पाग, पान, मखान 'कोजगरा'को पहिचान
जनकपुरधाम : विधिवतरूपमा महालक्ष्मीको पूजापाठ गर्दै विजयादशमीको समापनको अन्तिम दिन हो कोजाग्रत पूर्णिमा। महालक्ष्मीको पूजापाठ गर्दै कोजाग्रत पूर्तिमाका दिन रातभरि जाग्राम बस्ने चलन पनि छ। तर, मिथिलाञ्चलमा कोजाग्रत पूर्णिमालाई मनाउने चलन आफ्नै छ। मिथिलाञ्चलमा यस कोजाग्रतलाई कोजगरा पूर्णिमा भनि धुमधामका साथ मनाइन्छ।
मिथिलाञ्चलमा कोजगरा पूर्णिमाको प्रमुख आकर्षण हुन्छ पाग, पान र मखान। पाग मिथिलाको विशेष प्रकारको टोपी हो जसलाई सम्मानको स्वरुप मानेर मैथिलहरूले शिरमा सजाउने गर्छन् भने पान र मखान (मखाना)लाई विशेष व्यञ्जनको रुपमा खाएर घरघरमा कोजगरा पूर्णिमा मनाइन्छ।
कोजगरा पूर्णिमाका दिन मिथिलाञ्चलमा नवविवाहित परिवारमा विशेष धुमधाम र व्यस्तता रहन्छ। मैथिल ब्राह्मण समाजमा नवविवाहित युवकको घरमा कोजाग्रतको दिन बेहुलीको घरबाट कोसेली आउने चलन छ। कोजाग्रतको अवसरमा नवविवाहिता बेहुलीको घरबाट पान, मखान, काजु, बतासा, मिसरी लगायतका परिकारहरू कोसेली स्वरुप पठाउने गरिन्छ। बेहुलीको घरबाट आएको पान तथा मखानले बेहुलाको घरमा चुमान(विशेष पूजा) गर्ने गरिन्छ।
त्यसपछि गाउँसमाजमा पान मखान बाट्नुका साथै चुरा दहिको भोज गर्ने प्रचलन छ । सोही परम्पार अनुसार सीताजीलाई छोरी स्वरुप मानेर महोत्तरीको रतौली गाविसमा विगत एक सय ४१ वर्षदेखी स्व.ब्रह्मदेव ठाकुरले जानकी मन्दिरलाई भार पठाउने गरेको इतिहास छ। सो प्रचलनलाई ठाकुर परिवारको पाँचौ पुस्ता पनातीहरू न्विन ठाकुरले जिवन्त राखेका छन्। गाउँमा भरियाहरूले बांसको डाला, चगेरामा भार(कोसेली) को सामान मन्दिर ल्याउने गर्छन्। मन्दिरमा आएको भारको बन्दोबस्त रतौली गाउँमा ठाकुर परिवारसहित सम्पूर्ण ग्रामवासीले गर्ने गर्छ । कोजाग्रत पूर्णिमाको राति राम र सीताको प्रतिमालाई जानकी मन्दिर बाहिर निकाली गीत संगितका साथै पान, मखान र बतासाको वर्षा गर्ने चलन रहेको मन्दिरका छोटे महन्थ रामरोशन दास वैष्णवले बताए। सयौं श्रद्धालुहरुमाझ गरिने यो सांस्कृतीक प्रस्तुति अत्यन्तै रोमाञ्चक हुने गर्दछ।
कोजाग्रत पूर्णिमाको दिन मिथिलाञ्चलमा रातभरि जाग्राम बस्ने प्रचलन पनि छ। बुढापाकाले भने अनुसार कोजाग्रतको अर्थ को जागेको छ भन्ने पनि हुन्छ। यस राती धनकी देवी लक्ष्मी पृथ्वीमा घुम्न आउने गरेको र उनको स्वागतको लागि जसको घरको ढोका खुलेको हुन्छ त्यहाँ बास गर्ने गरेको पुरानो कथाहरु छ । सोही मान्यता अनुसार मिथिलाञ्चलमा लक्ष्मीको स्वागत गर्न कोजाग्रतको राति पचिसी खेल खेलेर जाग्राम बस्ने गरिन्छ।
शरद पूर्णिमाको महत्व सनातन धर्ममा पनि निकै बढि छ । पौराणिक मान्यताहरुका अनुसार यसै दिन समुद्र मंथनमा देवी लक्ष्मीको प्राकट्य भएको हुँदा मान्यता छ कि कोजाग्रत पूर्णिमाको राति आकाशबाट अमृतका थोपाहरू पृथ्वीमा झर्ने गर्छ। यो पर्व समृद्धिको प्रतिक पनि हो। भनिन्छ कोजगरा पूर्णिमाको रातिको चन्द्रमा अमृतको स्रोत हुने भएकाले यस राति गरिने विशेष पूजाले वैवाहिक जीवनमा माधुर्य र प्रेमलाई प्रवाह गर्छ,’ पण्डित झा भन्छन्, 'लामा नव विवाहित दम्पतीले आफ्नो विवाहको प्रथम वर्षमा समृद्ध दाम्पत्य जीवनको प्रारम्भ गरुन् भन्ने कामनाका साथ निकै रमझम गरि यो पर्व मनाउने गरिन्छ। त्यसैले मिथिलामा कोजगरा पुर्णिमाको दिन बेहुली पक्षबाट बेहुलाको घरमा विभिन्न कोसेलीहरु पठाउने गरिन्छ र राति चन्द्रमालाई साक्षि राखि बेहुलाको चुमाउन अर्थात् विशेष आर्शिवाद दिने परम्परा रहेको छ। यस्तो गर्नाले नव वरवधुको दाम्पत्य जीवन सुखद हुने मान्यता छ ।’