संघीय सरकारप्रति मुख्यमन्त्री शाहको आक्रोश, ‘प्रहरी समायोजन नगर्ने हो भने विकल्प दिनुहोस्’
धनगढी : सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले संघीय सरकारले ऐनहरू समयमा नबनाएका कारण प्रदेश सरकारले धेरै कुरा अगाडि बढाउन नसकेको बताएका छन्। ६९ औं प्रहरी दिवशका अवसरमा प्रदेश प्रहरी कार्यालय धनगढीले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै मुख्यमन्त्री शाहले यस्तो बताएका हुन्।
‘देश संघीयतामा गए पनि अहिलेसम्म प्रदेशले पाउने अधिकार पाएको छैन। प्रदेशले पाउने अधिकार नपाएकै कारण प्रदेश सरकारले धेरै कामहरू अगाडि बनाउन सकेको छैन। त्यसैभित्र प्रहरी समायोजन पनि पर्छ ’, मुख्यमन्त्री शाहले भने।
उनले प्रहरी समायोजनसहितका अधिकारहरू प्रदेशमा नदिने हो भने त्यसको विकल्प पनि सोच्नुपर्ने बेला आएको बताए। ‘प्रहरी समायोजन हुन्छ वा हुदैन ? यसको जवाफ संघीय सरकारले दिनुपर्छ। संघीय नेतृत्वले दिनुपर्छ। समयमा संघीय सरकारले समायोजन प्रकृया अगाडि बढाउन पर्दछ, हैन भने त्यसको विकल्पका रुपमा के गर्न सकिन्छ ? संघीय सरकारले सोच्न जरुरी छ’, मुख्यमन्त्री शाहले भने।
उनले संघीय सरकारले योजनाहरूको सिलान्यास, उद्घाटन गरेर मात्रै होइन, प्रदेश सरकारलाई अधिकार सम्पन्न बनाएर संघीयता बलियो बनाउनेतर्फ लाग्न सुझाव दिए। प्रहरी वरिष्ठ उपरीक्षक श्यामकृष्ण अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेशका प्रमुख सचिव डाक्टर कमल पोख्रेल विशिष्ठ अतिथि रहेका थिए।
प्रहरी दिवशमा विभिन्न गण गुल्म, प्रहरी विद्यालयका विद्यार्थीहरूले सांस्कृतिक झाँकी र नृत्य प्रस्तुत गरेका थिए। प्रहरी दिवशकै अवसर पारेर डिएसपी गंगाबहादुर थापा, प्रहरी निरीक्षक गंगाबहादुर सारु, प्रहरी सहायक निरीक्षक दयाद बहादुर साउद र गंगबहादुर थापा, प्रहरी वरिष्ठ हवल्दार सुरेन्द्रबहादुर चन्द, राजेन्द्र विष्ट, देवराज कामी, नरेन्द्र बहादुर बम, प्रहरी जवानहरू हेमराज विष्ट र सुस्मिताकुमारी रोकायालाई उत्कृष्ठ प्रहरी पुरस्कार प्रदान गरिएको थियो।