तिहारबाट आंशिक विद्युत् उत्पादन होला ?

तिहारबाट आंशिक विद्युत् उत्पादन होला ?

काठमाडौं : गत असोजको दोस्रो साता आएको बाढी–पहिरोले नेपाली लगानीमा बनेको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनामा ठूलो क्षति पुर्‍याएको छ। जसले गर्दा ४५६ मेगावाटको यो आयोजना पूर्णरूपमा बन्द भएको छ। 

आयोजनाले क्षतिको अनुमानसहित १ अर्ब ८० करोडको बिमा दाबी गरेको छ। राष्ट्रिय बिमा कम्पनीमा बिमा गराएको यो आयोजनाले क्षतिको आंकलन गरी १ अर्ब ८० करोडको दाबी गरेको प्रमुख कार्यकारी अधिकृत मोहनप्रसाद गौतमले जानकारी दिए। बिमा दाबीमा सिभिल, इलेक्ट्रो मेकानिकल र ज्वाइन इक्युपमेन्टहरू (इलेक्ट्र र हाइड्रो इक्विपमेन्ट) को क्षतिलाई समेटिएको छ। 

बिमा कम्पनीसँग भएको सम्झौताअनुसार दाबी गरेको २ महिनाभित्र अनिवार्य रूपमा भुक्तानी गर्नुपर्ने (फोर्समेजर) प्रावधान छ। कम्पनीले पनि प्रारम्भिक रूपमा क्षतिको आँकडा संकलन गरी आयोजनासँग आवश्यक कागजात माग्ने काम गरिरहेको गौतमले बताए। आयोजना नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी हो।

यो आयोजना २०७८ सालबाट पूर्णक्षमतामा सञ्चालनमा आएको थियो। यो पीकिङ रन अफ रिभर(पीआरओआर) आयोजना बन्द हुँदा दैनिक करिब ४ करोड घाटा भएको छ। पीआरओआर आयोजना भएकाले वर्षामा पूर्ण क्षमतामा उत्पादन हुने र हिउँदमा ४ घन्टा पीकिङ दिने (पूर्णरूपमा सञ्चालन हुने) गरेको छ। पूर्ण क्षमतामा उत्पादन हुँदा दैनिक ४ करोडको बिजुली उत्पादन हुने छ। उत्पादन क्षमता घटेसँगै यसको आम्दानी पनि घट्ने छ।

गत असोज ११ र १२ गते आएको अविरल वर्षापछिको बाढी–पहिरोले ४५६ मेगावाटको आयोजनाको उत्पादन बन्द छ। आयोजनाको विद्युत् उत्पादन बन्द भएको २० दिन भयो। आयोजनाको मुख्य बाँधमा पहिरोले क्षति पुर्‍याएपछि विद्युत् उत्पादन बन्द भएको गौतमले बताए। 

अविरल वर्षाका कारण आएको पहिरोले दोलखाको बिगु गाउँपालिका–१ लामाबगरस्थित माथिल्लो तामाकोशी आयोजनाको बाँध क्षेत्रका संरचना (हेडवक्र्स)मा क्षति पुर्‍याएको हो। नेपाली लगानीमा बनेको र अहिलेसम्म बढी क्षमताको पिकिङ रन अफ रिभर (पीआरओआर) माथिल्लो तामाकोशीमा पानीको बहाव उच्च भएपछि गत असोज ११ गते शुक्रबार साँझ ७ बजेबाट विद्युत् उत्पादन बन्द गरिएको थियो। बाँधस्थलभन्दा केही तल दायाँतर्फ रहेको नियन्त्रण कक्ष, बालुवा थिग्रयाउने पोखरी (डिस्यान्डर) र बाँधबाट डिस्यान्डरसम्म पानी पुर्‍याउने नहर (कल्भर्ट)मा क्षति पुगेको छ। नियन्त्रण कक्ष, डिस्यान्डर र कल्भर्ट रहेको स्थानभन्दा माथिबाट खसेको पहिरोका कारण ती संरचनामा ठूलो क्षति पुगेको अनुमान गरिएको छ। 

