उपेन्द्र यादवले कहाँबाट ल्याउँदै छन् साढे ३ लाख सक्रिय पार्टी सदस्य ?

उपेन्द्र यादवले कहाँबाट ल्याउँदै छन् साढे ३ लाख सक्रिय पार्टी सदस्य ?
पार्टी प्रवेश गरेकालाई पर्सामा स्वागत गर्दै पार्टी अध्यक्ष उपेन्द्र यादव।
सुन्नुहोस्

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) नेपाल टुटफुटले थिलथिलो भएको छ। गत वैशाख अन्तिम साता अशोक राई समूहले पार्टी फुटाएको थियो। त्यसले पार्टी अध्यक्ष उपेन्द्र यादवलाई ठूलो धक्का लाग्यो। उनले सत्ता नै छाड्नुपर्‍यो। एक हिसाबले भन्दा अध्यक्ष यादव भुँइमै ढले।

धूलो टकटकाएर उनी फेरि उठेका छन्। कमजोर भएको पार्टी संगठन बलियो बनाउन अध्यक्ष यादव पार्टी दस्तासहित मैदानमा उत्रिएका छन्। उनले पार्टीका १ लाख ४६ हजार क्रियाशील सदस्य संख्यालाई बढाएर ५ लाख पुर्‍याउने लक्ष्य लिएका छन्। त्यसका लागि ‘जनतासँग जसपा नेपाल, आधारभूत संगठन निर्माण अभियान’ नारासहित दुई महिनादेखि सक्रिय रूपमा लागिरहेका छन्। पार्टीको संगठन निर्माणको चार महिने अभियान गत भदौदेखि सुरु भएको हो। पार्टी अध्यक्षसहित केन्द्रदेखि बुथ तहसम्मका नेता तथा कार्यकर्ताहरू संगठन निर्माणका काममा खटिरहेको पार्टीका महासचिव रामकुमार शर्माले बताए। 

उनले भने, ‘चार महिने अभियानबाट पार्टीको सक्रिय सदस्य ५ लाख पुर्‍याउने लक्ष्य लिएका छौं।’ राजनीतिक विश्लेषकले संगठन निर्माणलाई चुनौतीपूर्ण कार्य रहेको प्रतिक्रिया दिएका छन्। उपेन्द्र यादव ओरालो यात्रामा रहेकाले पार्टीभित्र नयाँ सदस्य भिœयाउनु चुनौतीपूर्ण रहेको राजनीतिक विश्लेषक चन्द्रकिशोरले बताए। ‘सत्तामा रहँदा होस् या बाहिर उपेन्द्रजी राजनीतिमा सक्रिय रहन नयाँ–नयाँ सूत्रको प्रयोग गर्नुहुन्छ। त्यस मध्येकै एउटा नयाँ सूत्र हो पाँच लाख नयाँ सदस्य भिœयाउने सपना देख्नु,’ उनले भने, ‘मधेसको जनसंख्या ६१ लाख बढी छ। उहाँले पार्टी भित्र ५ लाख नयाँ सदस्य भित्र्याउने सपना देख्नुभएको छ। यो गलत होइन तर, कार्यकर्ता र जनताले कति साथ दिन्छन् भन्ने महत्वपूर्ण कुरो हो।’ यादवको आधारभूमि मधेस रहेको बताउँदै उनले थपे, ‘उहाँ मधेसमा मजबुत हुन खोज्दै हुनुहुन्छ। मधेस आन्दोलनताका पपुलर हुनुहुन्थ्यो। अब जनताले कति साथ दिन्छन्, त्यसलाई अर्थपूर्ण तरिकाले हेरिन्छ।’

यता पार्टीमा नयाँ सदस्य भित्र्याउन जसपा नेपालले दसैंं, दीपावली, छठको मौका छोपेर गाउँ–गाउँमा शुभकामना आदान–प्रदान सहितका पार्टी गतिविधि अगाडि बढाइरहेको छ। पार्टी प्रवक्ता मनिष सुमन पार्टीप्रति बढ्दो आकर्षण, मधेसको जनसंख्या, जसपा नेपालको राजनीतिक एजेन्डा, विचार, बलियो संगठनले पार्टीमा नयाँ सक्रिय सदस्य बढ्ने आधार पेस गरेका छन्। उनले भने, ‘पार्टी फुटेको छैन। दुई चार जना सांसदले पार्टी छोडेर गएका हुन्। नेता, कार्यकर्ता र संगठन एक ढिक्का छ।’

पार्टीमा नयाँ सदस्य जोड्न जसपा नेपालले भदौदेखि सुरु गरेकोे संगठन सुदृढीकरणको अभियान मंसिरसम्म सञ्चालन हुनेछ। भदौ र असोजमा सञ्चालन भएको अभियानले पार्टी संगठन निर्माणमा उल्लेख्य सहयोग पुगेको पार्टी प्रवक्ता सुमनले दाबी गरे।

पार्टीका महासचिव शर्माका अनुसार पहिलो चरणमा सातै प्रदेशमा प्रशिक्षण दिएर ५ हजार आगुवा कार्यकर्ता तयार गरिएको छ। जिल्लाहरूमा पार्टीको विस्तारित बैठक र पालिका स्तरमा संगठन सुदृढीकरणका कामहरू धमाधम भइरहेका छन्। ‘पार्टी प्रवेशदेखि पार्टीको संगठनात्मक गतिविधि अभियानकै रूपमा सञ्चालन गरिएको छ। बुथ लेभलमा पुगेपछि अभियानको काम उत्कर्षमा पुग्ने छ। अरू पार्टी परित्याग गरेर जसपा नेपालमा आउन धेरै नेता तथा कार्यकर्ता तयार छन्। उनीहरूसँग कुरा भइरहेको छ’, उनले भने।

संगठन निर्माण अभियानले निस्क्रिय नेताकार्यकर्ताहरू पनि सक्रिय बनाएको पार्टी प्रक्ता सुमनले बताए। उनले भने, ‘पार्टीभित्र भएको टुटफुटलाई बिर्सिंदै संगठनलाई चुस्त दुरुस्त बनाउन नयाँ ढंगले काम गरिरहेका छौं।’ पार्टीविरुद्ध फैलाइएको भ्रमहरूलाई चिर्न बुथ तहबाटै मसिनो गरी काम भइरहेको उनले बताए।

साउनको अन्तिम साता बसेको पार्टीको बैठकले संगठनलाई बलियो बनाउन चार महिने अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो। पार्टीको संगठनलाई चुस्तदुरुस्त बनाउने, ५ लाख नयाँ पार्टी सदस्य पुर्‍याउने, पार्टी प्रवेशका कार्यक्रम व्यापक रूपमा चलाउने जस्ता निर्णय गरेको थियो। 
महासचिव शर्माले भने, ‘एउटा केन्द्रीय सदस्यको नेतृत्वमा एउटा स्थानीय तहमा अभियान सञ्चालन भइरहेको छ। ४ महिना मसिनो गरी संगठनका लागि काम भइरहेको छ। नेता तथा कार्यकर्तालाई राजनीतिक र बैचारिक रूपमा बलियो बनाइरहेका छौं।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.