शिकारीले थापेको पासोमा चितुवा पर्यो, उद्दारका लागि निकुञ्जको टोली आउँदै
टीकापुर : कैलालीको जानकी गाउँपालिका -६ स्थित कैलाशेश्वर सामुदायिक वनभित्र शिकारीले थापेको पासोमा चितुवा परेको छ । पालिकाको वडा नं.३ स्थित लायकपुर मुक्त कमैया शिविरको बस्ती छेउमै रहेको जगतपुर जाने सडक खण्डको जंगलमा शिकारीले थापेको पासोमा चितुवा परेको हो ।
घाँस दाउराका लागि स्थानीय जंगलमा गएका बेला चितुवा पासोमा परेको देखेका थिए । इलाका प्रहरी कार्यालय टीकापुरका डिएसपी नवीनराजा बुढाथोकीले सामुदायिक वन क्षेत्रमा शिकारीले थापेको पासोमा चितुवा परेको बताए ।
‘वन डिभिजन कार्यालय पहमानपुरको टोली र बर्दिया राष्ट्रिय निकुञ्जको टोली आउँदैछ,'डिएसपी बुढाथोकीले भने, ‘ढलेको रुखमा थापेको पासोमा परेको चितुवा जिवित छ ।’ गाउँबस्तीमै आएर जंगली जनावरका लागि दुःख दिन थालेपछि स्थानीयहरूले आक्रान्त बनेका थिए ।
दुई महिनादेखि चितुवाले टीकापुर क्षेत्रमा आतंक मच्चाएको थियो । गत महिना तीन दर्जन बढी बाख्रा,बंगुर र कुखुरा समेत चितुवाको आक्रमणमा परी मरेका थिए । टीकापुर बजार क्षेत्रमै रहेको बस्तीमै दिउँसो चितुवाले आतंक मच्चाउन थालेपछि स्थानीय प्रहरी प्रशासनले नियन्त्रणका लागि प्रयास गरेको भए पनि उक्त चितुवा नियन्त्रणमा आउन सकेको थिएन ।
जंगली जनावरको शिकार गर्न थापिएको पासोमा चितुवा परेपछि स्थानीयको भीड लागेको छ ।