मुख्य बाँधमा कार्यरत २ कर्मचारी र गरुडदल गणका २ जवानको मृत्यु पनि भएको थियो। क्षतिको पूर्णविवरण आउन बाँकी रहे पनि प्रारम्भिक अनुमान भने करिब २ अर्ब गरिएको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए। इन्जिनियरिङ कम्पनीले विस्तृत निरीक्षण तथा अध्ययन गरिरहेकाले क्षतिको एकिन तथ्यांक भने आउन बाँकी रहेको बताइएको छ। 

तामाकोशी आयोजनाको डिजाइन डिस्चार्ज (पानीको बहाव) ६६ क्युसेक हो। अविरल वर्षापछि तामाकोशी नदीको बहाव बाँधस्थलमा ४६१ क्युसेक पुगेको थियो। प्राधिकरणसँग भएको विद्युत् खरिद बिक्री सम्झौताबामोजिम नदीमा पानीको बहाव २५० क्युसेक हुनासाथ विद्युत् गृह बन्द गर्नुपर्ने छ। असोज ११ गते दिउँसोबाट पानीको बहाव २५० क्युसेक नाघेको र पानीको बहाव बढ्ने क्रम रहेपछि सोही साँझबाट विद्युत् उत्पादन पूर्णरूपमा बन्द गरिएको थियो। मुख्य बाँधसँगै यहाँसम्म पुग्ने पहुँचमार्गमा पनि पहिरोले क्षति पुर्‍याएको छ। गोंगरबाट लाओर जाने प्रवेश मार्गको काभ्रे भीरभन्दा माथि करिब ढेड सय मिटर बाटोमा ठूलो पहिरो आएको छ। त्यसले त्यहाँ भएका संरचनाहरूलाई ध्वस्त बनाइदिएको प्रमुख कार्यकारी गौतमले जानकारी दिए। ‘बाटो अबरुद्ध छ। यसले लाओरमा मानिसको आवतजावात तथा सामग्री ढुवानी बन्द भएको छ। यताको यतै उताको उतैको अवस्था छ’, उनले भने। अर्को समस्या भनेको ४६ नम्बरको टावरको क्रसआर्म भाँचिएको छ। त्यसको स्थलगत अध्ययन गरी मर्मत सम्भार गर्ने तयारी गरिएको गौतमले जानकारी दिए। 

यसैगरी पहिरोले मुख्य बाँधबाट डिसेन्डरसम्म पानी पुर्‍याउने २ वटा भूमिगत कल्भर्ट र पानी थिग्रयाउने २ पोखरी (डिसेन्डर) मा पनि क्षति पुर्‍याएको छ। कल्भर्ट माथि कन्ट्रोल बिल्डिङ बनेको थियो, जुन ढुंगा खसेर ध्वस्त भयो। २ वटा डिसेन्डरमध्ये खोलापट्टि बायाँतिरको डिसेन्डरमा कम क्षति र भित्तापटिको अर्थात् दायाँपट्टि बढी क्षति भएको आयोजनाका प्रमुख कार्यकारी गौतमले बताए। उनका अनुसार डिसेन्डरको दायाँपट्टि रहेको झर्नाबाट नै ढुंगा खसेको थियो। 

