जंगबहादुरले देखेको त्यो सेतो बाघ
सुन्दै आश्चर्य र अनौठो लाग्छ, पञ्चधुरा माई मन्दिरको गाथा। बाँस झ्याङका पाँचवटा भुँर (दुलो) बाट पाँच वर्षअघिसम्म अविरल पानी बग्थ्यो। त्यहाँ बनेको दहमा फक्रिने कमलका फूलले भक्तजनलाई स्वागत गर्थे । जुन मन्दिरले भक्तजनको आस्था र विश्वास बोकेको छ। जसलाई माईस्थान नामले पनि चिनिन्छ। पञ्चधुरा महोत्तरीको बर्दिबास नगरपालिका–४, माईस्थानमा छ। तर, मिथिलाको पुण्यभूमिमै गुमनाम छ, पञ्चधुरा माई मन्दिरको पहिचान। मन्दिरको इतिहास लोभलाग्दो अनि रोचक भए पनि प्रचारप्रसारको अभावमा प्रसिद्धि कमाउन सकेको छैन। एकपटक यहाँ पुग्ने जो कोहीलाई जाउँ—जाउँ लाग्छ फेरि पनि। त्यहाँ पुगेपछि सकारात्मक ऊर्जाको सञ्चार हुने भक्तजन बताउँछन्।
आठ पुस्ताको आस्था र विश्वास
बाँसको झ्याङ नै भक्तजनका लागि मन्दिर छ। जहाँ नेपाल–भारतका आठ पुस्ताले दुई सय वर्षदेखि पूजा गर्दै आएका छन्। जहाँको भुँरबाट कलकल पानी बग्दथ्यो। बाटो हिँड्ने हरकोही बटुवाले प्यास मेट्थे। चराचुरुङ्गीले आँत भर्थे। भक्तजनले शिरमा जल अर्पण गर्थे। पञ्चधुरा माताको पूजाआजा र भाकल गर्थे। तर, पाँच वर्ष भयो, वरपरका बासिन्दाले यो कलकल पानी बगेको सुन्न नपाएको। जहाँ पञ्चदेवी देवी, कमलामाई, छिन्नमस्ता भगवती, वनदेवी, राजदेवी र महाकाल माई विराजमान छिन्। यो नेपाल र भारतका भक्तजनका लागि महत्त्वपूर्ण शक्ति पीठ हो। बडा दसैंमा मात्रै होइन, वर्षैंभरि भक्तजनको भीड हुन्छ।
अध्ययनहरूका अनुसार, ‘श्री ३ प्रधानमन्त्री जंगबहादुर राणाले १९३३ सालमा सिकार खेल्न मधेस गएका थिए। त्यसक्रममा उनले सेतो बाघ देखेका थिए।’ बन्दुकको निशाना बाघतिर लगाउँदा बाघ पञ्चधुरा मन्दिरमा विलय भएको किंवदन्ती छ। ऐतिहासिक उपन्यासकार डायमण्डशमशेर राणाले लेखेको चर्चित उपन्यास ‘सेतो बाघ’मा यो सन्दर्भ उल्लेख गरिएको पाइन्छ। बुढापाकाका अनुसार, जंगबहादुरले देवीमाथि कुदृष्टि लगाए र माताको श्राप लाग्यो। सर्लाहीको पत्थरकोटमा १९३३ साल फागुन १३ गते उनको मृत्यु भएको इतिहासकार दिनेशराज पन्त बताउँछन्। जुन घटना १ सय ४८ वर्षअघिको हो। ऐतिहासिक, पुरातात्त्विक, धार्मिक, सांस्कृतिक तथा लोकआस्थाको धरोहर पञ्चधुरामाई मन्दिरको शक्तिशाली इतिहास बोकेर पनि वर्तमानमा गुमनाम छ। गर्विलो विगत भए पनि संरक्षण, संवर्द्धन र प्रवर्द्धनको अभावमा बाँसको झ्याङभित्र अझै पञ्चधुरा माई मन्दिर चुपचाप छ।
आस्था र भरोसाको केन्द्रबिन्दु माईस्थान
