हावाले बलको कनेक्सन बिगार्ने गरेको उनले अनुभव सुनाइन्। ‘मुस्ताङमा १२ बजे हावा सरर भन्ने गीत नै छ। साँच्चै यहाँ १२ बजे आउट डोर भलिबल खेल्न गाह्रो हुँदोरैछ,' उनले भनिन्।
भलिबल खेल्दा लागेको चोट निको पार्न उनको घुँडाको शल्यक्रिया गरिएको थियो। यसकारण उनी राष्ट्रिय प्रतियोगिताहरूमा देखा परेकी थिइनन्। प्रतिभा साविकजस्तै भलिबल खेलमा फर्किन नियमित जिम गर्ने गरेको बताइन्। ‘पहिलो खुट्टालाई बलियो बनाउन भनेर आराम गरेर बसेकी थिएँ। अब भलिबल खेल्न समस्या नपर्ने चिकित्सकले बताएकाले अब चाँडै राष्ट्रिय टिममा फर्किने तयारी गरेकी छु,' उनले भनिन्।
उनले खेलकुदको माध्यमबाट खेल पर्यटनको विकास गर्न सकिने बताइन। खेल र पर्यटन एक अर्कोका परिपूरक भएको र आफूहरू पनि खेलकुदका माध्यमबाट मुस्ताङ आउन पाएको उनको भनाइ छ। ‘हामी यहाँ खेल खेल्न आयौं। तर, खेल खेलेर फर्किहाल्ने भन्ने हुँदैन,' उनले थपिन्, ‘मुक्तिनाथ दर्शनसँगै कोरला नाका र यहाँका अन्य रमणीय स्थानहरूको अवलोकन गरेर फर्किने छौं।’
उनले नेपालमा भलिबल खेलको भविष्य राम्रो भएको बताइन्। 'हामीलाई भलिबल संघले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा सहभागी गराइरहेको छ। अलिकति मेहनत र साधना गर्नुपर्ने हुन्छ। खेल खेलेर राम्रो गर्न सकिँदैन भन्ने छैन। भलिबलका सुनौला दिनहहरू फर्किँदैछन्,' उनले भनिन्।