‘धोती’ गहना कि गाली !
जनकपुरधाम : धोती, कुर्ता, पाइजामा महिलाले लगाउने सुल्टो सारी मिथिलाञ्चल र तरार्ई मधेस क्षेत्रको पहिचानसँग जोडिएको आभूषण (वस्त्र) हो। मिथिलाको विशिष्ट पहिरन धोती भए पनि पछिल्लो समयमा एउटा खास समुदायलाई होच्याउने, गिज्याउने, मजाक उडाउने प्रवृत्ति बढेको पाइन्छ ।
‘धोती’ शब्दको प्रयोग गरेर मधेसी समुदायलाई अपहेलित महसुस गराउने कार्य दुर्भाग्यपूर्ण हो। मधेस प्रज्ञा प्रतिष्ठानका अध्यक्ष डा. रामभरोष कापडी ‘भ्रमर’ ले जानेर होस् या नजानेर धोतीको महत्व बुझ्दै नबुझी एउटा ठूलै समुदायले पहिरनका रूपमा प्रयोग गर्दै आइरहेको पौराणिक वस्त्रको नाउँमा धोतीलाई गालीका रूपमा प्रयोग गरिनु दुःखद भएको बताए ।
विश्वकै सबैभन्दा प्राचीन पोसाकका रूपमा एउटा वस्त्र हो धोती। सबैभन्दा लामो र सबैभन्दा पुरानो पौराणिक पोशाकमा यसलाई गणना गर्ने गरिन्छ। संस्कृतको ‘धीत’ शब्दबाट आएको ‘धोती’ नौ गज लामो, अढाइ गज चौडा, नसिएको आयातकार कपडाको एउटा टुक्रा हो यो। यसको पहिरन प्रारम्भ कहिलेदेखि भयो भन्ने निश्चित नभए तापनि देवी देवता, ऋषि मुनिहरूको पहिरनमा धोती नै देखिएको हुँदा यो वस्त्रको महिमा गान हुनुपर्नेमा जातीय विभेदको हिंसाका रूपमा प्रयोग गरिनु मानसिक दरिद्रताको पाराकाष्ठा भएको डा. कापडीको बुझाइ छ। शासक वर्गले राज्यको पहुँच नभएका वर्गको जातजाती, भाषाभाषीको पहिचानलाई ओझेलमा पारेको साहित्यकार डा. राजेन्द्रप्रसाद विमल बताउँछन्। शासक वर्गको आभूषण, खानपान, भाषा, साहित्यको धेरै चर्चा गरिन्छ। तलो वर्गमा आफ्नो परम्परा, खानपान, बाजागाजा, संस्कार–संस्कृति, रहनसहनको संरक्षण र सम्बर्द्धन गर्ने नेतृत्वको अभावले यस्तो बीउ उम्रिने मौका पाएको उनी सुनाउँछन्। उनी भन्छन्, ‘तलो वर्गले धारण गर्ने संस्कृति, संस्कार, भाषा, साहित्यप्रति हिनताबोध गर्ने बीउ रोपियो।’
डा. विमलका अनुसार काठमाडौंंमा मधेसीहरू धोती, कुर्ता, गम्छा लगाएर हिँड्न हिनताबोध गरिरहेको अवस्था छ। यस्ता वस्त्र धारण गर्नेहरू आफूलाई ‘जोकर’ बुझ्न बाध्य छन्। तर, नयाँ युवापुस्ताले आफ्नो पहिचान संरक्षण, प्रचारप्रसारमा जुट्न अब ढिला गर्न नहुने डा. विमलको बुझाइ छ।
मधेसका कुनै पनि मधेसी काठमाडौंं जाँदा वा सिंहदरबार छिर्दा धोती, कुर्ता गम्छा वा पाइजामा कुर्ताको मुरेठ्ठा बाँधेर पस्दा ‘धोती’ भनेर होच्याइन्छ। यसले गर्दा मधेसमा धोती, कुर्ता वा पाइजामाको मौलिक पोसाक हिनताबोध गर्नेहरूलाई मनोवल उच्च पार्न राख्न संस्कृतिक रूपमा आफ्नो मौलिक पहिचान र पहिरनको प्रदर्शन गरेको अभियानका संयोजक मोहन महतो कोइरीले बताए।
