नसुनाई दिनु है !
“आफ्नैले जब पराइ ठान्न थाल्दो रैछ,
जस्को लागि रहर साँच्यो उसले गाल्न थाल्दो रैछ ।
रहरसंग खुशी साट्दै उमेरैले नेटो काट्दा १
उहाँ भन्दै जानु भयो । म सुन्दै गएँ । कहिले उहाँको बोली बोल्दाबोल्दै रोकिन्थे । आमा छेवैमा चाख मानेर सुनिरहनु भएको थियो । धोतीको सप्कोले कहिले आँखा पुछ्दै¸ आँखाबाट झरेका आँसुहरुलाई लुकाउने असफल प्रयासमा मेरा नजर छल्दै हुनुहुन्थ्यो । उहाँले पोखेका शब्दहरुले पिडा वर्षाइरहेका थिए । चोटै चोटले छियाछिया परेको मुटु लिएर जीवनसंगिनीका लागि हाँसिरहको एउटा बिम्व झल्किरहेको थियो ।
दिउँसोको मध्य घाम¸ शिरमा परेको सूर्यको किरणले पसिना बगिरहेका थिए । समी रुखको शितल छहारीले चौतारीमा शितल दिई रहेको थियो । त्यही चौतारीमा थकाइ मारिरहनु भएको करिव ८०-८५ वर्षका वृद्ध बाबाआमा । बाबाले पोखेका वेदनाका वाणहरुले भावुक बनाइरहेको थियो । शितल पवनलाई चर्को घामले चुनौती दिइरहेको थियो । हल्का हल्का चलिरहेको हावा र शितलताले घामको तापलाई मन्द मन्द पनि बनाइरहेको थियो ।
सहरको वसाइले होला गाउँमा पैदल हिँड्ने बानीलाई पन्छाइसकेको थिएँ । धेरैपछिको पैदल यात्रा त्यो पनि भदौरे चर्को घाम । चौतारीको बसाइले मेरा पसिनाहरु ओभाउँदै थिए । घामको किरण छलिने छायापट्टी उहाँहरु हुनुहुन्थ्यो । चौतारीमा ठडिएको समीको हाँगा छिचोल्दै चर्को घामले हिर्काइ रहेको थियो । भन्नुभयो “ त्यता घाम छ नानी अलि वर आउ ” । उहाँहरुको बोलीमा स्नेह र ममता भरिएको थियो । उहाँहरुको नजिकै गएँ । बाबाले सोध्नु भयो “ बाबु कताबाट आयौ यो चर्को घाममा! उकाली बाटो चर्को घाम! बाटो काट्न गाह्रै हुन्छ ”। बाबाको त्यो स्नेहमिस्रित बोलीले मलाई कता कता आफ्नै बाबाआमाले सुझाएको आभास हुन थाल्यो ।
आमा बित्नु भएको करिव १७ वर्ष र बाबा गुमाएको पनि करिव ९ वर्ष बितिसकेका थिए । बाबाले अन्तिम स्वास लिँदै “गाउँको पुर्यख्यौली जग्गा मध्ये केही विद्यालयलाई दिएको छु । तैंले पनि त्यो घरतलको साब्जेको गरो विद्यालयलाई दान गरिदिनु है” उहाँको आदेश कार्यान्वयनका लागि गाउँतर्फ लागेका मेरा पाइलाहरु चौतारीको बसाइमा आफ्ना उही बाबाआमालाई भेटेझैं भइरहेको थियो । हामी विचका एकैछिनको कुराकानीले निकटता वढ्दै थियो । उहाँ पनि मसंग खुल्दै हुनुहुन्थ्यो । मनभित्रका विरहका पोकाहरु खोल्दै हुनुहुन्थ्यो । मैले आफ्नो झोला खोलें । बाटोमा हिँड्दा आफुले चाहेका खानेकुराहरु नपाउन सक्छ । त्यसैमा, म शाकाहारी जहाँ पायो त्यहाँ बसेर खान नरुचाउने परेँ । झोलामा केही फलफूलहरु स्याउ र केरा पनि बोकेको थिएँ । झोलाबाट केरा झिकेर बाबा र आमालाई दिएँ । बाबा¸ पर्दैन बाबु पर्दैन भन्दैहुनुहुन्थ्यो तर आमाले समाउनु भयो । मेरा आँखा उहाँको आँखासंग जुधे । आमाका आँखा रसाइसकेका थिए ।
