कैलाली : कैलालीको पहाडी चुरे गाउँपालिका–५ निङलाडीका ३० वर्षीय गोविन्द धामीको परिवार २०७० सालमा बझाङबाट बसाईं सर्यो। छ जना परिवारको पालनपोषणका लागि बझाङको हिमाली क्षेत्रमा पाइने यार्चागुम्बामा भर पर्नुपर्ने धामीको परिवार तरकारी खेतीबाट भइरहेको आम्दानी देखेर चुरेको निङलाडी झरेको हो। धामीको परिवार त्यहाँ आएदेखि नै तरकारी खेतीमा जमिरहेको छ। १२ रोपनी जग्गामा धामीले तरकारी फलाउँदै आएका छन्।
सुदूरपश्चिमको मुख्य व्यापारिक केन्द्र धनगढीबाट नजिक, पहाडी जिल्लालाई तराईसम्म जोड्ने भीमदत्त राजमार्गको खानीडाँडा बजारबाट एक घन्टाको पैदल दूरीमा रहेको निङलाडीमा धामीले तरकारी खेती गरिरहेका छन्। तरकारी खेतीबाट भएको आम्दानीले धामीले खाडीडाँडामा जग्गा र घर जोडेका छन्। पालिकाको मुख्य आम्दानीको रुपमा रहेको तरकारी खेतीका लागि चाहिने बिउ, बिजन पाइने भेटेनरी पसल खोलेका छन्। उनको गोठभरी ६० वटा खसी बाख्रा छन्। चार भैंसी छन्। वर्षायामका साउन र भदौ महिनाबाहेक उनको बारीमा १० महिना तरकारी फल्छ।
‘टमाटर, आलु, काउली, बन्दा, लसुन, अदुवा, खुर्सानी, अकबरे खुर्सानी, भण्टा आदि तरकारी फल्छ’ धामीले भने, ‘जैविक उत्पादनको बजार माग बढेपछि हामीले जैविक तरिकाबाट तरकारी खेती गरिरहेका छौं।’
केही गैरसरकारी संस्थाहरूले जैविक विधिको महत्वबारे जानकारी दिएपछि धामीलगायत उक्त क्षेत्रका किसानहरू जैविक विधिबाट तरकारी खेती गरिरहेका छन्। भैंसीको गोबरबाट उनीहरू गड्यौला मल बनाउँछन्। तरकारीमा जैविक उपचार विधि अपनाउँछन्।
‘सुरुवातमा हामीले पनि तरकारी फलाउन विषादीहरू प्रयोग गरेका थियौं, तर अचेल जैविक झोल मल र जैविक विषादी आफैं बनाएर प्रयोग गरिरहेका छौं,’ गोविन्दले भने, ‘कम्पोष्ट मल, गड्यौला मल, झोल मलसहित किराबाट बच्नका लागि मोहनी पासो जस्ता विधि प्रयोग गर्छौं यसले हाम्रो स्वास्थ्यलाई पनि मद्दत पुग्छ भने उत्पादन पनि राम्रै भएको छ।’
गोविन्दले तरकारी खेतीबाट वार्षिक ८ लाख रुपैयाँसम्म आम्दानी गर्ने गरेका छन्। गत वर्षको असारसम्म उनले ५५ क्विन्टल टमाटर, १५ क्वीन्टल बन्दा, ४ क्वीन्टल खुर्सानी, ४ क्वीन्टल आलु, ५ क्विन्टल लसुन, ३ क्वीन्टल अदुवा बिक्री गरेका थिए।
गोविन्द मात्रै होइन् सोही गाउँकी पवन बुढाको परिवारसमेत तरकारी खेतीको आम्दानीबारे सुनेपछि सात वर्षअघि बाजुराबाट निङ्लाडी झरेको हो। यहाँ आएदेखि नै तरकारी खेती गरिरहेकी बुढाका आफन्तले तकारी खेतीबाट राम्रो आम्दानी गरिरहेको थाहा पाएपछि बसाइँ सरेकी हुन्। ‘बाजुरामा हाम्रो जमिन पहिरोमा परेर हामी अलपत्र परेका थियौं, हाम्रो एक जना नातेदारको परिवार यहाँ तरकारी खेती गर्दै आइरहेको थियो उनीहरूले नै यहाँ आउन भनेपछि हामी यतै बसाई सरेका हौं’ बुढाले भनिन्, ‘यहाँ आएदेखि तरकारी खेती गरिरहेका छौं, तरकारी खरिद गर्न व्यापारीहरू बारीमै आइपुग्छन्। भदौमा तरकारी लगाउन सुरु गरेपछि नै ब्यापारी बारीमै आएर खरिद गर्ने ठेक्का लिन्छन्। उत्पादन बिक्री नहुने चिन्ता छैन।’
