ज्येष्ठ नागरिकको दसैं अनुभव
यस वर्षको दसैं सकिएको छ। घरका ठूलाबडा अनि मान्यजनको हातबाट आशीर्वाद स्वरूप टिका लगाइ दसैं मनाइएको छ। दसैं सकिएसँगै हामी आ–आफ्ना कामतर्फ फर्किएका छौं। दसैं पर्वमा देखावटिमा बढी ध्यान केन्द्रित गर्दा पर्व खर्चिलो भएको छ। ऋण सापटी लिएर भए पनि घरमा आएका पाहुनालाई आतिथ्य सत्कार गर्न कुनै कसर बाँकी राखेका छैनौं। पर्वका नाममा मनोरन्जन र साथीभाइमा सुख–दुःख बाँड्ने परम्परा हाम्रा पूर्वजले बसालेका थिए। तर, पछिल्लो समयमा आएर त्यो रहेन। यसै सन्दर्भमा ज्येष्ठ नागरिकको दसैं अनुभव अन्नपूर्णकर्मी धनवीर महतोको प्रस्तुतिमा।
व्रह्मदेव महतो (८७ वर्ष), गौशाला–८, महोत्तरी
माताको स्वागतका लागि हामी तत्लिन हुन्थ्यौं। विशेष गरी माताको मूर्ति दर्शनका लागि सहर जानुपर्ने बाध्यता थियो। मेला आउनेबित्तिकै हामी सहर जाने कार्यक्रम महिनौं दिन अगाडिदेखि बनाएर राख्थ्यौं। दसैंको समय साथी सँगीसँग रमाइलो गर्दैमा बित्थ्यो। अहिले गल्ली गल्लीमा माताको मूर्ति राखी मेला लाग्छ। सहर पनि नजिकै छ तर आत्मीयता र सामिप्यता पहिलेजस्तो रहेन।
गंगाराम महतो (१०३ वर्ष), गौशाला–८, महोत्तरी
पर्व मनाउन सरसापटी कर्जा, साहु महाजनबाट पैसा ऋण सापटी लिनुपथ्र्यो। जमिन्दारहरूले निर्धनमाथि विश्वास गरि पैसा दिन्थे। जसबाट सन्तानको खुसीका लागि थोरै भए पनि अभिभावकीय भूमिका निभाएको महसुस हुन्थ्यो। मीठा मीठा खानेकुरा खान पर्वको प्रतीक्षा गर्नुपथ्र्यो। अहिले समयअनुसार सबै थोक परिर्वतन भएको छ। पर्व र अन्य दिन खासै रूपमा केही फरक छैन।
कलशियादेवी साह (८३ वर्ष), गौशाला–५, महोत्तरी
पहिले हामी सपरिवार थकान मेटाउन पर्व मनाउने गथ्र्यौं। वर्षभरि काम गरी बेफुर्सद भएका हामी यस अवधिमा मीठो–मीठो परिकार खानुको साथै घरपरिवारमा सुख दुःखको कुरा गरी आनन्द उठाउनमा व्यस्त हुन्थ्यौं। अब त्यो समय रहेन। छोराछोरी नाति–नतिनी अहिले यति व्यस्त छन् कि उनीहरू सरर आउँछन् अनि फुरर भाग्छन्। हाम्रा सन्तानलाई अहिले पर्व मनाउन पनि फुर्सद नै छैन।
शान्तिदेवी यादव (८२ वर्षं), सोनमा गाउँपालिका–३, महोत्तरी
अरूको नजर नलागोस् भनी अनेकौं प्रकारका जुक्तिहरू निकालिनथ्यो। घरको मूलगेटमा कालो धब्बा लगाउनु, बच्चाहरूलाई लसुन र हिङ लगाउनु, टुनामुना धेरै नै हुने गरेको थियो। बच्चाहरूलाई नजर नलागोस् भनि घर भित्रै राखिन्थ्यो। नजर लगाउने र लाग्ने कुरालाई हाम्रा वैज्ञानिकले अहिले झुठो सावित गरिदिएका छन्।
स्यांग दोर्जे मेक्चन (८० वर्ष), गौशाला नगरपालिका–१, महोत्तरी
पश्चिमेली संस्कृतिमा हामी रम्न थालेका छौं। हामीले आफ्नो मौलिक संस्कृति बिर्सिएका छौं। जसले गर्दा धार्मिक एवम् संस्कृतिक सम्पदाहरू क्रमिक रूपमा धरापमा पर्दै छन्। हाम्रा पुर्वजले दसैंको समयमा अनिवार्य रूपमा खेल्ने पीङ हराए। आधुनिक प्रविधियुक्त रामझुला मनोरन्जनको साधन
बन्दै छ।