कोरियन एम्बेस्डर तेक्वान्दो भोलिदेखि
काठमाडौं : कोरियन एम्बेस्डर तेक्वान्दो च्याम्पियनसिप शुक्रबारदेखि हुने भएको छ । नेपाल तेक्वान्दो संघले बुधबार एक विज्ञप्ति जारी गर्दै च्याम्पियनसिप कात्तिक २ देखि ५ गतेसम्म आयोजना हुने जानकारी दिएको हो ।
दक्षिण कोरिया र नेपालबीच दौत्य सम्बन्ध स्थापना भएको ५०औं वार्षिकोत्सवका अवसरमा हुने च्याम्पियनसिप सातदोबाटोस्थित नेपाल तेक्वान्दो एकेडेमीको हलमा आयोजना हुनेछ । शुक्रबार हुने उद्घाटन सामारोहमा दक्षिण कोरियास्थित विश्व तेक्वान्दो मुख्यालयको डेमोस्ट्रेसन टोलीले विशेष कौशल प्रदर्शन गर्नेछ । डेमोस्ट्रेसनका लागि १९ सदस्यीय कोरियाली टोली बुधबार साँझ नेपाल आइसकेको छ ।
सात प्रदेश र तीन विभागीय टोलीका खेलाडीले प्रतिस्पर्धा गर्ने च्याम्पियनसिपमा ग्योरोगी र पुम्सेमा प्रतिस्पर्धा हुनेछ । ७२ स्वर्ण पदकका लागि हुने प्रतिस्पर्धामा नौ सय ६५ खेलाडीले प्रतिस्पर्धा गर्ने जनाइएको छ । प्रतियोगिता सञ्चालनका लागि देशभरका २६ जना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निर्णायक खटिने जनाइएको छ ।