मोहनप्रसाद गौतम, प्रमुख कार्यकारी अधिकृत माथिल्लो तामाकोशी जलविद्युत् आयोजना
आयोजनामा पुगेको क्षतिको राष्ट्रिय बिमा कम्पनीमा १ अर्ब ८० करोडको बिमा दाबी गरिएको छ। माथिल्लो तामाकोशीमा पानीको बहाव उच्च भएपछि गत असोज ११ गते शुक्रबार साँझ ७ बजेबाट विद्युत् उत्पादन बन्द गरिएको थियो। बाँधस्थलभन्दा केही तल दायाँतर्फ रहेको नियन्त्रण कक्ष, बालुवा थिग्रयाउने पोखरी (डिसेन्डर) र बाँधबाट डिसेन्डरसम्म पानी पुर्‍याउने नहर (कल्भर्ट)मा क्षति पुगेको छ। नियन्त्रण कक्ष, डिसेन्डर र कल्भर्ट रहेको स्थानभन्दा माथिबाट खसेको पहिरोका कारण ती संरचनामा ठूलो क्षति पुगेको अनुमान गरिएको छ। 
मुख्यबाँधमा कार्यरत २ कर्मचारी र गरुड दल गणका २ जवानको मृत्यु पनि भएको छ। २ वटा डिसेन्डरमध्ये खोलापट्टि बायाँतिरको डिसेन्डरमा कम क्षति र भित्तापटिको अर्थात् दायाँपट्टि बढी क्षति भएको छ। देब्रोपट्टिको डिसेन्डर मर्मत गरेर तिहार अघिबाट चलाउने भन्ने आयोजनाको योजना हो। तर, पहुँच मार्ग नै ध्वस्त हुँदा डिसेन्डर मर्मतका लागि असर पर्ने देखिन्छ।

देब्रेपट्टिको डिसेन्डर मर्मत गरेर तिहार अघिबाट चलाउने भन्ने आयोजनाको योजना हो। तर, पहुँच मार्ग नै ध्वस्त हुँदा डिसेन्डर मर्मतका लागि असर पर्ने उनी भन्छन्। डिसेन्डरमा थुप्रिएको लेदो हटाउने काम भने सुरु भएको छ। यसका लागि माथिल्लो तामाकोशीले नै निर्माण गरिरहेको निर्माणाधीन रोल्वालिङ खोला जलविद्युत् आयोजना (२२ मेगावाट) बाट सहयोग लिइएको छ। रोल्वालिङको ठेकेदार हाइहिमाल हाइड्रो कन्स्ट्रक्सनको इक्विपमेन्ट र उनीहरूको स्रोत प्रयोग गरेर अहिले काम भइरहेको गौतमले जानकारी दिए। ‘अरूलाई ठेक्का आह्वान गरेर मात्र दिन मिल्ने हुँदा यसले समय लम्बिने हुन्छ। डे–वक्र्सको आधारमा उनीहरूलाई भुक्तानी गर्ने गरी काम भइरहेको छ। त्यो भनेको कुन इक्विपमेन्ट कति घन्टा चल्यो त्योअनुसार दररेटमा भुक्तानी गर्ने भन्ने हुन्छ,’ गौतम बताउँछन्।

तिहारबाट विद्युत् उत्पादन गर्ने तयारी

बाढीले उत्पादन बन्द भएको माथिल्लो तामाकोसी आयोजनाको मर्मतसम्भार गरी विद्युत् उत्पादनको तयारी गरिएको छ। २ वटा डिसेन्डरमध्ये कम क्षति भएको बायाँपट्टिको डिसेन्डरमा थुप्रिएको लेदो सफा गरी र मर्मत गरी चलाउन सक्ने अवस्थामा रहेको आयोजनाका प्रमुख कार्यकारी मोहनप्रसाद गौतम बताउँछन्। पीआरओआर आयोजना भएकोले हिउँद लागेसँगै उत्पादन क्षमता पनि घट्ने हुन्छ। कात्तिकमा ३ सय मेगावाट विद्युत् उत्पादन गर्न सकिन्छ। खोलाको पानीको आधारमा नै एक डिसेन्डरबाट कत्ति विद्युत् निकाल्ने भन्ने हुन्छ। छोटो अवधिका लागि एउटा डिसेन्डरबाट ४५६ मेगावाट नै उत्पादन गरिएको गौतम सुनाउँछन्। तर, बढी क्षमतामा एउटै डिसेन्डरबाट पानी पठाइयो भने त्यसको बालुवा थिग्रयाउने कार्य क्षमता घट्ने बताइन्छ। चाँडोभन्दा चाँडो एउटा डिसेन्डरबाट कम भए पनि उत्पादन गर्ने गरी काम गरिरहेको गौतमले जानकारी दिए। 

