रुवि फल्समा रमेको मन
संयुक्त राज्य अमेरिकाका ५० राज्यमध्ये हामीले पहिलो पाइला जर्जियाको एटलान्टा एयरपोर्टमा टेकेका छौं। कतार एयरलाइन्सले भनेकै समयमा दिनको ३ः३० मा अवतरण भयांै। हामी भन्नाले जीवनसाथी तुलसा र म। छोरा लोकेश र उसको साथी सुस्मिता एयरपोर्ट आएका रहेछन्। अब चारैजना छोरा बसेको अर्को राज्य अलावामातर्फ लाग्छौं।
अमेरिकाबारे जानकार भए पनि प्रत्यक्ष रूपमा देख्ने र भोग्ने अवसर भने पहिलोपटक मिलेको छ। भाइ डिल्लीराजको परिवार लस एन्जेलस तथा छोरा लोकेश अध्ययनका लागि अलावामा छ। छोराको सात वर्षको कठोर मेहनतको फलको साक्षी बस्न आएका हौं। मौकामा धेरैभन्दा धेरै स्थान घुम्नु जो छ। अलावा आएको एक हप्ता भएको छ। यसै अवधिमा छोराले हामीलाई फ्लोरिडाको हेनडर्सन विच पु¥यायो। भूपरिवेष्ठित देशको हामी नागरिकले समुद्रमा रमाउन पाउनु पक्कै पनि खुसीकै कुरा हो। नुनिलो पानीमा एकाध घण्टा रमाएर अलावामा फर्कियौं। अलावामाबाट फ्लोरिडातर्फ जाने सडक तथा हरियालीले मजैले लोभ्यायो अनि खेतीका उर्वर फाँटले पनि। उनीहरूको प्रविधि हेर्दा अमेरिका त्यसै अमेरिका भएको कहाँ रहेछ र ? भन्ने लाग्यो।
धेरै प्रसंग लेख्नयोग्य भएकाले ती विषय मस्तिष्कमा घुमिरहेका छन्। छोराको चाहना बुवाआमालाई छोटो अवधि भए पनि धेरै ठाउँको भ्रमण गराउनु छ। वरिपरिका पार्कहरूमा लगिरहन्छ, युनिर्भसिटीका थुप्रै स्थानमा घुमाउँछ। पुस्तकालय, स्टेडियम तथा जिम हल देख्दा लाग्यो, यस्ता त हाम्रो राष्ट्रिय स्तरका पनि छैनन्। एउटा युनिर्भसिटीको रहेको छ। फेरि लाग्यो अमेरिका त्यसै अमेरिका बनेको होइन रहेछ। सडकको कुरा त गरिसाध्ये भए पो !
आज जुलाई २५ बिहीबार। हामी आएकै दिन तय भएको यात्रा। ब्रेकफास्ट लिएपछि टेनिसी राज्यतर्फ लाग्यौं। छोराको साथी सुस्मिताले लन्चको व्यवस्था गरिसकेकी थिइन्। लन्च पोको पारेर टेनिसी राज्यको चट्टानुगा सहरतर्फ लाग्यौं। गाडीमा नेभिगेटरले देखाउँदै थियो, तीन घण्टा ४३ मिनेट लाग्ने भनेर। यो अवधिमा हामीले ३६० किलोमिटर पार गर्नुपर्ने थियो। लोकेश गाडी हाँक्दै थियो। सुरुआती दिनभन्दा केही अभ्यस्त भइसकेका छौं हामी। बिहानै घुमफिरमा निस्कन्छौं, बेलुकीपख पनि पैदलै घुमफिर।
