धौलागिरीमा ज्यान गुमाएका विदेशीको शव संकलन गर्न थालियो
म्याग्दी : धौलागिरी हिमाल आरोहणका क्रममा ज्यान गुमाएका पाँच जना रसियन पर्वतारोहीको शव संकलन गर्न थालिएको छ। सात हजार एक सय मिटर उचाइमा मृत भेटिएका पर्वतारोहीको शव उठाउन थालिएको हो।
हेलिकप्टरबाट हिमालमा पुगेका शेर्पाको टोलीले घटनास्थलबाट शव उठाउन थालेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायब उपरीक्षक भरत श्रेष्ठले जानकारी दिए।
सेभेन समित ट्रेकका सञ्चालक मिङ्मा शेर्पाको नेतृत्वमा पाँचजना शेर्पाहरुको टोल शव उठाउन खटिएका छन्। घटनास्थलबाट इटाली आधार शिविरमा आज बिहान ११ बजेसम्म एकवटा शव झारेका र अन्य शव संकलन गरेर आधार शिविरमा ल्याउने तयारी भएको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताए।
आधार शिविरको हाइक्यापमा बास बसेर धौलागिरी आरोहणका लागि गएका उनीहरु सात हजार छ सय मिटरको उचाइबाट यही असोज २१ दिउँसो ११ बजेदेखि सम्पर्कविहीन भएका थिए। प्रहरीका अनुसार रसियन अलेक्जेन्डर दुशेको, ओलेग कुर्गलोभ, भ्लालिमिर चिस्तिकोभ, मिखाइल नोसेन्को र डिमित्री शालिलेभोइको शव २३ गते दिउँसो भेटिएको थियो।
हेलिकप्टर अवतरण गर्न र मानिस हिँडेर पुग्न नसकिने ठाउँमा रहेको शव मौसमको खराबी र प्रतिकूल भूगोलका कारण सङ्कलन गरेर घटनास्थलबाट ल्याउन ढिलाइ भएको हो। उद्धारकर्ताहरु हेलिकप्टरबाट रसीमा झुन्डिएर शव भएको ठाउँमा पुगेका हुन्।
आइ एम ट्रेकिङ एन्ड एक्सपिडिसनमार्फत १४ रसियाका पुरुष पर्वतारोहीहरु धौलागिरि हिमाल आरोहणका लागि गएका थिए। दुईजनाले सफल आरोहण गरेका थिए। सातजना पर्वतरोहीहरुले बीचमै आरोहण रद्द गरेर फर्किएका थिए। यसअघि शव ल्याउन हिमालमा गएको हेलिकोप्टर रित्तै फर्किएको थियो।