हिमाली गाउँमा सामा मानी सांस्कृतिक महोत्सव हुने
गोरखा : गोरखाको हिमालपारी रहेको सामागाउँमा दशैँ लगत्तै बृहत् सांस्कृतिक महोत्सव हुने भएको छ । चुमनुब्री गाउँपालिका- १ सामागाउँमा यही कात्तिक महिनाको ७ गतेदेखि १३ गतेसम्म बृहत् ‘सामा मानी सांस्कृतिक महोत्सव’ आयोजना गर्न लागिएको प्रमुख लामा जिग्मेले जानकारी दिए ।
हिमाली कला, भाषा, संस्कृतिले भरिपूर्ण चुमनुब्री गाउँपालिकाभरिकै सबैभन्दा ठूलो मानिने यो महोत्सव सामागाउँको बीचमा रहेको खुल्ला ठाउँमा आयोजना हुने उनले बताए । यो सांस्कृतिक महोत्सव सय वर्ष भन्दा पहिलेदेखि चलिआएको प्राचीन महोत्सव भएको मुख्य लामा जिग्मेले बताए ।
प्रत्येक तीन वर्षमा हुने सो सांस्कृतिक महोत्सवको आयोजना लोटस फिट अफ मनास्लु हेरिटेजले गर्दैछ । सातदिनसम्म सञ्चालन हुने यो उत्सवमा ओपेरा डान्स(परी नाच) हुनेछ । त्यस्तै घीउ अर्पण कार्यक्रम पनि हुनेछ । घीउ अर्पण कार्यक्रममा स्थानीयबासीले पाँच किलोग्राम, १० किलोग्राम घिउ अर्पण गर्ने गर्छन् । सो घीउ तीन वर्षसम्म गुम्बामा बत्ती बाल्न प्रयोग गर्ने प्रचलन रहेको छ ।
‘गुम्बामा बत्ती बाल्यो भने पाप पखालिन्छ, सुख, शान्ति, संवृद्धि, कल्याण प्राप्त हुन्छ भन्ने विश्वास छ’,प्रमुख लामा जिग्मेले भने,‘त्यसैले घीउ दान गर्न गाउँले सबै र काठमाडौंदेखि पनि आउने गर्छन् ।’ ओपेरा नाच हिमालयन कथावस्तुमा आधारित सांस्कृतिक नाच हो ।
यसमा वोधिसत्वको कथायुक्त नाटक पनि हुने गर्छ । ‘दिनभरि ओपेरा नाच र रातभरि स्याप्रु नाच हुने गर्छ’,प्रमुख लामा जिग्मेले भने,‘सातदिनसम्म यसरी धुमधामले चल्ने यो महोत्सव चुमनुब्री क्षेत्रकै सवैभन्दा ठूलो महोत्सव हो ।’
यस मेला महोत्सवमा विशेषगरी नुब्री क्षेत्रका सबै गाउँबाट र चुम उपत्यकाका दर्शक पनि आउने उनले बताए । सो ओपेरा नाच तथा स्याप्रु नाचका लागि १० दिनअघिदेखि तयारी थालिने भएको छ । महोत्सव अवधिभरि गाउँका बासिन्दा गाउँबाहिर नगइ कार्यक्रममा सहभागी हुनेछन् । साथै विदेशी पर्यटकलाई पनि देखाएर देश, विदेशमा समेत प्रचार प्रसार गर्ने उद्देश्य आयोजकले लिएको छ ।