बीपी राजमार्ग चार लेनको बनाउन सांसद दाहालको माग
सिन्धुली : बाढी पहिरोका कारण क्षतविक्षत भएको बनेपा-सिन्धुली-बर्दिबास (बीपी) राजमार्ग यथाशिघ्र पुनःनिर्माण गर्न सांसद लेखनाथ दाहालले सरकारसँग माग गरेका छन्। उनले नेपाल सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालसमक्ष बाढी र पहिरोले क्षति पुगेको राजमार्गलाई पुनःनिर्माण थाल्न ध्यानाकर्षण गराएका हुन्।
उनले बीपी राजमार्गको पुनःनिर्माण गर्दा सिन्धुलीको चियाबारी-खुर्कोट सुरुङ मार्ग र खुर्कोट-धुलिखेल खण्ड चार लेनको पुनःनिर्माण गर्न आवश्यक पर्ने बजेटको व्यवस्थापन गरिदिन मित्र राष्ट्र जापान सरकारलाई आग्रहसमेत गरेका छन्।
सांसद दाहालले मन्त्री दाहाललाई बुझाएको ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘बीपी राजमार्गको तत्काल पुनर्निर्माण गर्न अवश्यक छ। उक्त सडक पुनर्निर्माण गर्दा भू-अवस्था, नदीहरूमा जलमापनको अवस्था र बढ्दो सवारी चापलाई मध्यनजर गर्दै खुर्कोट-धुलिखेल खण्ड चार लेनको निर्माण गर्न ध्यानकर्षण गराउँदछु।’