पहुँचमार्गको अवरोध हटाउने हो भने डिसेन्डरको मर्मतसम्भार सहज हुने उनको भनाइ छ। कात्तिकबाट माथिल्लो तामाकोसीले आंशिक उत्पादन सुरु गर्ने हो भने आगामी हिउँदमा विद्युत् आयातमा कम लोड पर्ने प्राधिकरण बताउँछ। पुस, माघसम्ममा एउटा डिसेन्डर पनि बनेन भने हिउँदको विद्युत् माग धान्न समस्या आउन सक्ने प्राधिकरणका कार्यकारी घिसिङ बताउँछन्। कात्तिकसम्म आन्तरिक उत्पादनले माग धान्ने प्राधिकरणले जनाएको छ। अहिले आन्तरिक माग पूरा गरी करिब ४ सय मेगावाट भारत निर्यात भइरहेको छ। 

जोखिम सर्तकतामा ध्यान दिनु जरुरी

गत असोजमा आएको बाढीले जलविद्युत्मा ठूलो क्षति भएको देखिन्छ। तर, केही आयोजनाहरूले क्षतिभन्दा पनि बीमा दाबीका लागि हल्ला बढी गरेको जलविद्युत् अनुसन्धानकर्ता एवं त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक डा.सुरेश मरहट्टा बताउँछन्। तर, माथिल्लो तामाकोशीमा भने ठूलो क्षति भएको उनी बताउँछन्। भीरपाखामा बनाउने जलविद्युत् आयोजनाहरू बनाउँदा डिजाइनमा नै कतिसम्म बाढी आउन सक्छ भनेर उल्लेख गरिएको हुन्छ। डिजाइज डिस्चार्जमा बाढीको डिस्चार्जको भ्यालु कम राखेर संरचना सानो बनाउने प्रचलनले पनि यस्ता प्रकोप बढी क्षति भएको उनी भन्छन्। यसलाई राम्रोसँग अध्ययन गर्न जरुरी रहेको उनको धारणा छ। 

‘हाम्रो भौगोलिक बनावट नै प्राकृतिक विपत्तिको जोखिमयुक्त भएकाले पहिरो जाने, बाढी आउने हाम्रो भूगोलको विशेषता नै हो। घटना घट्छन् तर त्यसका लागि जोखिम न्यूनीकरणको उपायमा ध्यान दिन जरुरी छ’, अनुसन्धानकर्ता मरहट्टाले भने। यसका लागि पहिरोको सेन्सर, पानी पर्न थालेपछि त्यसको मोनिटोरिङ गर्ने, यतिभन्दा माथि आयो भने त्यहाँको सुरक्षा कसरी गर्ने भन्ने लगायतका विषयलाई समेटेर हाजार्ड म्यापिङ (खतराको आंकलन) गर्न जरुरी रहेको उनको भनाइ छ। यस्तो गर्न सके भौतिक तथा मानविय क्षति हुँदैन या कम हुने भन्दै उनले यसमा हाम्रो तयारी नपुगेको बताए। जल तथा मौसम विज्ञान विभागले ६० मिलिमिटर प्रतिघण्टा पानी पर्‍यो भने विपद् जान्छ र २ घण्टामा ८० मिलिमिटर पानी पर्‍यो भने पहिरो जान्छ भनिरहँदा पनि त्यसमा चनाखो हुन नसकिएको उनको तर्क छ। हाम्रा जलविद्युत् आयोजनाहरू पहाडका कुना–कन्तारा र खोँचमा बन्ने हुँदा खतरासूचक पहिल्याउने गरी यन्त्र जडान गर्न उनी सुझाउँछन्।