पूर्व—पश्चिम राजमार्गअन्तर्गत महोत्तरीको बर्दिबास चोकभन्दा तीन किलोमिटर पश्चिम दाहिनेतिर मन्दिर जाने प्रवेशद्वार छ। पाँच मिनेट उत्तर लागेपछि पुगिन्छ, पञ्चधुरा माई मन्दिर। जहाँ नेपाल—भारतका लाखौं भक्तजन आउँछन्। घरमा कोही बिरामी परोस् वा कसैलाई सन्तान चाहियो, भाकल गर्न मधेसको चर्चित पञ्चधुरा माताको मन्दिरमा पुग्छन् उनीहरू। घरमा नयाँ गाडी भित्रियोस् वा नयाँ सफलता हात परोस्, पूजापाठ गर्न माईस्थान पुग्छन्। खुसी होस् कि दुःख। सबै पुग्ने र गुहार लगाउने साझा थलो हो, पञ्चधुरा। जहाँ पुग्दा दुःखको निवारण, परिवारमा सफलता, शान्ति अनि सुख प्राप्ति हुन्छ भन्ने जनविश्वास छ।
बर्दिबास नगरपालिका— १४ का माईसिंह लामाका अनुसार कैयौंले पुस्ताले पञ्चधुरा माईको मन्दिरमा भाकल गर्दा मनोकामना पूरा भइसकेको छ। उनी आफू पनि बाल्यकालदेखि नै मन्दिरमा पूजापाठ गर्न जान्छन्। यो दसैंमा उनले नयाँ स्कुटर किने। ‘माताको दरबारमा गाडीको पूजा गर्दा दुर्घटना हुनबाट जोगिन्छ भन्ने जनविश्वास छ। यात्रा पनि सुरक्षित हुन्छ भन्ने मान्यता छ’, उनी भन्छन्, ‘नयाँ साधनस्रोत किनेपछि माताको मन्दिर आएर पूजा गर्दै मातालाई धुप, प्रसाद चढाउने यहाँको चलन हो।’ गौशालाका भगलु मण्डल र भगिया देवीको सन्तान बिरामी भयो। ‘हे पञ्चधुरा माई ! मेरो सन्तानलाई निको भए पूजा गर्न आउँछु’ उनले माईसँग बिन्ती गरे। नभन्दै उनको सन्तान स्वस्थ्य भयो। त्यसपछि पूजा गर्न आएका उनीहरू भन्छन्, ‘मातालाई पूजापाठ गर्दा भलाई हुन्छ। त्यही सबै आउँछन्।’
बर्दिबासका सुबोध कट्टेलका परिवार जन्मदिन होस् कि कुनै विशेष उत्सव। यही मन्दिरमा पुग्छन्। ‘हाम्रो परिवार यस मन्दिरमा पहिलादेखि नै आउँछ। एक महिनाअघि स्कुटर किन्दा पनि पूजा गर्न आयौं’, उनी भन्छन्, ‘पञ्चधुरा माई मन्दिरको प्राचीन इतिहास छ। छुट्टै महत्त्व बोकेको मन्दिर हो। बेलामौकामा पूजापाठ र दर्शन गर्छौं। यसले मनमा शान्ति प्राप्त हुन्छ।’
उनका अनुसार पछिल्लो समय पर्यटकीय हिसाबले मन्दिरमा अलिकति काम भएको देखिन्छ। तर, जति यो मन्दिरको प्राचीन महत्त्व छ, त्यस हिसाबमा यसको प्रचारप्रसार गरिएन। नेपाल र भारतको चिनारीको रूपमा पञ्चधुरा माई मन्दिरलाई विकास गर्नु आवश्यक छ। यसले धार्मिक पर्यटक तान्छ। बर्दिबासकै अमरबहादुर बाराकोटी मगर पनि नयाँ मोटरसाइकल किनेर मन्दिर पुगे। सवारीको सुरक्षित यात्रा होस् भन्दै माताको मन्दिरमा पुगेर गाडीको पूजा गरे। ‘यो मन्दिरमा जनजनको आस्था र विश्वास छ। यहाँ आएर पवित्र मनले भक्तजनले जे माग्छन्, त्यो पूरा हुने जनविश्वास छ’, उनी भन्छन्, ‘यहाँको दहबाट निर्मल पानी बग्दथ्यो। त्यो कहाँ हरायो ? किन हरायो भन्न सक्ने अवस्था छैन।’ यसले भक्तजनलाई नरमाइलो हुने गरेको भन्दै उनी थप्छन्, ‘पहिला यहाँको दहबाट टाढाटाढाका किसानले कुलो बनाएर पानी लान्थे। खेती गर्थे। अहिले यहाँ पिउने पानी पनि छैन।’
