युरोप पुग्छ कर्णालीको अदुवा

युरोप पुग्छ कर्णालीको अदुवा
सुन्नुहोस्

सुर्खेत : कर्णालीमा उत्पादन भएको अदुवा युरोपसम्म पुग्न थालेको छ । युरोपबाट माग आएपछि किसानले अदुवा उत्पादनलाई पनि वृद्धि गर्न थालेका छन् । अदुवासँगै यहाँ उत्पादन भएको बेसार पनि विदेश निर्यात हुन थालेको हो ।

किसानले उत्पादन गरेको अदुवा खरिद गरेर सुर्खेतको भेरीगंगा नगरपालिकास्थित कालिदमारमा रहेको अदुवा प्रशोधन उद्योगले विदेशसम्म निर्यात गर्न थालेको हो । उद्योगका अनुसार स्वदेशमा भन्दा विदेशबाट अदुवाको माग धेरै आउने गरेको छ । यसकारण पनि यो उद्योगले किसानबाट खरिद गरिएको अदुवा र बेसारलाई प्रशोधन गरेर युरोपसम्म निर्यात गरिरहेको हो । पहिला यहाँका किसानले उत्पादन गरेको अदुवाले बजार नपाउने समस्या थियो । तर कालिदमारस्थित द अर्गानिक भ्यालीमा रहेको अदुवा प्रशोधन उद्योगले अदुवा र बेसारलाई प्रशोधन गर्न थालेपछि विदेशमा बढी निर्यात हुन 
थालेको हो ।

कर्णालीमा उत्पादन हुने अदुवा विषादीरहित, अर्गानिक र गुणस्तरीय भएकाले पनि युरोपबाट यसको माग बढी भइरहेको उद्योगका सञ्चालक समिर नेवाले बताए । उनका अनुसार जर्मनीबाट समेत अदुवाको माग आइरहेको छ । एक सिजनमा यो उद्योगबाट औसतमा ६ लाख युरोबराबरको अदुवा र बेसार निर्यात हुँदै आएको छ । 

उद्योग सञ्चालक नेवाले भने, ‘उत्पादन धेरै भएको बेलामा त हामीले १२ लाख युरोबराबरको अदुवा निर्यात गरेका छौं, तर मागअनुसार उत्पादन नै हुन सकेको छैन ।’ किसानबाट मागअनुसार उत्पादन नहुँदा बर्सेनि औसतमा ६ लाख युरोबराबरको अदुवा र बेसार विदेश निर्यात भइरहेको उनले बताए ।

विदेशबाट माग धेरै भएकाले बजारीकरणको समस्या नभएको भन्दै उनले किसानलाई उत्पादन बढाउनका लागि स्थानीय सरकारले सहयोग गर्नुपर्ने बताए । उनले भने, ‘बिक्रीको समस्या छैन, हामीले विदेशसम्म निर्यात गर्न थालेका छौं । किसानको उत्पादनलाई हामी खरिद गरिदिन्छौं, बरु अब उत्पादन बढाउनुपर्छ ।’ उद्योगमा बर्सेनि १५ सय मेट्रिकटन अदुवा र बेसार प्रशोधन हुन्छ । उद्योगमा हाल १२ सय मेट्रिकटन अदुवा र ३ सय मेट्रिकटनसम्म बेसार प्रशोधन हुने गरेको छ । ‘कर्णालीमा अर्गानिक अदुवा र बेसार उत्पादन हुन्छ’ उनले भने, ‘हामीले प्रशोधन गरेको अदुवा र बेसारमा विदेशीको विश्वास बढ्दो छ, विषादीरहित शुद्ध उत्पादन भएकाले पनि युरोपबाट माग धेरै आइरहेको छ ।’

सल्यानमा सबैभन्दा धेरै अदुवा उत्पादन

अदुवा उत्पादनका लागि कर्णालीको हावापानी उपयुक्त छ । यहाँका सुर्खेत, सल्यान र रुकुमलगायतका जिल्लामा अदुवा उत्पादन हुन्छ । तर उद्योगका अनुसार सबैभन्दा बढी अदुवा सल्यानमा उत्पादन हुन्छ । सल्यानबाट मात्र एक सिजनमा १२ सय मेट्रिकटनसम्म अदुवा उद्योगमा आउने गरेको उद्योगका सञ्चालक नेवाले जानकारी दिए । उनका अनुसार रुकुमबाट ८ सय र सुर्खेतबाट २ सय मेट्रिकटनसम्म अदुवा उद्योगमा आउने गरेको छ ।

उत्पादन धेरै भएको वर्ष उद्योगमा बढीमा २३ सय मेट्रिकटनसम्म अदुवा र बेसार आउने गर्दछ । उद्योगका सञ्चालक नेवाले भने, ‘पहिला प्रशोधन नहुँदा अदुवा र बेसारले मूल्य पाएन, त्यो बेला किसानले बजारको समस्या भोगे । अचेल त्यो समस्या छैन, हामीले किसानलाई उत्पादन बढाउन प्रोत्साहन गरिरहेका छौं ।’ उत्पादनलाई वृद्धि गर्न सकेमा विदेशको माग पनि धान्न सकिने नेवाको भनाइ छ । यो उद्योगमा अदुवा र बेसार मात्र होइन, सिस्नो र टिमुर पनि प्रशोधन हुन्छ । उद्योगले अचेल किसानबाट सिस्नो र टिमुर पनि खरिद गर्न थालेको हो । किसानबाट खरिद गरिएको सिस्नो र टिमुरलाई प्रशोधन गरेर बिक्री गरिन्छ ।

उद्योगमा सिस्नो र टिमुरलाई सुकाएर पाउडर बनाइन्छ । त्यसलाई प्याकिङ गरेर निर्यात गर्ने गरिएको उद्योगले जनाएको छ । यस्तै अदुवा र बेसारलाई पनि उद्योगमा प्रशोधन गरेर पाउडर बनाइन्छ । यही पाउडरलाई प्याकिङ गरिन्छ । अनिमात्र अदुवा र बेसार बजारमा पठाउने गरिएको उद्योग सञ्चालक नेवाले बताए । 

उद्योगमा कार्यरत कर्मचारी टीका वलीका अनुसार विगतमा उद्योगमा अदुवा सुकाउन समस्या भए पनि अचेल त्यो समस्या हटेको छ । विगतमा यस क्षेत्रका किसानले बजारीकरणको समस्या भोगे पनि अब त्यो समस्या टरेको उद्योगको दाबी छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.