छोरा फुर्सदिलो छ, फुटबल र जिममा निरन्तर जान्छ।म पनि केही दिन जिम गएँ। नेपालको भन्दा अत्याधुनिक सामग्री सहितको जिमखाना फाइभस्टार होटलभन्दा कम थिएन। स्विमिङ पुल, ब्याडमिन्टन, आइसवाथदेखि फुटबलसम्म खेल्न सकिने रहेछ जिमखाना। युनिर्भसिटीका विद्यार्थीका लागि खोलिएको यो व्यायामशाला उनीहरूलाई निःशुल्क रहेछ। मलाई भने दुई दिनको १० डलर खर्चियो छोराले। लेखनका लागि धेरै खुराक मिलेको छ। जहाँ जता गए पनि उस्तै लाग्ने घरहरू, उस्तै राम्रा चिल्ला सडकहरू र सुन्दर हरियाली जंगलहरूले सजिएको अलावामा सहरको अर्बन युनिर्भसिटी यहाँका मान्छेका लागि गर्वको विषय रहेछ। उनीहरू आफ्नो घरमा एउटा राष्ट्रिय झन्डा र अर्को अर्बन युनिर्भसिटीको झन्डा राख्दा रहेछन्। विगतमा यहाँ केही वर्षसम्म थोरै नेपाली विद्यार्थी रहेछन्, अहिले त करिब दुई सयभन्दा बढी।
युनिर्भसिटीका धेरै महत्वपूर्ण कुरा छन्, हामीले मनन् गर्नुपर्ने अनि सिक्नुपर्ने। तर त्यसको उपयोग हामीले गर्न सक्दैनौं। नेपालबाट राज्य सञ्चालकहरू कैयौंपटक यहाँ आए र भत्तामात्र पचाउने काम गरेका रहेछन्। त्यसैले उनीहरूलाई लेखले के नै छोला र ? अब भनेटेनिसी राज्यमा अवस्थित रुवी फल्स अवलोकनलाई हिँडिरहेका छौं। सफा, सुन्दर र रमणीय स्थलहरू गाडीबाट हेरिरहेको छु। सबै आआफ्नै रफ्तारमा छन्। ‘स्पिडमाइल’मा हेर्छु, ८०–८५ को रफ्तारमा गाडी कुदिरहेको छ। बाटोमा लेखिएको निर्देशन तथा नेभिगेटरले देखाएको बाटोलाई पच्छाएपछि उसले भनेकै समयमा गन्तव्यमा पुग्न सकिने प्रविधिको उपयोग गरिरहेका छौं। छोरा गाडीको स्टेरिङमा मग्न छ। म भने पुराना दिन सम्झन्छु। अचानक ‘छोरा’ शीर्षकको कविता याद आउँछ, उसको अनुहार पुलुक्क हेर्छु र कविता गुनगुनाउँछु:-
‘...आज छोरा
ठूलो भएको छ,
तर म सानै देख्छु।’ डोरम्याट पृ.३४
ओहो ! म त भावनामा डुब्न पुगेछु। सन्तान जतिसुकै ठूला भए पनि अभिभावकले कहाँ ठूला देख्छन् र ? हामीलाई पनि बुवाले कहिल्यै ठूलो देख्नु भएन। बुवाका स्मृतिहरू पनि यात्रामा ताजा बने। जीवन पनि त यात्रा न हो। आज पनि हामी यात्राकै क्रममा छौं। रुवि फल्स हेर्ने लालसा जागेको छ, मनभरि। मनमा अनेकौं तर्कना खेलिरहे। नेपालमै भएका केही झरना र गुफासँग दाँजें। पोखराकोे चमेरे गुफा, डेभिड फल्स, गुप्तेश्वर महादेव तथा महेन्द्र गुफामा बिताएका क्षणहरू सम्झें। गाडी आफ्नै रफ्तारमा कुदिरहेको छ। हिँडेको दुई घण्टा भएछ। ग्यास स्टेसनमा रोकिन्छौं, आफू र गाडीलाई इन्धन भर्न। अबको एक घण्टा चालिस मिनेटको यात्रा पार गर्नु छ रुवि फल्स पुग्न।