बाँस झ्याङको महिमा
पानी बग्ने बाँसको झ्याङ नै पञ्चधुरा माईको मुख्यमन्दिर भएको ठाउँ हो। २००१ सालतिर मन्दिरको निर्माण भएको पुजारी विनोद दास बताउँछन्। उनका अनुसार महोत्तरीको रामनगरका लीलबहादुर बाबु सा’बले माताको गहबर (मन्दिर) निर्माण गराएका हुन्। उनी धेरै गरिब थिए। समस्यै समस्याले लाचार थिए। उनका सन्तान थिएनन्। ‘मेरो सन्तान भएन। हे माई म मर्न आउँछु’ भनेर जंगलमा गएछन् उनी। त्यहाँ पञ्चधुरा माईले दर्शन दिँदै भनिन्, ‘किन मर्छस् तँ ? मर्नु पर्दैन। जा तेरो सन्तान हुन्छ। धनसम्पत्ति सबै थोक हुन्छ।’ लीलबहादुर खुसी भए। ‘ल माई मेरो सबै थोक पूरा भयो भने मन्दिर बनाउँछु।’
नभन्दै लीलबहादुरको दुःख दूर भयो। सन्तान पनि भयो। अनि उनले बाँसको झ्याङनजिकै माताको मन्दिर बनाए। पछि पीपलको जराले मन्दिर फुटाइदियो। उनकै परिवारजनले २०४८ सालमा फेरि अर्को मन्दिर बनाइदिए। जुन मन्दिर पनि जीर्ण भइसक्यो। पुजारी विनोद भन्छन्, ‘मन्दिर बनाउनुपर्ने अवस्था छ। मन्दिर पूरै जीर्ण भइसकेको छ। पानी मजाले चुहिन्छ। जसरी पनि जीर्णोद्धार गर्नुपर्नेछ। खै कसैको दृष्टि पर्ला र ! भक्तजनका लागि बस्ने धर्मशालाको अवस्था पनि उस्तै छ।’ दसैंमा यहाँ मुख्य पूजा हुन्छ यहाँ। अन्य दिन नित्य पूजा हुन्छ, भक्तजनको चहलपहल हुन्छ। सोमबार र शुक्रबार बलि दिइन्छ। नयाँ वर्ष, माघेसंक्रान्ति, चैतेदसैंमा पनि पूजापाठ गर्नेहरू पुग्छन्। विवाह, व्रतबन्ध, श्राद्ध, सभासमारोह गर्न माईस्थानलाई नै रोजिन्छ।
देवीदेवताले भरिभराउ माईस्थान
झन्डै १२ बिघा क्षेत्रफलमा पञ्चधुरा माईस्थान फैलिएको छ। जहाँ पाइला—पाइला देवीदेवताको बास छ। यहाँ बास झ्याङदेखि विभिन्न वृक्षमा भक्तजनको आस्था र विश्वास जमेको छ। विशाल वरपीपलले माईस्थानको इतिहासको वर्णन गर्छ। पाँचवटै दह अहिले चिरिप्पै सुकिसकेको छ। उराठलाग्दो अवस्था छ। दहको पूर्वतिर पञ्चधुरा माईको पुरानो मन्दिर अनि पश्चिमतिर माईको अर्को मन्दिर छ।
जंगबहादुर राणा १९३३ सालमा अन्तिम पटक सिकार खेल्न मधेस झरेका थिए। ठूलाबाडाहरू जाडो मौसममा सिकार खेल्न मधेस झर्ने तालिका नै हुन्थ्यो। विदेशी राष्ट्रध्यक्षलाई यहीँ बेलाउथे। सिकार खेल्दै रणनीतिहरू बनाउँथे। दिनेशराज पन्त, इतिहासकार