निर्माण सुरुको ११ वर्षमा बनेको थियो आयोजना

कुलमान घिसिङ, कार्यकारी निर्देशक, नेपाल विद्युत् प्राधिकरण
बाढीले माथिल्लो तामाकोशी आयोजनामा पुर्‍याएको क्षतिका बारेमा अध्ययन भइरहेको छ । प्रारम्भिक क्षति करिब २ अर्ब देखाएको छ। प्राधिकरण अन्तर्गतको इन्जिनियरिङ कम्पनीले विस्तृत अध्ययन गरिरहेकाले कति क्षति भएको छ भनेर अहिले भन्न सकिन्ने अवस्था छैन। नियमित प्रक्रियाबमोजिम बिमा कम्पनीमा दाबी गरिएको छ। कम क्षति भएको डिसेन्डरको मर्मत गरी तिहारबाट नै आंशिक उत्पादन गर्ने तयारी छ।  कात्तिकमा नै माथिल्लो तामाकोशीबाट विद्युत् उत्पादन सुरु हुने हुँदा हिउँदको विद्युत्को माग र आपूर्तिलाई यसले सहज नै बनाउँछ। पुस–माघसम्म एउटा पनि डिसेन्डर बनेन भने मात्र गाह्रो हुन्छ। पूर्णरूपमा ध्वस्त भएको कन्ट्रोल रुम र डिसेन्डरको पुनर्निर्माणका लागि पनि छिट्टै नै काम अघि बढ्ने छ। 

प्रधानमन्त्री केपी शर्मा ओलीको पालमा २०७८ सालमा ४५६ मेगावाटको माथिल्लो तामाकोसी आयोजनाको पहिलो युनिटबाट ७६ मेगावाट बिजुली राष्ट्रिय प्रसारणमा जोडिएको थियो। यो स्वदेशी लगानीमा बनेको नेपालकै पहिलो जलविद्युत् आयोजना हो। २०६२ सालमा आयोजनाको सम्भाव्यता अध्ययन भएको थियो भने २०६३ सालमा आयोजना निर्माणका लागि कम्पनी स्थापना गरिएको थियो। आयोजनाको पहिचान भने सन् १९८५ मा गरिएको थियो। आयोजनाको शिलान्यास तत्कालीन प्रधानमन्त्री झलनाथ खनालले २०६७/०६८ मा गरेका थिए।

आयोजनामा प्राधिकरण, नेपाल टेलिकम, नागरिक लगानी कोष र राष्ट्रिय बिमा संस्थानको गरी ५१ प्रतिशत सेयर स्वामित्व छ भने १५ प्रतिशत सेयर सर्वसाधारण तथा १० प्रतिशत दोलखाका बासिन्दाको छ। बाँकी रहेको २४ प्रतिशत सेयर लगानी सञ्चय कोष, प्राधिकरण तथा बैंक तथा वित्तीय संस्थाका कर्मचारीको छ। आयोजनाको कुल लगानीमध्ये स्वपुँजी १० अर्ब ५९ करोड र बाँकी ऋणमार्फत जुटाइएको छ। 

वित्तीय प्रतिवेदनले आयोजना निर्माणको सुरुवाति लागत करिब ३५ अर्ब २९ करोड रुपैयाँ (४४१ मिलियन अमेरिकी डलर) आकलन गरेको थियो। ६ वर्ष अवधिमा निर्माण सम्पन्न गर्ने लक्ष्यसहित आयोजनाको लागत अनुमान गरिएको थियो। ६ वर्षमा आयोजना सम्पन्न हुने अनुमान गरी १४ अर्ब ब्याज लाग्ने पहिलो प्रक्षेपण थियो। २०७३ सालमा निर्माण सम्पन्न गरी उत्पादन सुरु गर्ने लक्ष्य लिइए पनि मुख्य सुरुङको डिजाइन परिवर्तन, भूकम्प, नाकाबन्दी, कामदारको अवरोध, कोरोना महामारीजस्ता कारणले आयोजना पाँच वर्ष पछाडि धकेलिएको हो। 

