बढ्यो विदेशी विनिमय सञ्चिति
काठमाडौं : मुलुकको बाह्य क्षेत्र सुधारिएको नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकले देखाएको छ। विदेशी विनिमय सञ्चिति अहिलेसम्मकै उच्च हुनु, रेमिट्यान्समा वृद्धि, चालु खाता बचतलगायतका कारणले बाह्य क्षेत्र सन्तोषजनक अवस्थामा रहेको छ। २०८१/८२ को भदौ महिनासम्म विदेशी विनिमय सञ्चिति २१ खर्ब ५२ अर्ब रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको असार मसान्तमा भन्दा चालु आर्थिक वर्षको भदौ महिनामा ५.५ प्रतिशत विदेशी विनिमय सञ्चिति बढेको हो। राष्ट्र बैंकले सार्वजनिक गरेको मुलुकको आर्थिक तथा वित्तीय स्थितिका अनुसार विदेशी विनिमय सञ्चिति १६.८ महिनाको वस्तु आयात र १३.७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ।
२०८१ असार मसान्तमा २० खर्ब ४१ अर्ब १० करोड बराबर विदेशी रुपैयाँ सञ्चिति रहेको थियो। कुल विदेशी विनिमय सञ्चितिमध्ये केन्द्रीय बैंकमा रहेको सञ्चिति १९ खर्ब २८ अर्ब छ। असार मसान्तमा यस्तो सञ्चिति १८ खर्ब ४८ अर्ब रहेको थियो। यस्तै केन्द्रीय बैंकबाहेक अन्य बैंक तथा वित्तीय संस्थासँग यस्तो सञ्चिति २ खर्ब २३ अर्ब रहेको छ। असार मसान्तमा बैंक तथा वित्तीय संस्थासँग यस्तो सञ्चिति १ खर्ब ९२ अर्ब रहेको थियो। २०८१ भदौ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.१ प्रतिशत छ।
भदौ मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरू क्रमशः ३७.७ प्रतिशत, ११४.४ प्रतिशत र ३०.८ प्रतिशत छन्। असार मसान्तमा उक्त अनुपातहरू क्रमशः ३५.८ प्रतिशत, १०८.६ प्रतिशत र २९.३ प्रतिशत रहेका थिए।
आर्थिक वर्ष २०८१/८२ को दुई महिनामा कुल वस्तु निर्यात ५.१ प्रतिशतले घटी २५ अर्ब ९ करोड छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा ७.८ प्रतिशतले कमी आएको थियो। गन्तव्यका आधारमा भारत, चीन र अन्य मुलुकतर्फ भएको निर्यातमा क्रमशः ४.५ प्रतिशत, ४५.३ प्रतिशत र ३.९ प्रतिशतले कमी आएको छ। वस्तुगत आधारमा चिया, पार्टिकल बोर्ड, पिना, जुत्ता तथा चप्पल, सोयाविन तेल लगायतका वस्तुको निर्यात बढेको छ भने अलैंची, जिंकशिट, पाम तेल, तयारी पोसाक, जडिबुटीलगायतका वस्तुको निर्यात घटेको छ।
समीक्षा अवधिमा कुल वस्तु आयात १.१ प्रतिशतले वृद्घि भई २ खर्ब ६२ अर्ब ५४ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ५.१ प्रतिशतले कमी आएको थियो। वस्तु आयात गरिने मुलुकका आधारमा भारत तथा अन्य मुलुकबाट भएको आयात क्रमशः ०.१ प्रतिशत र ५.१ प्रतिशतले कमी आएको छ भने चीनबाट भएको आयात ११.९ प्रतिशतले वृद्धि भएको छ।
वस्तुगत आधारमा यातायात उपकरण, सवारी साधन तथा अन्य सवारी साधनका स्पेयर पार्ट्स, खाने तेल, रासायनिक मल, दूरसञ्चार उपकरण तथा पार्ट्स, लसुनलगायतका वस्तुको आयात बढेको छ भने सुन, एमएस विलेट, धान तथा चामल, कच्चा पाम तेल, विद्युतीय उपकरण लगायतका वस्तुको आयात घटेको छ।
समीक्षा अवधिमा चालु खाता बचत पनि बढेको छ। समीक्षा अवधिमा ४९ अर्ब ६९ करोडले चालु खाता बचतमा छ। अघिल्लो वर्षको सोही अवधिमा चालु खाता २३ अर्ब ९७ करोडले बचतमा थियो। शोधनान्तर स्थिति १ खर्ब १ अर्ब ७७ करोडले बचतमा छ। अघिल्लो वर्षको सोही अवधिमा शोधान्तर स्थिति ५५ अर्ब १० करोडले बचतमा रहेको थियो। अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ४१ करोड ७० लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ७५ करोड ७९ लाखले बचतमा रहेको छ।
मूल्यवृद्धिमा न्यून चाप
चालु आर्थिक वर्षको भदौ महिनामा उपभोक्ता मुद्रास्फीति ४ प्रतिशतभन्दा कम रहेको छ। केन्द्रीय बैंकको तथ्यांक अनुसार भदौमा मुद्रास्फीति ३.८५ प्रतिशतमा सीमित रहेको छ। अघिल्लो वर्षको भदौ महिनामा यस्तो मुद्रास्फीति ८.१९ प्रतिशत रहेको छ। समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.०३ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.१९ प्रतिशत रहेको छ। समीक्षा वर्षमा यी समूहहरूको मुद्रास्फीति क्रमशः ९.७७ प्रतिशत र ७.१९ प्रतिशत रहेको भनिएको छ। यस्तो मुद्रास्फीति सबैभन्दा धेरै सुदूरपश्चिम प्रदेशमा र सबैभन्दा कम बागमती प्रदेशमा रहेको देखिन्छ।