उनले भने, ‘पहडिया मूलका त्यो पनि काठमाडौंंका केही खस मानसिकता भएका व्यक्तिहरूबाट धोती, कुर्ता वा धोती पाइजामा लगाउनेप्रति घृणा जगाउने प्रयास भयो। अपहेलित गरियो। अपहेलना गर्न लगाइयो जसले गर्दा सर्ट, पेन्ट लगाउने युवा पुस्ता बढे। संस्कृतिक तथा धार्मिक पोसाक धोती, कुर्ता र गम्छा लगाउनेमा हिनताबोध भइरह्यो। यसलाई चिर्नका लागि पछिल्लो समय आफ्नो पहिरनप्रति गौरव गर्दै हामी युवाहरूले संस्कृतिक, धार्मिक तथा परम्परागत पोशाक जोगाउन अभियान चलाइरहेका छौं।’
धोती, कुर्ता, गम्छा लगाएर हिँड्दैमा हामी अशिक्षित र तुच्छ वर्गका होइनौं। ‘ढाका टोपी लगाउँदैमा राष्ट्रबाद झल्किँदैन’ दोहोरी गीतको भाका नबुझ्दा गँवार भइँदैन। कहिले नदेखेको डाँफे र लालीगुराँस मधेसको पहिचानसँग गाभ्न सकिँदैन। झिन्झिया नृत्य हाम्रो संस्कृति झल्काउने गरेको मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डलको भनाइ छ।
उनी भन्छन्, ‘मधेसमा रहेको व्यापक सोचाइबाट उत्पादित मधेसीलाई सधैंं अपहेलना गरिन्छ। सधैंं सुरक्षाकर्मी र प्रशासनबाट भयभित भएर बाँच्न सकिन्न। बुद्ध नेपालमा जन्मेको भनेर चिनाउँछौं। तर, हामीसँग राष्ट्रवाद र देशभिक्रको शंकाले नेपाली नागरिक भएको प्रमाण खोजिन्छ। यदि यी जम्मैलाई नेपाली पहिचान बनाउने हो भने, हामीले आफ्नो सोचमा परिवर्तन ल्याउनुपर्छ।’
राजनीतिज्ञ प्रफल्लराज घिमिरेले संस्कृतिको रक्षा हुने ब्राह्मण एवं हिन्दु धर्मावलम्बीहरूले लगाउँदा संस्कार हुने अनि धोती मधेसी, थारू, जनजाति, आर्य आदिले लगाउँदा होच्याउने मानसिक दरिद्रताको परकाष्ठा भएको टिप्पणी गरे। कसैलाई कुनै समुदायलाई लक्षित गरेर होच्याउनुभन्दा पहिले नेपालको भूगोल, विभिन्न क्षेत्रको जलवायु, धर्म संस्कृति एंव परम्परागत आधारमा लगाइने भिन्न–भिन्न प्रकारका पोसाकमध्येको घोती पनि एउटा पवित्र सात्विक सनातन नेपाली पोसाक हो। नेपालमा विशेष गरेर तरार्ई–मधेसमा मैथिली, ब्राह्मण आदिवासी, जनजाति, थारू, मगर तथा मधेसी समुदायले लगाउने प्रमुख वस्त्र नै हो धोती।
‘अइबेर के छठीघाट, अपन संस्कृतिक वस्त्रके साथ’ भन्ने नाराका साथ मधेसका युवा–युवतीहरूले रैथाने वस्त्रको प्रदर्शन गरेका छन्। छठ पर्वमा विशेष रूपमा संस्कृतिक वस्त्र लगाएर सहभागी हुन उनीहरूले सबैमा अपील गर्दै छठ घाटमा आफ्नो पारम्परिक वस्त्र लगाएर जान र सभ्यता संस्कृतिलाई जोगाउन अपील गरेका हुन्। ‘अइबेर के छठीघाट, अपन संस्कृतिक वस्त्रके साथ’ भन्ने नारा सार्वजनिक गरि जनकपुरधामको ऐतिहासिक तथा धार्मिक महत्वको जानकी मन्दिर परिसरमा संस्कृति वस्त्र प्रदर्शन गरेका हुन्।