एक छोरी र एक छोरा सहितको चारजनाको परिवार खेतीपाती किसानी जीवनसंग रमाउँदै राम्रैसंग गुज्रिरहेको थियो । छोराछोरीको चाहना अनुसार छोरा र छोरीलाई उच्च अध्ययनका लागि काठमाण्डौ पठाउने निर्णय गरी सहरमा पढाउँदै थिए । छोराछोरीको पढाइको क्रम चल्दै गयो । सहरको महंगो वसाईलाई खेतीपाती र किसानीले धान्न सकिरहेको थिएन । साहुसंग ऋण लिँदै जसोतसो छोराछोरीको खर्च धान्दै आएका वृद्ध दम्पतीले ऋण चुकाउन र सहरमा खर्च पठाउनकै लागि आफ्नो घरजग्गा विक्री गरे । ऋण चुक्तागरी बाँकी रहेका पैसा छोराछोरीलाई पठाउने र आफुहरु पनि सहरमा छोराछोरीसंगै बस्ने निर्णयमा पुगे । छोराछोरीहरु पनि पढाइको शिलशिलामा काठमाण्डौ गएको दशवर्ष वितिसकेको थियो । दशवर्षसम्म त जसोतसो धान्दै आए । उमेरले लछार्दै लगेको कमजोर शरीरमा थप आयआर्जन गाउँमै गर्न सक्ने शक्ति हराउँदै थिए । श्रीमतीसंगको सल्लाहमा सहरतर्फ लागे ।
वृद्ध दम्पतीले सहर आएपछि चाल पाए । दाजु बहिनी साथमा थिएनन् । आफैंले रोजेर छोरीले वैवाहिक जीवन सुरु गरिसकेकी रहेछिन् । छोराले पनि घरजम बसाइसकेको रहेछ । घरमा भएका बाबाआमालाई थाहै नदिइ वैवाहिक जीवनमा गाँसिएका छोराछोरीको चालाले वृद्ध बाबाआमाको चित्त दुखायो । आफूले खाइ नखाइ छोराछोरीको लागि गरेको दुःखको नतिजा आफूले सोचेअनुसार नपाउँदा अतितलाई झलझली सँझिरहेका थिए । तर पनि संयम हुँदै वर्तमानको डोरी समाएर अगाडि बढ्न कस्सिए । छोरीसँग भेट हुन पाइसकेको थिएन । छोराको घरमा बसेको पनि करिब तीन महिना बित्दै थियो । छोरा र बुहारी दुबै जागिरे । घर कुरेर छोरा बुहारीसमेतका लागि खाना पकाएर राति अबेरसम्म पर्खनु नियमित तालिका बनिसकेको थियो । छोराबुहारीहरुको खानपान, घरको सरसफाइ दैनिकी बन्यो । दिनहरु बित्दै थिए । घर बाहिर निस्कन बन्देजजस्तै थियो । नचिनेको नजानेको ठाउँ एकलै जानु पनि त कता! गाउँबाट सहर झरेका ती वृद्धवृद्धालाई सहरका गल्ली बाटाहरूको जानकारी पनि थिएन । काठमाडौं आएर पशुपतिनाथको दर्शनसम्म गर्न पाएका थिएनन् ।
एकदिन! शनिबारको त्यो दिन । छोरा-बुहारी दुवैको बिदा थियो । बिदाको दिन छोरा र बुहारी ढिलै ओछ्यान छोड्ने बानीबाट परिचित थिए बृद्ध बाबाआमा । छोराबुहारीको कोठाको ढोका खुल्यो । छोरा-बुहारी दुबै कोठाबाट बार्दलीमा गए । बार्दलीमा राखिएको कुर्सीमा बस्दै आमा खोइ चिया भन्दै थिए । आमा भने अगाडिदेखि नै चिया तयार गरेर छोराबुहारीको पर्खाइमा थिइन् । चिया लिएर बार्दलीतर्फ गएकी आमासँग बाबा पनि साथै गए । सायद छोरासँग केही भन्न चाहन्थे । तर बाबाले मुख खोल्न चाहेनन् । आफ्ना पतीको चाहनाप्रति वृद्धा भने जानकार थिइन् । आमाले बुहारीसँग आफूहरू मन्दिर र यसो सहर घुम्न पाए हुन्थ्यो भन्ने चाहना राखिन् । बुहारीको जवाफ नआउँदै छोराको कर्कश स्वरले वृद्ध बाबाआमाको मुटु छेड्यो । “सात दिनमा एक दिन बिदा हुन्छ । यसो आराम गर्न¸ तपाईंकी बुहारीसँग बाहिर खाना नखाएको पनि महिनौं भइसक्यो । फुर्सद कहाँ पाउनु तपाइँहरुलाई घुमाउन । घरको काम उस्तै छ । सरसफाइ गर्न खोइ हात लागेकै देखिएन । गाउँको मान्छे त काम गर्न सिपालु पो हुन्छन् भन्थे । यो सहर हो सुतेर खान पाइँदैन । फेरि यो बुढेसकालमा