वरिपरि आस्था, विश्वास र मनोकामना पूरा भएपछि भक्तजनले निर्माण गरेका एक से एक मन्दिर छन्। यहाँ ब्रह्मबाबा, डिहबारबाबा, ब्रह्माजी, गणेशजी, हनुमानजी, शिवजी, पार्वती, लक्ष्मीनारायण, रामजानकी, भीमसेन र शनिलगायत मन्दिर छन्। परिसरमै मन्दिरका पहिलो पुजारी हनुमान दासको समाधिस्थल छ। उनी माटोमा विलिन भए पनि उनले लगाएका वृक्षहरू देवतुल्य पुजिन्छ। माईस्थानका अर्का साधु सोमन मण्डल पनि २६ वर्षदेखि भगवान्को सेवामा हाजिर छन्। उनीमात्रै होइन, यहाँका मन्दिरमा अरू पनि साधुसन्त आउँछन्।
यसरी रह्यो पञ्चधुरा माईको नाम
मधेसको महत्त्वपूर्ण शक्तिपीठ पञ्चधुरा माई मन्दिर। यहाँ पञ्चदेवीको बास छ। यसैले मन्दिरको नाम पञ्चधुरा माई रहन गएको जानकार बताउँछन्। तराई–मधेस सांस्कृतिक अनुसन्धान प्रतिष्ठान बर्दिबासका सल्लाहकार शंकर महतोका अनुसार पाँचवटा दहको संगमस्थलबाटै पञ्चधुरा माई मन्दिर र माईस्थानको गाउँको नामकरण भएको छ।
माईस्थान वरिपरिका जंगलमा दुई सय वर्षअगाडि मानव जातिको आवतजावत भएको उनी बताउँछन्। जसको प्रसंग पञ्चधुरा मन्दिरसँग जोडिएको छ। भित्री मधेस काठ लिन चुरे क्षेत्रका जंगल आउँथे, बन्दोबस्तीसहित बयलगाडीमा। महोत्तरीको बिजलपुुरा, हात्तीलेट, सोनमा, सम्सी, रामगोपालपुर, बलवा, सरपल्लोका बटुवाहरूले नै मन्दिरको नामकरण गरेका थिए। त्यो समयमा यहाँ विशाल सखुवा, आसनलगायत परजातिका रुखहरू थिए। घर बनाउन काठ लिन मानिस आउँथे।
‘काठ लिनेहरू रात पर्दा वा खाना खाने बेला हुँदा पानीको मूलनजिकै बेयलगाडी राखेर बास बस्थे’, विगत सम्झिँदै महतो भन्छन्, ‘बास बस्ने एउटा महत्त्वपूर्ण स्थान माईस्थान पनि थियो। जहाँ अनौठौ खालको जरुवा थियो। जहाँ पाँच दुलोबाट आफैं पानी निस्किन्थ्यो। काठ लिन आउनेहरू यही वरिपरि वि श्राम गर्थे। स्नान गरेर खाना पकाउँथे। दहको किनारमा भोजन चढाएर पूजा गरेपछि मात्रै खान्थें।’ डेढ, दुई सय वर्षसम्म चलेको यो कार्य अहिले यहाँका मानिसको जीवन संस्कार र संस्कृति नै बन्न पुगेको उनी सुनाउँछन्। पानी निस्किने पाँच दुलोलाई काठ ओसार्ने बटुवाहरूले देवीको रूपमा पुज्थे। अध्येता महतो थप्छन्, ‘पाँच भुँरबाट पानी निस्किने भएर पाँचभुरा माई नाम राखियो। पछि बोलीचालीमा पञ्चधुरा माई मन्दिरको नामले माईस्थानलाई चिन्न थालियो।’
पञ्चदेवीका स्थल माईस्थान
यो मन्दिरको हालसम्म कुनै अध्ययन अनुसन्धान भएको छैन। तर, जन श्रुतिका अनुसार यस मन्दिरप्रति भक्तजनको विशाल आस्था र अटुट जनविश्वास छ। महतो भन्छन्, ‘दुई सय वर्ष भयो मन्दिर अस्तित्वमा आएको। आठ पुस्ताले यस मन्दिरको इतिहास र महत्त्वबारे सन्तानलाई सुनाए र बुझाए। जनजिब्रोमा पञ्चधुरा माई मन्दिर मधेसमा स्थापित शक्तिपीठ हुन्।’ मन्दिर संरक्षण समितिका सदस्य बैकुण्ठप्रसाद देवकोटाका अनुसार पञ्चधुरामाई मन्दिरको नामकरण पञ्चकन्याका नामबाट भएको पाइन्छ।
