रवि लामिछानेलाई पक्राउ गरेको विरोधमा माइतीघरमा प्रदर्शन
काठमाडौं : पार्टी सभापति रवि लामिछानेलाई पक्राउ गरेको विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौंको माइतीघरमा प्रदर्शन गरेको छ।
राजनीतिक पूवाग्रहका आधारमा रविलाई पक्राउ गरेको भन्दै रास्वपाले शनिबार माइतीघरमा नाराबाजीसहित विरोध प्रदर्शन गरेको हो। प्रदर्शनमा सहभागीहरूले वर्तमान सरकार मुर्दावाद, सहकारी पीडितलाई न्याय दे, दोषीलाई च्याप्ने, निर्दोशलाई न्याक्नेगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए।
सो क्रममा रास्वपा नेता शिशिर खनालले पार्टी सभापतिलाई पक्रेर सरकारले घृणित राजनीतिक क्रियाकलाप गरेको आरोप लगाए। राज्यशक्तिको स्रोतको दोहन गर्नेहरूले डराएर रवि लामिछानेलाई गलत आरोप लगाएर जबरजस्ती पक्राउ गरेको उनले बताए।
उनले सहकारी छानबिन समितिले नै रविलाई निर्दोष किटान गर्दा पनि पक्राउ गर्ने र वास्तविक रूपमा ठगी गर्ने अन्य दलका नेताहरूलाई उन्मुक्ति दिने काम भएकाले सडक आन्दोलन गर्नुपरेको जिकिर गरे। सहकारी ठगी र संगठित अपराधमा अनुसन्धानका लागि लामिछानेलाई शुक्रबार जिल्ला अदालत कास्कीको अनुमति लिएर काठमाडौंबाट पक्राउ गरिएको थियो। त्यसलगतै रास्वपा आन्दोलित भएको छ।