प्रदेशगत रुपमा मुद्रास्फीति
कोशी प्रदेशः ४.६६ प्रतिशत,
मधेस प्रदेशः ३.८२ प्रतिशत,
बागमती प्रदेशः ३.२९ प्रतिशत,
गण्डकी प्रदेशः ३.५० प्रतिशत,
लुम्बिनी प्रदेशः३.५३ प्रतिशत,
कर्णाली प्रदेशः ३.५६ प्रतिशत र
सुदूरपश्चिम प्रदेशः ५.९० प्रतिशत
खुद्रा बजारको पनि मूल्यवृद्धि २.७५ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ४.७८ प्रतिशत रहेको थियो। समीक्षा महिनामा उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको वार्षिक बिन्दुगत थोक मुद्रास्फीति क्रमशः १.३९ प्रतिशत, ३.५६ प्रतिशत र २.७७ प्रतिशत रहेको छ। समीक्षा महिनामा निर्माण सामग्रीको थोक मुद्रास्फीति ४.२२ प्रतिशतले घटेको केन्द्रीय बैंकको तथ्यांकमा उल्लेख छ।
२ खर्बभन्दा बढी रेमिट्यान्स भित्रियो
अघिल्लो वर्षको तुलनामा करिब ३ प्रतिशतले घटे पनि भदौ महिनासम्म २ अर्ब ६३ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। समीक्षा अवधिमा विप्रेषण आप्रवाह १५.२ प्रतिशतले वृद्धि भएको छ भने अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १८.७ प्रतिशतले बढेको थियो। अमेरिकी डलरमा विप्रेषण आप्रवाह १ अर्ब ९६ करोड पुगेको छ। अघिल्लोवर्ष यस्तो आप्रवाह १ अर्ब ७३ करोड रहेको थियो। समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ७६ हजार ४८५ र पुनः श्रमस्वीकृति लिनेको संख्या ४० हजार ५८३ रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ७४ हजा ४५५ र ३२ हजार ४ जना रहेको थियो। समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) २ खर्ब ८६ अर्ब ४५ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय २ खर्ब ५१ अर्ब ६५ करोड रहेको थियो।
समीक्षा अवधिमा खुद सेवा आय २८ अर्ब २० करोडले घाटामा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय २५ अर्ब २३ करोडले घाटामा रहेको थियो। सेवा खाताअन्तर्गत समीक्षा अवधिमा भ्रमण आय भने बढेको छ। यस्तो आय १२.१ प्रतिशतले वृद्धि भई १० अर्ब ५३ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ९ अर्ब ४० करोड रहेको थियो। समीक्षा अवधिमा सेवा खाताअन्तर्गत भ्रमण व्यय २२.२ प्रतिशतले वृद्धि भई ४३ अर्ब ४९ करोड पुगेको छ। यसमध्ये शिक्षातर्पmको व्यय २८ अर्ब १६ करोड रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय ३५ अर्ब ५९ करोड रहेकोमा शिक्षातर्फको व्यय २३ अर्ब ३३ करोड रहेको थियो।
आर्थिक वर्ष २०८१/८२ को दुई महिनामा नेपाल सरकारको कुल खर्च १ खर्ब ३७ अर्ब ५५ करोड रहेको छ। जसमा चालु खर्च ८२ अर्ब ९९ करोड, पूँजीगत खर्च १४ अर्ब ८९ करोड र वित्तीय व्यवस्था खर्च ३९ अर्ब ६७ करोड रहेको छ। सरकारको कुल राजस्व परिचालन (प्रदेश सरकार तथा स्थानीय सरकारमा बाँडफाँट हुने रकमसमेत) १ खर्ब ६६ अर्ब ३९ करोड पुगेको छ। यस अन्तर्गत कर राजस्व १ खर्ब ४५ अर्ब १९ करोड र गैरकर राजस्व २१ अर्ब १९ करोड परिचालन भएको बताइएको छ। भदौ मसान्तमा केन्द्रीय बैंकमा सरकारको २ खर्ब ६९ अर्ब ५३ करोड (प्रदेश सरकार तथा स्थानीय सरकारको खातामा रहेको रकमसमेत) नगद मौज्दात रहेको छ। २०८१ असार मसान्तमा यस्तो मौज्दात ९१ अर्ब ७८ करोड रहेको थियो।
समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ३५ अर्ब ३ करोड (०.५ प्रतिशत) ले बढेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप ७ अर्ब ५६ करोड (०.१ प्रतिशत) ले घटेको थियो। समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ७३ अर्ब ३९ करोड (१.४ प्रतिशत) ले बढेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ३३ अर्ब ६० करोड (०.७ प्रतिशत) ले बढेको थियो। वार्षिक बिन्दुगत आधारमा २०८१ भदौ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रतर्पm प्रवाहित कर्जा ६.६ प्रतिशतले बढेको छ।