कमलामाई, महाकाल, छिन्नमस्ता, वनदेवी र राजदेवी गरी पाँच देवीको शक्तिको केन्द्र हो, पञ्चधुरा माई। आधा शताब्दीदेखि मठमन्दिरको खोजी र प्रवद्र्धनमा सक्रिय गौशाला–४ का ७२ वर्षीय बासुदेव महतो भन्छन्, ‘चार—पाँच वर्षको उमेरदेखि नै पञ्चधुरा माई मन्दिर देख्दै, सुन्दै आएको छु। बाँसको झ्याङबाट उत्पन्न पानीको मुहानले नै पछि मन्दिर आकार ग्रहण गर्यो।’ जंगलबीचमा आपसेआप पानी उत्पन्न भएपछि हिन्दु धर्मावलम्बीले पूर्वजहरूको पालादेखि नै देवीको रूपमा पूजा गर्दै आएको उनी सुनाउँछन्।
त्यो इमलीको रुख
बर्दिबासस्थित भब्सी र जंघा नदीको बीचमा पर्छ, पञ्चधुरा। दुई सयवर्ष यता मानवीय गतिविधि भएको पाइन्छ। मन्दिरको दक्षिणबाट २०३० सालतिर पूर्व–पश्चिम राजमार्ग विस्तार भयो। जसले मन्दिरको पहुँच सहज बनाइदियो। बर्सौंअघि भब्सी र जंघा नदी वरिपरिका गज्जबका कहानी छन्। जंगबहादुरको नामबाटै जंघा नदीको नामकरण भएको मन्दिर संरक्षण समितिका पूर्वसचिव सोमबहादुर कार्की सुनाउँछन्।
बासुदेव थप्छन्, ‘जंघा नदीको किनारमा विशाल दुईवटा इमलीका रुख थिए। जुन मन्दिरको पश्चिमपट्टी पर्छन्। जहाँ झन्डै एक ट्रक इमली फल्थे। भेडिहर जातिहरू मधेसतिरबाट भेडी चराउन आउँथे। इमलीको रुख वरिपरि भोडी गोठ ठड्याउँथे। गाडीका गाडी काठ लिनेहरू पनि आउँथे। ‘डोरी बाट्ने साबे लिन गौशालाबाट जान्थ्यौं माईस्थान र गढन्तातिर। जहाँ आउँदा–जाँदा हातखुट्टा धोएर माताको दर्शन गथ्र्यौं। कति त खाना पकार त्यसै वरिपरि खान्थे, कति घरबाट ल्याएको नै जलपान गर्थे। रमाइलो कति हुन्थ्यो कति’, उनी विगत सम्झन्छन्, ‘सानो मन्दिर थियो। पछि थुप्रै मन्दिर बने। तर अहिले सरसफाइ छैन। नियम र निष्ठामा कमी आयो। पानीको मुहान सुक्दै गयो। मन्दिर नजिकै थुके पनि अनिष्ठ हुने मान्यता छ। त्यहाँ पुग्दा भक्तजन निकै सजग हुन्थे। आधुनिक युगमा यस्ता मान्यता मासिए। त्यसको प्रत्यक्ष असर अझै छ।’
मन्दिर नजिकैको वनजंगल विनाश भयो। मधेसको सान चारकोसी झाडी उजाड बन्यो। बासको झ्याङमा हात्ती लुक्दा पनि देखिँदैनथियो। अहिलेका पुस्तालाई पढेको र बुझेको भनिन्छ। तर, उनीहरूको मन्दिर संरक्षणमा ध्यान छैन। मन्दिरको नियमन उल्लंघन गर्ने क्रम बढ्दो छ। त्यसैले अनिष्ट हुने क्रम पनि बढ्दो छ भन्छन् उनी। ‘देवीदेवतालाई कहिले पनि हेलाँ गर्नु हुँदैन। आघात पुर्याउनु हुँदैन। नियम र निष्ठा उल्लंघन गरियो भने देवीदेवताले दुःख दिएर हैरान बनाउँछन्, यो हेक्का राख्नै पर्छ’, बासुदेव भन्छन्, ‘माताको दर्शन गर्दा आशीर्वाद जो कोहीमाथि लाग्छ। पञ्चधुरा माई वनदेवीको साक्षात् रूप हो।’ यसलाई तीर्थस्थलको रूपमा विकास गर्नुपर्ने उनी बताउँछन्, ‘पानीको मुहानलाई सफा गर्यो भने पानीको मुहान पलाउँछ तर मूल फोहोरले छोपिएको छ।’
धार्मिक तथा प्राचीन गन्तव्य बनाउन जोड
पञ्चधुरा माई मन्दिरलाई पर्यटकीयस्थलको रूपमा विकास गर्न जरुरी छ। मन्दिरको सौन्दर्यीकरण गरेर यसको पुरातात्त्िवक र ऐतिहासिक पक्षलाई उजागर गर्न आवश्यक रहेको बताउँछन्, होटल तथा पर्यटन संघ महोत्तरीका अध्यक्ष गुञ्जबहादुर कार्की। ‘पर्यटकीय दृष्टिकोणले हेर्दा विकासका लागि मन्दिरको जग्गा पर्याप्त छ। मन्दिरको सौन्दर्यीकरण गर्नुपर्छ। स–साना मन्दिरहरू झाडीले छोपिएका छन्। मन्दिरको वास्तविक परिचय लुकेको छ, हराउँदो अवस्थामा छ। यसको खोजी गरिनुपर्छ।’
धार्मिक पर्यटनको गन्तव्यको रूपमा माईस्थानलाई विकास गर्न काम थालिसकेको बर्दिबास नगरपालिकाअन्तर्गतको संस्कृति तथा पर्यटन प्रवर्द्धन समितिका अध्यक्ष हीरा गौतम बताउँछन्। ‘पहिलो चरणमा मन्दिरलाई व्यवस्थित गर्न पुरानो पोखरीको सौन्दर्यीकरण गरिरहेका छौं। पोखरीमा पानीको व्यवस्थापन गर्छौं।’ धार्मिक इतिहास बोकेको मन्दिरलाई बृहत् रूपमा संरक्षण र व्यवस्थान गर्न आवश्यक रहेको उनी बताउँछन्। पञ्चधुरा माईको सन्ध्याकालीन आरती सञ्चालन गर्न सकिने अवस्था छ। गौतम भन्छन्, ‘मन्दिर संरक्षण समितिको दायित्वलाई पनि फराकिलो बनाउँछौं। यसका लागि समितिलाई सुझाव दिएका छौं। सोही आधारमा मन्दिर समितिले काम गर्ने हो भने पाँच वर्षभित्रै मन्दिरको मुहार पक्कै फेरिन्छ।’
मन्दिर संरक्षण र विकासमा स्थानीय सरकार, राजनीतिक दल, जनप्रतिनिधिहरूले खासै ध्यान नदिएको आदिवासी जनजाति महासंघ महोत्तरीका अध्यक्ष धननारायण श्रेष्ठ बताउँछन्। बर्दिबास— ४ का वडाध्यक्ष तथा मन्दिर संरक्षण समितिका अध्यक्ष अकलबहादुर तामाङ निरन्तर मन्दिर विकासमा काम भइरहेको बताउँछन्। उनका अनुसार मन्दिर विकासका लागि डीपीआर बनाउने काम भइरहेछ।
जहाँ जंगबहादुरले देखेको सेतो बाघ विलय भएको थियो
