सात दिनभित्र जवाफ पेश गर्न आदेश
बार अध्यक्ष घिमिरेविरुद्ध अदालतको अवहेलना मुद्दामा सर्वोच्चले सोध्यो कारण
काठमाडौं : नेपाल बार एसोसिएनका अध्यक्ष वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेविरुद्ध परेको अदालत अवहेलना मुद्दामा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ। न्यायाधीशद्वय कुमार रेग्मी र डा.कुमार चुडालको संयुक्त इजलासले कारण देखाउ आदेश जारी गर्दै अध्यक्ष घिमिरेलाई ७ दिनभित्र जवाफ पेश गर्न आदेश दिएको हो।
न्याय परिषदले गरेका निर्णयहरूका विषयलाई लिएर सर्वोच्च अदालत प्रशासनले बारका अध्यक्ष घिमिरेविरुद्ध अदालत अवहेलनाको मुद्दा दायर गरेको थियो।
न्यायपरिषदको असोज ११ गतेको बैठकले नृपध्वज निरौला र नित्यानन्द पाण्डेलाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेपछि बार अध्यक्ष घिमिरेले प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले 'लेनदेन'का आधारमा न्यायाधीश सिफारिस गरेको अभिव्यक्ति दिएका थिए।
उक्त अधिव्यक्तिले अदालतको अवहेलना भएको भन्दै सर्वोच्चका उपरजिष्ट्रार घिमिरेले सर्वोच्चमा प्रतिवेदन पेश गरेका थिए। सोही प्रतिवेदनमाथि आज सर्वोच्चले सुनुवाइ गर्दै अध्यक्ष घिमिरेलाई निवेदकको माग बमोजिम आदेश दिन नपर्ने कारण भए लिखित जवाफ पेश गर्न आदेश दिएको हो।