‘विमल गुरुङ कृति पुरस्कार’ का लागि १० कृति छनोट
सुनसरी : २०८० सालको विमल गुरुङ कृति पुरस्कारका लागि १० कृति छानिएका छन्। धरानको बुद्धचोकस्थित कवि विमल गुरुङ स्मृति पुस्तकालयले ‘विमल गुरुङ कृति पुरस्कार–२०८०’ का लागि छनोट गरिएका १० उत्कृष्ट कृतिहरूको नाम शुक्रबार सार्वजनिक गरेको छ।
छनोटमा परेका कृतिमा दाजु गुरुङको उपन्यास निरजोया, अभय श्रेष्ठको कविता संग्रह लहना र तीर, गगन योक्पाङ्देनको कविता संग्र्रह केवाफुंको गीत, मोमिलाको निबन्ध संग्रह प्रश्नहरू त बाँकी नै रहन्छन्, जशकुमार राई र अर्जुन उप्रेतीको संयुक्त लेखन रहेको रत्न बान्तवाको जीवनी नेपालमा सुरुङ युद्ध, इन्दु नेपाल योञ्जनको कविता संग्र्रह अन्तिम सेलो, प्रकाश थाम्सुहाङको निबन्ध संग्र्रह शब्दथुम, अखण्ड भण्डारीको उपन्यास बोरा, प्रवीण खालिङको निबन्ध संग्र्रह चियागफ, मञ्जुला तामाङ सुब्बाको कविता संग्र्रह कुहिरोभित्र घुम जोरबंगलो रहेका छन्। स्वदेश र विदेशमा नेपाली भाषामा प्रकाशित १ सय १ वटा पुस्तक प्राप्त भएको पुस्तकालयले जनाएको छ।
यिनै १० कृतिमध्ये एक कृतिलाई ताम्रपत्रसहित २०८० सालको ‘विमल गुरुङ कृति पुरस्कार प्रदान गरिने पुस्तकालयका अध्यक्ष पूर्णबहादुर गुरुङले बताए। पुरस्कार २ लाख रुपैयाँको रहेको छ।
पुस्तकालयले दुई वर्ष अघिदेखि विमल गुरुङ कृति पुरस्कार प्रदान गर्दै आएको छ।
यसैगरी विगत ३३ वर्षदेखि नियमित आयोजना गर्दै आएको राष्ट्रिय कविता महोत्सवका लागि पनि पुस्तकालयले १० उत्कृष्ट कविता छनोट गरेको छ। महोत्सवका लागि प्राप्त भएका ८१ कविताहरू मध्ये १० कविता छनोट गरिएको हो।