छोराबुहारीलाई दुःख दिन पनि कति जानेको? हामीलाई हाम्रो जीवन बाँच्न दिनोस् । तपाईँहरुले रोजेको र खोजेको यहाँ पाइँदैन । हामीले चाहे अनुसार बस्न सक्ने भए बसुँ नत्र। ” छोराको वाक्य टुंगिसकेको थिएन । बुहारी हातमा बोकेको चियासँगै कोठातिर लागिन् । आमाको छाती चर्कियो । वृद्धवृद्धा चुपचाप बाहिरिए । आँगन बढार्न कुचो समाए बाबाले । धुन तयार पारेका लुगाहरुको पोको समाएर धारातिर लम्किन आमा । वृद्ध दम्पती एकआपसमा नजर जुधाउन नसकेर आफैंबाट भागिरहेका थिए ।
उमेरले नेटो काटिसकेका ती वृद्ध दम्पती एक आपसमा कहिलै रुखो व्यवहार नगरेका¸ नसुनेका । यद्यपि छोरा र बुहारीको व्यवहारबाट बाबा आफू त चिन्तित थिएनन् । तर आफूले कहिल्यै नमिठो नबोलेको आफ्नो जीवन संगिनीउपर प्रहार भएका चोटिला वचन र छोरा बुहारीले देखाएको व्यवहारले भने अति नै दुःखी थिए । एकैछिनमा छोराको आदेश आयो । “भान्सामा भात छ खानु । धोएका कपडाहरु समयमै उठाउनु । हामी आज लन्च र डिनर बाहिरै लिन्छौं” भन्दै छोरा र बुहारी बाहिरिए ।
बन्द कोठामा एक अर्कासँग भक्कानिएर रुँदै थिए । एक्कासी मलिन आवाजमा दुबैले सल्लाह गरे आजै घर छाड्ने र कतै वृद्धाश्रममा बास खोज्ने । गाउँबाट छोराछोरी भेट्ने रहरमा सहर आउँदा धोतीको फेरमा गाँठो पारेर राखेको दुइवटा हजारका नोट सुरक्षित थिए । एउटा झोलामा एकसरो लाउने लुगा र नियमित खाँदै आइरहेका दबाइहरू बोकेर बाहिरिए ठूलो संसारमा बासको खोजी गर्दै।
छोरा, बुहारी, छोरी, ज्वाइँ अर्थात् नाता सम्वन्धिबाट टाढिएको आज सात वर्ष वितिसकेछ । बासको खोजाइमा भौंतारिँदै आफ्नै गाउँ पुगेका ती वृद्ध दम्पतीलाई गाउँलेले बनाइदिएको सानो घर आज उनलाई विशाल महल भन्दा कम लागेको छैन । सहयोगी मनहरूको सहयोगमा रमाउँदै मृत्युको पर्खाइमा रहेका ती वृद्ध दम्पती एक अर्काका लागि जीवन बाँचिरहेका छन् ।
बाबाले आफ्ना अतीत सुनाइरहँदा आमाले पनि उत्तिकै चाख लिएर सुनिरहनु भयो । केही छुटेका सन्दर्भहरूलाई आमाले बीच बीचमा समेट्दा उहाँहरूबीचको समर्पण स्पष्ट झल्किरहेको थियो । म पनि उहाँहरूको जीवनकथा सुन्दै गएँ । कतिखेर आँखाबाट आँशु झरिसकेछन् थाहै पाइनँ । एक्कासी वृद्ध आमाको बोलीले झस्किएँ । आँखाबाट झरेका आँसु पुछ्दै सामान्य बन्ने कोसिस गरेँ । उहाँ भन्दै हुनुहुन्थ्यो “नानी¸ खुशी भनेको पाउनुमात्रै होइन रहेछ । हामी दुखी छैनौं । तर, पनि आफुले जन्माएका छोराछोरीको माया सजिलै कहाँ मेटिँदो रहेछ र! नाती नातीना कस्ता भए होलान्! कत्रा भए होलान् १ तिनीहरूको जीवनमा सधैं खुशियाली छाइरहोस् । अनि बाबु पनि सहरको मान्छे कतै हाम्रा छोराछोरोसँग पनि भेट हुन सक्दो हो! कदाचित भेट भइहाल्यो भने पनि हाम्रो कथा चाहिँ नसुनाई दिनु है।” बुबा अर्कोतिर फर्केर गुनगुनाइ रहनुभएको थियो ।
मुर्छिँदै बौराउँदै भएपनि साँच्नु पर्दो रहेछ जीवन,
रुनकै लागि भएपनि हाँस्नु पर्दो रहेछ जीवन ।
खुशीका बली दिएर आँसु पिउँदै किन नहोस् !
मर्नकै लागि भएपनि बाँच्नु पर्दो रहेछ जीवन ।।