सिद्ध गुफाको सत्यकथा

सिद्ध गुफाको सत्यकथा

एसियाको दोस्रो ठूलो गुफा मानिने सिद्ध गुफा अवलोकन गर्ने उत्कट चाहना थियो। तर उपयुक्त समय पनि जुरेको थिएन। संयोगले २०८१ जेठ १० गते त्यो अवसर मिल्यो। हाम्रो टोली उक्त गुफा अवलोकन गर्ने मधुर कल्पनामा काठमाडौंबाट पोखरातिर गाडीमा बढिरहेको थियो। एक्कासि गाडीका सहचालकले गुफा हेर्न त विमलनगरमै उत्रनुपर्छ भने। गाडीबाट उत्रियौं। गाडीबाट उत्रँदा नै त्यहाँको तातो हावाले हामीलाई स्पर्श गरिहाल्यो। त्यहाँको गर्मीको उग्ररूप अन्दाज लगाइहाल्यौं। मुड्खुको शीतल ठाउँबाट त्यता लागेको मलाई त्यहाँको उष्णता अलि उग्र नै लाग्यो।

प्रेमजीले बाटोमा हिँडिरहेका एक युवालाई सोधें, ‘भाइ, गुफा कति समयमा पुग्न सकिन्छ ? ’ युवाले फटाफट हिँडेमा आधा घण्टामा पुग्न सकिने जवाफ दिए। हामी उनको उत्तर सुनेर जोशका साथ वरपरका दृश्य अवलोकन गर्दै गुफातिर बढ्यौं। गुफातिर जाने बाटो ठाडो नभएर तेर्सो नै थियो। जेठ महिनाको करिब साढे १ बजेतिरको गर्मी। सबै पसिनाले निथु्रक्क भिजेका देखिन्थे। स्याँस्याँ गर्दै केही साथी क्रमशः अगाडि बढिरहेका थिए। गुफा जाने बाटोको छेउपट्टि किनारामा फलामे बार लगाइएकाले गुफा जानेहरू त्यसमा समात्दै आराम गर्दै क्रमशः अगाडि बढेका देखिन्थे। हामीहरू पनि त्यसरी नै अगाडि बढिरहेका थियौं। सूर्यको प्रकाशले हाम्रो टाउकोमा ९० डिग्रीको कोण बनाएर होला, गर्मी पनि यति बिघ्न भयो कि त्यसको लेखाजोखा गरी साध्य नै भएन। शरीरमा लगाएका कपडा कुनै ओभानो थिएनन्।

अगाडि बढ्दै गर्दा गुफा अवलोकन गरेर फर्किएका विदेशी पर्यटकको समूहसँग पनि भेट भयो। उनीहरूलाई देखेर झन् हौसल्ला थपियो। दुईचार ठाउँमा रोकिँदै रुमालले अनुहारको पसिना पुछ्दै आफूलाई उकालिरह्यौं, उचालिरह्यौं। पसिनाले निथ्रुक्क भिजेका हामी पानी नपाएर प्याकप्याक्ती भएका थियौं। एकातिर लाग्थ्यो, शरीर पानीले जलमग्न छ। मुख चाहिँ ठीकविपरीत मरुभूमिजस्तो सुक्खा। तारानाथ शर्माको घनघस्याको उकालो काट्ता नियात्रामा पानी नपाएर यात्रीले भोग्नुपर्दाको तीतो अनुभव छोटै भए पनि भोग्यौं। अघि बढ्दै जाँदा गुफाको अलिक तल केही युवा हातमा पिउनेपानी लिएर वि श्राम गरिरहेका थिए। हामीले ती युवासँग पानी मागेर प्यास कम ग¥यौं र अगाडि बढ्यौं। केही घुट्को पानीले पनि हामीमा थप ऊर्जा र साहस दिलायो।

गुफाको प्रवेशद्वारमा टिकट काटेपछि टर्चलाइटसहितको सहयोगीको पनि व्यवस्था हुनेर हेछ। त्यसका लागि थप शुल्क पनि तिर्नुपर्ने रहेछ। टिकट र गुफा सहयोगीको शुल्कसमेत तिरेर गुफा प्रवेश गर्न उनकै पछि लाग्यौं। गुफाको प्रवेशस्थल साँघुरो रहेछ भने भित्रभित्र कतै उकालो त कतै ओरालो। गुफाभित्र विभिन्न गफमा गफियौं। अगाडि बढ्दै जाँदा कतै पानी तपतप चुहिन्थे। त्यस्तो ठाउँ पुग्दा सहयोगी सतर्क गराउँदै भन्थे, ‘यहाँ चाहिँ होसियार हुनुहोस् है ! बाटो अप्ठेरो छ। यहाँ चिप्लो छ, अलि बिस्तारै आउनुहोस्।’ बीचबीचमा उनी रोकिन्थे र हामीलाई विभिन्न जानकारी गराउँथे। गुफाको पहरातिर टर्चलाइट देखाउँदै उनी भन्थे, ‘यो चित्र मान्छेको आकृतिजस्तो छैन र हेर्नुहोस् त ? ’ हामी उनले देखाएका सबै आकृति हेर्दै आश्चर्यभावमा अगाडि बढ्यौं। साँच्चै नै गुफाको भित्तामा विभिन्न प्रकारका चित्र वा आकृति रहेछन्। ती कैयन् आकृतिले अमूर्त भाषा बोलिरहेका देखिन्छन्। भित्तामा कतै सिंह, हात्ती, कुखुरा, काउलीको फूल त कतै मानिसको टाउकाको आकृति देख्न सकिन्छ।

