रवि पक्राउको विरोधमा वीरगन्जमा सरकारको शव यात्रा निकालेर प्रदर्शन

रवि पक्राउको विरोधमा वीरगन्जमा सरकारको शव यात्रा निकालेर प्रदर्शन

वीरगन्ज : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पक्राउ गरिएको विरोधमा वीरगन्जमा पनि शनिबार प्रदर्शन गरिएको छ। रास्वपाका नेता कार्यकर्ताहरूले वीरगन्जमा प्रदर्शन गरेका हुन्।

सहकारी ठगी प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलाई शुक्रबार बेलुकी काठमाडौंबाट पक्राउ गरेर शुक्रबार राति नै पोखरा पुर्‍याएको छ। लामिछाने हाल जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन्। 

शनिबार दिउँसो वीरगन्जको क्लासिक बैंक्वेटमा भेला भई रास्वपाका नेता कार्यकर्ताहरूले त्यहाँबाट नाराबाजी गर्दै जुलुस निकालेर नगर परिक्रममा गरेका हुन्। जुलुसमा सहभागीहरूले सरकारको विरोध र लामिछानेको समर्थनमा नाराबाजी गरेका थिए। 

त्यस्तै रास्वपाका कार्यकर्ताले नेपाल सरकार मर्‍यो भन्दै सरकारको शव यात्रा पनि निकालेका थिए। एक समूहले नाराबाजीसहित जुलुस प्रदर्शन गरिरहेका बेला अर्को समूहले मिनाबजार क्षेत्रबाट प्रतीकात्मक रूपमा सरकारको शव यात्रा निकालेर घण्टाघर चोकमा पुगेको जुलुसमा पुगेर मिसिएको थियो। त्यस क्रममा प्रहरीले हस्तक्षेप गरेको थियो।  

जुलुस र शव यात्रापछि घण्टाघर चोकमा आयोजित कोणसभामा बोल्दै रास्वपाका जिल्ला अध्यक्ष हरि पन्तले सरकारले राजनीतिक प्रतिशोध साध्नकै लागि पार्टी सभापति लामिछानेलाई पक्राउ गरेको बताए। सहकारी ठगी प्रकरणको छानबिन गर्न गठित संसदीय छानबिन समितिले समेत निर्दोष साबित गरिसक्दा पनि रास्वपा र लामिछानेलाई सिध्याउने नियतमा लागेर राज्यका सबै शक्तिहरू लागेको उनले बताए। 

लामिछानेलाई पक्राउ गर्नुले नेपालको राजनीतिमा नयाँ शक्तिहरूको आगमनले कांग्रेस–एमाले जस्ता पुराना दल र तीनका मठाधिशहरू अत्तालिएको पुष्टि भएको उनको जिकिर थियो।

पार्टी सभापति लामिछानेलाई सरकारले झुटा मुद्दामा फसाउनका लागि पक्राउ गरे पनि देशभरका रास्वपाका कार्यकर्ता अलिकति पनि विचलित नभएको भन्दै उनले सरकारको यो कदमको प्रतिवाद गरिने चेतावनीसमेत उनले दिए। 

कोणसभामा बोल्दै रास्वपाका केन्द्रीय सदस्य नन्दन यादवले सरकारले राजनीतिक प्रतिशोध राखेर पार्टी सभापति लामिछानेलाई पक्राउ गरेको बताए। कांग्रेस–एमालेको अहिलेको सरकारले रास्वपा र पार्टी सभापति लामिछानेलाई बदनाम गर्ने षडयन्त्र रचेर पक्राउ गरेको आरोप उनले लगाए। तर नेपाली जनताको प्रियपात्र नेताका रूपमा स्थापित हुँदै गएका लामिछानेलाई सहकारी प्रकरणमा न्यायालयले निर्दोष साबित गर्ने विश्वास आफूहरूले गरेको यादवले बताए।   

जिल्ला अध्यक्ष पन्तकै अध्यक्षतामा भएको जुलुस र कोणसभामा रास्वपाका जिल्ला कार्यसमितिका पदाधिकारी, सदस्य, क्षेत्रीय अध्यक्ष, प्रदेश समिति सदस्य, संगठन विभागका उपप्रमुख लगायतको सहभागिता रहेको रास्वपाका युवा नेता महादेव प्रसाद कुर्मीले जानकारी दिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.