तरकारी खेती, सुन्तला खेती, बाख्रापालन, बेसार (हल्दी) खेतीबाट आम्दानी हुन थालेपछि गाउँका अन्य मासिनहरू समेत चुरेमा बसाइ सरिरहेको बुढाले बताइन्।
तरकारी खेतीबाट राम्रो आम्दानी हुन थालेपछि सुदूर पहाडका बझाङ, दार्चुला लगायतका जिल्लाबाट बसाई सरी आउनेहरूको संख्यासमेत बढिरहेको छ। चुरे गाउँपालिका वडा नं. ५ का वडाध्यक्ष वीरबहादुर धामीले मुख्य राजमार्गको नजिकै, तरकारी खेतीका लागि हावापानी राम्रो भए पछि बझाङ र दार्चुलालगायतका जिल्लाबाट चुरे पालिकामा बसाई सरी आउनेको संख्या बढ्दै गएको बताउँछन्।
‘पछिल्ला केही वर्षयता हेर्ने हो भने चुरेका धेरै गाउँहरूमा बझाङ, दार्चुला लगायतका विकट क्षेत्रबाट यहाँ बसाई सरी आउनेहरूको संख्या बढेको छ,’ वडाध्यक्ष धामीले भने, ‘यसको मुख्य कारण तरकारी खेती, सुन्तला खेती र खेती किसानीबाट हुने आम्दानी नै हो।’
राष्ट्रिय जनगणना २०६८ मा चुरे पालिकामा ३ हजार ३ सय ६२ परिवार संख्या रहेकोमा जनसंख्या १८ हजार ९ सय २४ रहेको थियो। त्यो संख्यामा २०७८ सालसम्म आइपुग्दा उल्लेख वृद्धि भएको छ। राष्ट्रिय जनगणना २०७८ को तथ्यांक अनुसार पालिकाको परिवार संख्या ४ हजार २ सय ३९ रहेको छ भने जनसंख्या २१ हजार ४ सय रहेको छ। तथ्यांकअनुसार पालिकाको वार्षिक औसत जनसंख्या वृद्धिदर १.१८ प्रतिशत प्रतिवर्ष छ, जुन नेपालको औसत जनसंख्या वृद्धिद्धर ०.९२ प्रतिशत भन्दा बढी हो। यो तथ्यांकले समेत चुरे पालिकाको जनसंख्या वृद्धि हुँदै गइरहेको देखाउँछ।
पालिकाले २०७५ सालमा प्रकाशित गरेको पालिका पाश्र्वचित्र (प्रोफाइल) अनुसार कुल जनसंख्या मध्ये ७१ प्रतिशत जनसंख्या कृषि उत्पादनमा आश्रित छ। चुरे गाउँपालिका सुन्तला खेतीका लागि प्रख्यात छ भने पालिकाको अधिकांश गाउँमा तरकारी खेती हुँदै आइरहेको छ।
गाउँपालिकाका अध्यक्ष चक्रबहादुर बोगटी बझाङ, दार्चुला, बाजुरा, अछामलगायतका पहाडी जिल्लाबाट बसाइँ सरी आउनेको चाप रहेको बताउँछन्। पालिकामा जनसंख्या वृद्धि हुनुको मुख्य कारण तरकारी खेती, सुन्तला खेती र बाख्रा पालन रहेको अध्यक्ष बोगटीले बताए। ‘तराईको नजिकैको पालिका हुनाले बजारको समस्या छैन, बेमौसमी तरकारी, सुन्तला, बेसार खेती, बाख्रा पालनबाट वार्षिक ५/६ लाख रुपैयाँ सजिलै कमाउन सकिने भएपछि पहाडी जिल्लाबाट बसाई सर्नेको संख्या बढ्दै गइरहेको छ,’ अध्यक्ष बोगटीले भने, ‘तराईमा घरजग्गा जोड्न महँगो छ, आम्दानी त्यस्तो हुँदैन, यहाँ त १०/१५ लाख रुपैयाँमै घरजग्गा जोडेर वार्षिक राम्रै आम्दानी गरिरहेका छन्।’
अध्यक्ष बोगटीले पालिकाले समेत स्थानीयको आर्थिक विकासका जैविक तरकारी खेती, बाख्रा तथा पशुपालन, सिँचाइ सुविधा र किसानको उत्पादन निर्यात गर्न यातायातको सुविधा जस्ता क्षेत्रमा लगानी गरिरहेको बताए। जलवायु परिवर्तनको असर, उत्पादनमा आएको ह्रास र दिगो आर्थिक श्रोतको अभावमा अधिकांश पहाडी जिल्लाका गाउँबस्तीहरू रित्तिँदै गइरहेका बेला सुगम जिल्ला कैलालीको दुर्गम मानिने चुरे गाउँपालिकामा भने तरकारी तथा फलफूल खेती जनसंख्या वृद्धिको मुख्य कारण बनिरहेको छ।