मधेस र मिथिलाञ्चलको पहिरनलाई जगेर्ना गर्नुका साथै प्रचार–प्रसारको उद्देश्यले मधेस तथा कोशी प्रदेशका युवाहरूले धोती कुर्ता तथा साडी पहिरनमा सजिएर वस्त्र पहिचान गराउन जनकपुरधाममा प्रदर्शन गरे। पछिल्लो समय युवाहरूमा मिथिलाको मुख्य पोशाकका रूपमा रहेको धोती कुर्ताप्रति बढ्दै गइरहेको वितृष्णा कम गर्ने उद्देश्यले युवाहरूले जनकपुरधाममा पुरुषले धोती कुर्ता तथा नारीले सुल्टो सारी लगाएर निस्किएका हुन्।
‘अइबेर के छठीघाट, अपन संस्कृतिक वस्त्रके साथ’ अभियानको मुख्य नेतृत्वकर्ता मोहन महतो कोइरीले विगत ५ वर्षदेखि अभियान चलाउँदै छठ घाटको तयारी रहेको बताए। उनले आउन लागेको मिथिलाको पर्व छठको समयमा धोती कुर्ता लगाएरै छठको घाटमा पुग्न अपिलसमेत गरे।
युवतीहरूमा साडीप्रति आकर्षण रहे पनि साडी लगाउने तरिकामा आधुनिकताले छोइरहेको प्रति सहभागी विनिता महतोले दुःख व्यक्त गरिन्। उनले युवतीहरूलाई हाम्रा पुर्खाले जसरी लगाउँथे त्यसरी नै सुल्टो सारी लगाउन आग्रह समेत गरिन्। विनिताले सबैलाई सीधा पल्लामा साडी लगाउन आग्रह गरिन्।
के हो धोती ?
धोती भन्नाले पारम्परिक नेपाली तथा भारतीय पहिरनलाई बुझिन्छ। जुन मुख्यतया पुरुषहरूले लगाउँछन्। यो लामो कपडाको टुक्रा हो। जसलाई कम्मरमा बेरेर खुट्टाको बीचबाट निकालेर कसिन्छ।
धोती विशेष गरी धार्मिक तथा संस्कृतिक कार्यक्रमहरूमा लगाइन्छ। मिथिला मधेस क्षेत्रमा पुरुषहरू धोती वस्त्र लगाउँदा कमरमा पछाडिपट्टिबाट धोतीको एक भागलाई विशेष प्रकारले पट्याएर घुसार्ने गर्छन्। यसरी पट्याउने कार्यलाई कोचिआएन अर्थात् कोँचा भनिन्छ।
धोतीको घुसारिने भागलाई ढेका तथा घुसारिने कार्यलाई खोसबु भनिन्छ। यसरी धोतीको यो ढेका भागको स्थान पिँठ्युको तलो भागमा हुने गर्छ।
यसलाई एक प्रकारको शुद्ध सरल पोसाकका रूपमा लिइन्छ। हिन्दू धर्ममा कुनै धार्मिक काममा शुद्ध पोसाकको पर्यायवाची शब्द धोती हुन्छ। यो केवल एउटा पोसाक बाहेक ज्यादा केही पनि होइन। लाउन सहज र सरल भएकाले देशको भौगोलिक अवस्थाअनुसार धेरै गर्मी हुने क्षेत्रमा ज्यादा प्रयोगमा ल्याउने कुरा स्वाभाविक नै भयो। जसले जति बढी प्रयोगमा ल्यायो, त्यति नै त्यो पोसाकप्रतिको मोह हो।