धर्मशाला विवाद : छलफलका लागि बोलाइएको पशुपति क्षेत्र विकास कोषको बैठक स्थगित

धर्मशाला विवाद : छलफलका लागि बोलाइएको पशुपति क्षेत्र विकास कोषको बैठक स्थगित

काठमाडौं : पशुपति गौशाला धर्मशाला विवादबारे छलफल गर्न संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बोलाएको पशुपति क्षेत्र विकास कोष सञ्चालकको बैठक स्थगित भएको छ। संस्कृति,पर्यटन तथा नागरिक उड्डयन  बद्री प्रसाद पाण्डेले उक्त विवादबारे छलफल गर्न आज बिहान ९ बजे परिषद्को बैठक बोलाएका थिए।

मन्त्री पाण्डेले बिहीबार मारवाडीको कब्जामा रहेको पशुपति गौशाला धर्मशाला खाली गराउने कार्य तत्काल रोक्न पशुपति क्षेत्र विकास कोषलाई निर्देशन दिँदै छलफलका लागि आज बोलाएका थिए।

गौशाला धर्मशाला विवादबारे मुद्दा उच्च अदालत पाटनमा विचाराधीन रहेकाले बैठक स्थगित  गरेको मन्त्रीको सचिवालयले जनाएको छ। उक्त मुद्दामा अदालतले शुक्रबार अल्पकालीन अन्तरिम आदेश दिँदै छलफलका लागि दुवै पक्षलाई बोलाएको छ।

काठमाडौं महानगरपालिकाले धर्मशाला खाली गराउन खोजेपछि मारवाडी सेवा समितिले उच्चमा रिट दिएको थियो। समितिले पशुपति क्षेत्र विकास कोषसमेत १५ जनालाई  विपक्षी बनाइ रिट दायर गरेको थियो। मारवाडी सेवा समितिले पशुपति गौशाला धर्मशालामा मोहियानी हक लाग्ने भन्दै धर्मशाला खाली गराउन मानेको छैन।  उनीहरूले खाली गराउन नमानेपछि काठमाडौं महानगरपालिकाले धर्मशालाको गेटमा महानगरको बोर्ड टाँसेको छ।

पशुपति क्षेत्र विकास कोषले पशुपति गौशाला धर्मशाला राज्यको सम्पत्ति भएकाले कानुनसंवत फिर्ता ल्याउने स्पष्ट पारेको छ।  पशुपति क्षेत्र विकास कोषले पशुपति धर्मशालामा मारवाडी सेवा समितिलाई मोहियानी हक पाउने कुनै प्रमाण नभएको समेत दावी गरेको छ।

समितिलाई मोहियानी हक पाउने कुनै आधार र  प्रमाण नभएको स्पष्ट पारेको छ। मारवाडी सेवा समितिले पशुपति गौशाला धर्मशालामा मोहियानी हकका लागि दावी गरेपछि समिति र कोषबीचको विवादले चर्कोरुप लिएको छ।

पशुपति क्षेत्र विकास कोषले २०८० साउन १७ मारवाडी समितिसँगको सम्झौता भंग गरेको थियो। कोषको यो सम्झौता भंग गर्ने निर्णय गैरकानुनी रहेको भनी मारवाडी सेवा समिति नेपालले २०८० साउन २४ गते काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गराएको थियो। 

२०८१ असोज १६ गते जिल्ला अदालतले कोषको पक्षमा फैसला सुनाएको छ। फैसलापछि २०८१ असोज २२ मा पशुपति क्षेत्र विकास कोषले गौशाला धर्मशालाको व्यवस्थापन गर्न काठमाडौं महानगरपालिकासँग समन्वय गर्ने निर्णय गरेको छ। 

लामो समयदेखि समितिले सस्तो मूल्यमा गौशालाको करिब १० रोपनी जग्गा उपभोग गर्दै आएको थियो। २०५४ सालमा वार्षिक ५१ हजार रुपैयाँ तिर्ने सम्झौता भएको थियो। समितिले अहिलेसम्म यही भाडा तिर्दै आएको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.