गुगलमा सर्च गर्छु, टेनिसी राज्य जान्न उत्सुक छु। नेटले राम्रो काम गरेको छैन, एकमनले भन्छ– ‘यात्राको भरपुर मजा लिनु नि किन गुगलसुगल गरेर बस्नु।’ मनलाई सम्झाएँ। हुन त हो छोरासँग गफिन्छु, जीवनसंगी तुलसा अगाडि सिटमा मस्तले निदाइरहेकी छन्। सुस्मिता मोबाइलमा व्यस्त छिन्। छोरालाई जिस्काउँछु ऊ मुसुक्क हाँस्छ। उसको ध्यान केवल स्टेरिङमा छ। नेपालमा भए ३६० किलोमिटर साढे तीन घण्टामा कहाँ सम्भव छ र ? नेपालका सडकको हालत सम्झें, आफंैले आफैंलाई धिक्कारें। यस्तैयस्तै नालायकीहरूलाई हामीले निरन्तर भोट दिएर सिंहासनमा बसाएका छौं। राम्रा र केही गर्छु भन्नेहरू यसरी विदेशमा अल्मलिरहेका छन्। यात्राको सभ्यता भनेकै यही हो, यहाँ यथार्थ र कल्पनामा मजाले रमाउन सकिन्छ।
सिमसिम पानी परिरहेको छ, हामी चट्टानुगा सहरको डाउनटाउनमा पुगेका छौं। अगाडि पहाड देखिन्छ। नेभिगेसनले त्यो पहाड चढ्न निर्देश गर्छ। छोराले नेभिगेसनको फलो गर्दै गाडीको रफ्तार बढाउँछ। चार मिनेटमा गन्तव्यमा पुग्न सकिने कुराले हामी मक्ख पर्छौं। नभन्दै जंगलको बीचमा घुमाउरो सडक सुन्दर लाग्छ। केही माथि पुगेपछि लहरै गाडी पार्किङ देखिन्छ। पार्किङ गरेर सिमसिम पानीमा भिज्दै रुवि फल्सको गेटमा पुग्छौं। ३ बजेको समयका लागि छोराले पहिल्यै टिकट लिइसकेको रहेछ। तीन बजेको प्रतीक्षामा गिफ्ट सपमा अल्मलिन्छौं। अनलाइनबाटै सबै काम हुने, छरितो सेवाले प्रफुलित हुनु स्वाभाविकै हो। प्रतिव्यक्ति २६ डलरभने अलिक बढी नै लागेको थियो तर झरनाको संगीतले २६ डलरलाई फिक्का बनाइदियो।
स्क्रिनमा ३ बजेका ग्रुपहरू आउन सन्देश प्रवाह भयो। अग्रपंक्तिमै थियौं। ‘रुवि फल्समा यहाँलाई स्वागत छ’, भन्दै परिचारिका बहिनीले मीठो स्वागत गर्दै लिफ्टमा बस्न आग्रह गरिन्। करिब १५ जनाजति लिएर लिफ्ट पहाडको गहिराइतर्फ लाग्यो। करिब ११ सय फिट तल गहिराइमा पुगेर लिफ्ट रोकियो। गाइडले भने– ‘कृपया माथि गएपछि यहाँ खिचेका आआफ्ना फोटा लिएर जानुहोला।’ पछि थाहा भयो फोटो लिन ३५ डलर खर्चनु पर्ने रहेछ।
रुवि फल्सको प्रमुख आकर्षण भनेको यसको अविश्वसनीय प्राकृतिक सौन्दर्य र भूमिगत गुफाहरू हुन्। करिब पाँच सय फिटजति गुफामा हिँडेपछि अद्वितीय जलराशि भेटिन्छ। यो करिब १४५ फिट उचाइबाट झरेर भूमिगत नदीमा मिसिन्छ। गुफाभित्र विभिन्न आकार र रंगका ढुंगाका लहराहरू झुलिरहेका थिए। विभिन्न रंगमा रहेका ती लहराहरूले यस स्थानलाई झनै अद्वितीय बनाएको थियो। देवीदेवताका विभिन्न आकारप्रकारले कुनै देवलोकमा भ्रमण गरिरहेको भान भइरह्यो।
