८० वर्षीया मसिनी माझीको छैन नागरिकता
धनकुटा : उमेरले ८० वर्ष पुगेकी मसिनी माझीको अहिलेसम्म नागरिकता बनेको छैन। नागरिकता नबन्दा उनले सरकारले दिने सामाजिक सुरक्षा भत्ता पाउन सकेकी छैनन्। महालक्ष्मी नगरपालिका–५ लेगुवास्थित रामबजारमा रहेको केशव श्रेष्ठको घरमा उनी बस्छिन्। त्यहाँँ बस्न थालेको २० वर्ष भइसकेको छ। नागरिकता बनाउनुपर्छ भन्नेसमेत उनलाई थाहा नभएको स्थानीय केशव श्रेष्ठ बताउँछन्। श्रेष्ठका परिवारले उनलाई आश्रय दिएका छन्। बस्नलाई श्रेष्ठले भूकम्पपछि बनेको घर दिएका छन्। घरको हेरचाहसँगै सामान्य सरसफाइको काममा उनले श्रेष्ठको परिवारलाई सघाउँदै आइरहेकी छिन्।
मसिनी माझीलाई बोल्न आउँदैन। बोल्न जान्दिनन्। सामान्य हिँड्डुल मात्र गर्न सक्छिन्। पाँच जना छोराछोरी भए पनि उनको श्रीमान् बितेको ३५ वर्ष भइसकेको छ। परिवारका सदस्य अलग्गै बस्छन्। उनी एक्लै बस्छिन्।
मसिनीको नागरिकता बनाउन परिवारका सदस्यहरूले चासो नदिएको श्रेष्ठ बताउँछन्। उनले अहिलेसम्म गाडी चढेकी छैनन्। गाडी चढ्न मान्दिनन्। डराउँछिन्। अटो टेम्पो रिजर्भ गरेर वडा कार्यालय लैजान्छुभन्दा समेत नमानेको श्रेष्ठले बताए। मसिनी माझीले अहिलेसम्म चप्पल लगाएकी छैनन्। खाली खुट्टा हिँड्डुल गर्छिन्। चप्पल किन्दियो भने लगाउन नमान्ने गरेको उनले बताए। ‘सरकारले अशक्त ज्येष्ठ नागरिकलाई घरमै नागरिकता दिन्छन् भन्ने सुनेको थिएँ’, उनले भने, ‘आवश्यक कागजात पु¥याएर घरमै नागरिकता दिन मिल्छ भने पहल गरिदिन अनुरोध गर्छु।’