पत्रिकाको नामदेखि गेस्ट हाउससम्म, अटो वर्कसपदेखि पान पसलसम्म जताततै देख्न सकिन्छ, पञ्चधुरा। ‘पञ्चधुरा’ लेखिएका साइनबोर्डहरू प्रशस्तै देख्न सकिन्छ। पञ्चधुरा ऐतिहासिक महत्त्व बोकेको आश्चर्यजनक स्थान हो। देवीको मन्दिर यति चर्चित हुँदाहुँदै ओझेलमा छ। गुमनाम जस्तै छ। पञ्चधुराको इतिहास पनि आश्चर्यजनक छ। जसको इतिहास जंगबहादुर राणासँग जोडिएको छ। पञ्चधुरा माई मन्दिर संरक्षण समितिका सदस्य बैकुण्ठप्रसाद देवकोटा अनुसार दलबलसहित जंगबहादुर तराईमा सिकार खेल्न आउँदा महोत्तरीको चिक्नाडोलाठीको सौतिनिया पोखरीमा बास बसे। बर्दिबासतिर सिकार खेल्न आउनेक्रममा बहादुरगन्ज क्षेत्रको बर्दिबास–माईस्थान जंगलमा सेतो बाघ देखे। त्यसलाई निशाना लगाएर पछ्याउँदै जाँदा माईस्थान मन्दिर भएको स्थलमा एकाएक सेतो बाघ हराएको किंवदन्ती छ।
सिकार खेल्न पत्थरघट्टा पुग्दा त्यहाँ क्याम्प खडा गरे। त्यस क्रममा बर्दिबासतिरको जंगलमा सिकार खेल्न आउँदा सेतो बाघ देखेको डायमण्डशमशेरले ‘सेतो बाघ’ उपन्यासमा उल्लेख गरेका छन्। स्थानीय श्याम बुढाथोकी भन्छन्, ‘पञ्चधुरा माईको मन्दिरवरिपरि अहिले पनि कहिलेकाहीँ बाघ देखा पर्छन्। पाँचमुखे र तीनमुखे सर्प पनि निस्किन्छन्।’ पञ्चधुरा मन्दिरबारे आफूलाई पनि जानकारी रहेको इतिहासकार दिनेशराज पन्त बताउँछन्। उनका अनुसार ठूलाबडा शासकहरू सिकार खेल्न जाडो मौसममा मधेस झर्थें। भन्छन्, ‘कुनै बेला विदेशी राष्ट्राध्यक्षलाई पनि यहीं बोलाउँथे। सिकार गर्दै रणनीतिहरू बनाउँथे।’ १९०३ भदौ ३१ गते कोतपर्वपछि जंगबहादुरले शासन सत्ता हत्याए। जहानियाँ राणाशासन १०४ वर्ष चल्दा उनले ३० वर्ष शासन गरेका थिए। जंगबहादुरको मृत्यु र सेतो बाघबीच ठूलो सम्बन्ध रहेको बुढापाका पनि बताउँछन्। १९३३ फागुन १३ गते ५९ वर्षको उमेरमा उनको सर्लाहीको पत्थरघट्टा (पत्थरकोट)मा मृत्यु भएको थियो।
मधेसमा किन पूजा गरिन्छ देवीको ?
डा. राजेन्द्र विमल, संस्कृतिविद्
विभिन्न रूपमा देवीको पूजा वैदिक कालदेखि हुँदै आएको छ। देवी पूजाका तीन परम्परा छन्, वैदिक, तान्त्रिक र लौकिक। दसैंको नौ दिन तान्त्रिक विधिबाट देवीका फरकफरक नौ रूपको पूजा गरिन्छ। गाउँपिच्छे घरघरै तथा सामुदायिक स्तरमा पूजा गरिन्छ। जसलाई दसैंको नौरथा पनि भनिन्छ। व्रत बसेर निष्ठा र विधिपूर्वक देवीको पूजा गरिन्छ। जहाँ पारिवारिक तथा सामुदायिक सुख, शान्ति र मनोकामनार्थ भाकल पनि गरिन्छ। मनोकांक्षा पूरा भएपछि धेरै गाउँमा दुर्गा माताको मुक्ति बनाएर पूजा गरिन्छ। दशमीको समयमा मधेसमा डाइनजोगीहरूको प्रकोप बढी हुने लोकविश्वास छ। डाइनजोगीले दसैंमा नै तान्त्रिक शक्ति प्राप्तका लागि कुनै न कुनै देवीको गर्ने गरेको जन श्रुति छ। उनीहरूको तन्त्रमन्त्र नचलोस् भन्दै मधेसमा जनलोकस्तरबाट घरमा र शक्तिपीठहरूमा दुर्गा माताको विभिन्न रूपको दैनिक पूजा गरिन्छ।