सयौं वर्षदेखि पानीका प्रवाहले बनाएका विविध आकारप्रकारका चट्टानहरूले गुफालाई सजाएको छ। कैयौं स्थानमा महादेवका आकृृतिहरू, गणेश र शेषनागका आकृतिहरूमा रमायौं। साँघुरा बाटाहरूमा हिँड्न निकै राम्रो व्यवस्था गरिएको थियो। जमेका पानीहरूमा सिक्काहरू प्रशस्तै देखिन्थे। यद्यपि यहाँ पैसा नफाल्नु होला भनेर टाँसिएका बोर्डहरू थिए। सोचें, ईश्वरप्रति आस्था जहाँ जता गए पनि उस्तै। रुवि फल्सको भ्रमणका क्रममा गुफाको विभिन्न भाग अवलोकन ग¥यौं।
विशेष प्रकाश र ध्वनि प्रदर्शनहरूले थुप्रै पर्यटकसँगै हाम्रो भ्रमणलाई निकै रोमाञ्चक बनाएको थियो। जलप्रपातको अवलोकनपश्चात् त्यहाँको इतिहासको खोजमा विभिन्न पुस्तक र कोसेलीस्वरूप केही सामान संकलन गर्न थाल्यौं। अन्य पर्यटक जिपलाइनको पनि मजा लिइरहेका थिए। निकै शान्त, सुन्दर र मनोरम स्थलले पर्यटकहरू निकै रमाएको देख्यौं। हामी पनि त्यसैगरी रमाइदियौं। रुवि फल्स अमेरिकाको टेनिसी राज्यको चट्टानुगा सहरमा रहेछ। यो भूमिगत जलप्रपात हो। रुवि फल्सको खोजसन् १९२८ मा लियो लाम्बर्ट नामक अन्वेषकले गरेका रहेछन्। रुवि फल्सलाई प्रेमको अद्वितीय नमूनाको रूपमा लिँदारहेछन्।
लियो लाम्बर्टले फल्सको नाम श्रीमती रुविका नाममा राखेका रहेछन्। जब उनले यो अद्वितीय भूमिगत जलप्रपात पत्ता लगाए, उनले यसको सुन्दरतालाई सम्मान गर्दै प्रेम व्यक्त गर्न यस स्थानको नाम ‘रुवि फल्स’ राखेका रहेछन्। रुवी फल्सको खोज र विकास गर्दा उनले अवरोधहरूको सामना गरेका रहेछन्। रेलवे कम्पनीको अवरोधको बाबजुद, लाम्बर्टले रुवि फल्सलाई पर्यटन स्थलको रूपमा विकास गर्न सकेछन्। सात समुद्र पारिबाट आएर मुग्ध बन्यौं हामी पनि। वास्तवमै यो प्रेमको अद्वितीय नमुना हो। आखिर प्रेमले नै त अडेको छ संसार।
अमेरिकाको दक्षिणपूर्वी क्षेत्रमा अवस्थित टेनिसी राज्यको संस्कृति र पर्यटनमा ग्रेट स्मोकी माउन्टेन्स नेसनल पार्क, अमेरिकाको सबैभन्दा बढी भ्रमण गरिने राष्ट्रिय निकुञ्ज रहेछ। म्युजिक सिटी (नासविल) र ब्लुज म्युजिकका लागि प्रसिद्ध मेम्फिस, रुवी फल्स, डोलीवुड र ग्रेसल्यान्ड अन्य प्रमुख पर्यटक स्थल भएपनि समय अभावले अन्य स्थानको भ्रमण गर्न सकेनौं। टेनिसी राज्य ऐतिहासिक, सांस्कृतिक र प्राकृतिक दृष्टिले समृद्ध छ। जसले यसलाई महत्वपूर्ण पर्यटकीय र सांस्कृतिक केन्द्र बनाएको छ। यस्तो सुन्दर स्थानहरूको भ्रमणले हाम्रो अमेरिकाको बसाइ सुमधुर बनाइदियो। फल्सबाट फर्कंदै गर्दा एटलान्टामा साउथ इन्डियन रेस्टुरेन्ट मद्रास मन्त्रमा डिनरले स्वागत ग¥यो। अनि त अलावा फर्किनुको विकल्प हामीसँग थिएन त्यो दिन।