निर्माणमा ढिलाइका कारण आयोजनाको लागत बैंकको ब्याजसहित करिब ८५ अर्ब रुपैयाँ पुगेको छ। गोंगरबाट खिम्तीसम्मको ४७.२ किलोमिटर प्रसारण लाइनको लागतसमेत यसमा नै जोडिएको छ। निर्माण अवधि लम्बिन जाँदा आयोजनाको बैंक ब्याज करिब ३२ अर्ब पुगेको थियो। लागत अनुमान गर्दा सुरुमा अमेरिकी डलरको विनिमयदर ८० रुपैयाँसम्म हुने अनुमान थियो। डलरको भाउ बढिरहेको छ। साढे ३ अर्बको मूल्य समायोजनको व्यवस्था छ। कुल गर्दा करिब ८५ अर्बमा आयोजना पूर्ण क्षमतामा निर्माण सम्पन्न हुने जनाइएको छ। ८ सय २२ मिटर उचाइको हेड भएको आयोजनको वार्षिक उत्पादन करिब साढे ९ अर्ब युनिटको छ भने विनियमदर करिव ४ रुपैयाँ ६ पैसा छ।

राष्ट्रिय गौरवको यो आयोजनाका ६ वटा युनिट छन्। उत्पादित विद्युत् गोंगरस्थित विद्युत् गृहबाट ४७ किलोमिटर लामो २२० केभी डबल सर्किट प्रसारण लाइनबाट खिम्ती सबस्टेसन पुर्‍याइएको छ। उक्त सबस्टेसनबाट ढल्केबरस्थित ४४०/२२० केभी सबस्टेसनमा पुर्‍याई वितरण गरिएको छ। यस्तै, काठमाडौंमा ३२ केभीको खिम्ती–लामासाँघु प्रसारण लाइनमार्फत विद्युत् पुर्‍याइएको छ। 

४ अर्बमा बनेको थियो मुख्य बाँध

नेपाल सरकारले यो वर्षाले पुर्‍याएको सबैभन्दा ठूलो भौतिक क्षतिको रूपमा तामाकोशी आयोजनाको नोक्सानीलाई लिएको छ। पिकिङ रनअफ रिभरको यो आयोजनाको मुख्य बाँध वा ड्याम करिब ४ अर्ब लगानीमा निर्माण भएको थियो। तर, निरन्तर वर्षाका कारण यसमा नै क्षति पुगेको छ। करिब ७ देखि ८ करोडमा बनेको कन्ट्रोल विल्डिङ पूर्णरूपमा नै ध्वस्त भएको छ। योसँगै करिब २ अर्बको क्षतिको प्रारम्भिक आंकलन आयोजनाको छ। 

कन्ट्रोल बिल्डिङसहित क्षति भएको दायाँ डिसेन्डरको पुनर्निर्माण भने कसरी गर्ने भन्ने अहिले निक्र्योल नभएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ बताउँछन्। कन्ट्रोल बिल्डिङसहित सबै प्याकेजमा गर्ने वा छुट्टै टेन्डर गर्ने वा कसरी गर्ने भन्नेमा छलफल भइरहेको घिसिङको भनाइ छ। अहिले बिमा दाबी गरिएकाले सो भुक्तानी पछि र क्षतिको पूर्ण विवरणपछि मात्र पुनर्निर्माणको कामलाई अघि बढाइने कार्यकारी निर्देशक घिसिङले जानकारी दिए।

यता, बाँधमा रहेका गेटलाई चलाउन र डिसेन्डरलाई सफा गर्न गोंगरबाट लगिएको ११ केभी विद्युत् लाइन मर्मत सम्भार गरी चालू गरिएको र पावर ट्रान्सफर्मर तथा केबल प्राधिकरणबाट जडान गरिएको आयोजनाका प्रमुख कार्यकारी गौतमले बताए। कन्ट्रोल बिल्डिङ नभएको भएर बाहिरबाट सहायता लिएर गेटहरू खोलिएको छ। गेट अपरेसन अहिले म्यानुअल्ली भइरहेको उनले बताए। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.