जतिजति गुफाको भित्री भागमा पुग्यौं, झन्झन् मनमा विभिन्न कौतुहल जागेर आउँथ्यो। गुफाभित्र कुनै उज्यालो वा बिजुलीको व्यवस्था नभएकाले गुफा भ्रमण गर्न चाहनेले आफैंले टर्चलाइटको व्यवस्था गर्नु पर्नेरहेछ। हामीले थप प्रकाशका रूपमा आफ्नै हातमा रहेको मोबाइललाई प्रयोग ग¥यौं। एक्लै गुफाभित्र जान जोखिम हुने हँुदा सहयोगी साथमा लिएर जानु राम्रो हुन्छ भन्ने कुरा गुफाभित्र यात्रा गर्दा प्रत्यक्ष भोग्न पाइयो। गुफाभित्रको दृश्यले जोकोहीलाई पनि आश्चर्यजनक बनाउँछ। गर्मी मौसममा गुफा प्रवेश गर्नेबित्तिकै शीतलताको यति अनुमान कसैले पनि गर्न सक्दैन। पानी नपाएर पसिनै पसिना भएका गुफाको प्रवेशद्वार पुग्दै शरीर चिसोले आनन्दित भएको थियो। क्षणभरमै त्यहाँको वातावरणले सबैको मन खिच्यो। हिमालको काखमा पुगेर वि श्राम गरिरहेको क्षणको अनुभव गर्न सक्यौं।

प्रायः गुफा सधैं अवलोकन गर्न सकिने रहेछ। बिहान ७ देखि बेलुकी ५ बजेसम्म प्रवेश गर्न दिइने उक्त गुफामा कहिलेकाहीँ साधुसन्त पनि आएर ध्यान गर्ने गरेको पाइन्छ। गुफाको प्रवेशद्वारमा शिवलिंग छ। जहाँ साउन महिनाको सोमबारमा विशेष मेला लाग्छ भने शिवरात्रि, जनैपूर्णिमामा पनि भक्तजन आउने गरेको पायौं। गुफाभित्र पनि दुईवटा सिंगमरमरजस्ता देखिने पत्थरका बीचमा शिवलिंग देख्न सकिन्छ। जहाँ पानी बगेर सानो कुण्ड बनेको छ र त्यस ठाउँमा त्रिशूल पनि गाडिएको छ। ‘कुनै समयमा यस गुफामा बाबा अथवा कुनै तपस्वीले तपस्या गरेको हुन सक्ने अनुमान धेरैको पाइन्छ’, सहयोगी बताउँदै थिए। कुनै सिद्धबाबाले यस स्थानमा ध्यान गरेका कारण यस गुफाको नाम सिद्ध गुफा रहन गएको पनि अनुमान लगाउन सकिन्छ।

वैज्ञानिक कारणअनुसार पृथ्वीको उत्पत्तिकै क्रममा यस प्रकारका गुफा निर्माण हुन पुगेको देखिन्छ। यस गुफाको बारेमा हालसम्म त्यति प्रचारप्रसार भएको पाइन्न तर हालैका दिनमा यस गुफाको प्रचारप्रसार गर्न बन्दीपुर नगरपालिकाले विशेष पहल गरेको देखिन्छ। पथप्रदर्शकका अनुसार उक्त गुफा ३५ सय वर्ष पुरानो हो। जसको उचाइ ५० मिटर र गहिराइ ४ सय ३७ मिटर छ। यसको बनावट हेर्दा यो गुफा चुनढुंगाबाट बनेको देखिन्छ। खासगरी गुफाको निर्माण एकै प्रकारको हुँदैन तर यसको बनावट हेर्दा र यहाँभित्र बगेको पानी देख्दा यो गुफा चुनढुंगाबाट निर्माण भएको हो भन्ने अनुमान जो कसैले पनि सहजै लगाउन सक्छ।

गुफाभित्र हिँड्दै जाँदा दुईतीन ठाउँमा फराकिला खाली ठाउँ भेटिए। जहाँ धेरै मानिस जम्मा भएर कुनै भेला वा कार्यक्रम पनि गर्न सकिने रहेछ। सहयोगीका अनुसार धेरैपटक वडाको छलफल र साहित्यिक कार्यक्रम पनि उक्त ठाउँमा आयोजना गरिएको रहेछ। गुफाभित्र स–साना प्वालहरू भएका कारण जथाभावी ती प्वालतिर नजान पनि उनी सम्झाउँदै थिए। हामी अगाडि बढिरेहका बेला केही विदेशी पर्यटक पनि उत्साहपूर्ण रूपमा गुफा अवलोकनमा व्यस्त भएको देख्यौं।

​​​​​​​गुफाभित्र आधुनिक संरचना निर्माणले गुफाको प्राकृतिक अवस्थालाई हस्तक्षेप गरेको प्रतीत हुन्थ्यो। त्यहाँ ढलान गरेर ठाडो खालको सिँढी बनाइएको रहेछ, जुन सिँढीबाट ओर्लिएर हामी अगाडि बढ्यौं। सहयोगीको निर्देशनअनुसार एकै ठाउँमा जम्मा भयौं। गुफाभित्र आधुनिक संरचना बनाएको देख्दा मलाई चित्त नबुझेको भेउ पाएर सँगै उभिएका मित्र नवीनजीले भने, ‘यो त प्राकृतिक नियमविपरीत भएन र ? ’ सहयोगीले अब अगाडि बढ्न सक्दैनौं भनेपछि हामी त्यहीँ रोकियौं। ‘यहाँ धेरै चमेरा बस्छन्, यो बाटो साँघुरो छ’ भन्ने सुन्दासाथ साथीहरू टर्च र मोबाइलको सहायताले चारैतिर हेर्न थाले। उनले गुफाको भित्तामा देखाउँदै भने, ‘ल हेर्नोस् त हाम्रा राजा वीरेन्द्रको आकृति।’

सबैले उत्साहित भएर एकै स्वरमा भने, ‘हो, राजा वीरेन्द्रको तस्बिर जस्तो छ त।’ सबै मानिस विभिन्न प्रकारका आकृतिको खोजीमा मोबाइल टर्चको प्रयोग गर्दै भित्तातिर नियाल्न थाले। त्यो देखेपछि मेरो मानसपटलमा तरंग पैदा भयो। मानिस आकृतिले बाँचेको हुन्छ कि आकृतिको खोजीमा बाँचेको हुन्छ ? मनमा कुरा सल्बलाइरहे। सबै जना पहराको भित्तामा विभिन्न आकृति हेर्दै विभिन्न लख काटिरहेका थिए। म भने त्यो अँध्यारामा आफ्नै आकृति खोजिरहेको थिएँ। एकछिन गुफामा सन्नाटा छायो, त्यति नै बेला सयौं चमेराको आवाज गुफामा सुनियो। गुफा सहयोगीका अनुसार ‘गुफाको बाहिरी भागमा स–साना प्वाल छन्, ती प्वालबाट नै गुफाभित्र हावा प्रवेश गर्छ र जुन प्वाल १५ मिनेट हिँडेर डाँडाको टुप्पोमा पुगेपछि देख्न सकिन्छ।’

गुफा अवलोकन गरेर झर्दै गर्दा युवाको समूहमा ७५ वर्षीय ज्येष्ठ नागरिक पनि भेटिए। उनी रहेछन्, चन्द्रबहादुर थापा। जसले ४० को दशकमा यो गुफा पत्ता लगाएका थिए। उनको दाबीलाई समूहका युवाले पनि स्वीकारे। ‘मैले नै सर्वप्रथम २०४४ सालतिर यहाँ गुफा रहेको थाहा पाएको हुँ’ चन्द्रबहादुर थापाले भने। हामीले केही समय उनै थापासँग गुफा बारेमा कुरा ग¥यौं, फोटो खिच्यौं र त्यसपछि ओरालो झर्न थाल्यौं। गुफाबाट तल झर्दै गर्दा बेंसीमा चुँदी नदी आफ्नै सुरमा बगेको देख्न सकिन्छ। जुन दृश्यले पनि यात्रुको मन जित्न सक्छ।

गुफाको नजिकैबाट बन्दीपुरतिर जाने पैदल मार्गसमेत रहेछ। उक्त मार्गबाट करिब एक, डेढ घण्टामा पहाडकी रानी बन्दीपुर पुग्न सकिने रहेछ। गुफा अवलोकनपश्चात् कैयन यात्री बन्दीपुरतिर पैदल यात्रा गर्न पनि रुचाउँदा रहेछन्। नेपालको सबैभन्दा ठूलो र एसियाकै दोस्रो ठूलो गुफा मानिने उक्त सिद्ध गुफा तनहुँको बन्दीपुर नगरपालिका— ४, विमलनगरमा रहेको छ। पृथ्वी राजमार्गको विमलनगरमा गाडीबाट ओर्लिएपछि पश्चिमपट्टि एउटा पर्वत शृंखलामा उक्त गुफा रहेछ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.